ad ad

राजनीति


गणतन्त्रको विकल्प वंशतन्त्र हुन सक्दैन : वर्षमान

गणतन्त्रको विकल्प वंशतन्त्र हुन सक्दैन : वर्षमान

नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:४३, रोल्पा

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्।

गृहजिल्ला रोल्पाको घर्तीगाउँमा शुक्रबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन गर्दै पुनले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको विकल्प वंश परम्परामा आधारित निरंकुशतन्त्र हुन नसक्ने बताए। गणतन्त्र र लोकतन्त्रको विकल्प अझै राम्रो र परिस्कृत लोकतन्त्र वा गणतन्त्र मात्र हुन सक्ने उनको भनाइ थियो।

‘जनता आफैंले आफ्ना धेरै राम्रा छोराछोरीमध्येबाट आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था लोकतन्त्र हो। यस्तो उन्न्त विकल्प छोडेर जस्तो भए पनि राजाको जेठो छोरा नै राजा हुनुपर्ने, छोरी पनि नहुने वंशतन्त र वा परिवारतन्त्रको विकल्प जनताका लागि स्वीकार्य हुन सक्दैन’, पुनले भने, ‘पार्टीहरुको विकल्प पार्टी नै हो। नेताहरुको विकल्प असल नेता हो। लोकतन्त्रको विकल्प लोकतन्त्र र गणतन्त्रको विकल्प अझै राम्रो र परिमार्जित गणतन्त्र मात्र हो।’

पुनले मुलधारका राजनीतिक दलहरु र नेताहरुले जनतासँग संवाद गर्नुपर्ने र गल्ती गरेको भए सच्याउन तयार नुहुपर्ने पनि बताए। नेताहरुले जनतासँग समस्या, कमजोरी र उपलब्धी सबै बताउनुपर्ने उनको भनाइ थियो। लोकतन्त्रमा जनता र नेताबीच संवाद नभए असन्तुष्टि बढ्ने चर्चा गर्दै उनले अहिले जनतामा असन्तुष्टि र नकारात्मकता बढ्नुमा नेता र जनताबीचको संवादहीनता पनि एक कारण रहेको औंल्याए।

‘लोकतन्त्र भनेको समस्या, कमजोरी र उपलब्धीबारे बताउने। राम्रा कुरामा स्याबासी पनि लिने र कमजोरी भएको रहेछ भने सच्याउने विधि हो’, पुनले भने, ‘लोकतन्त्रमा नेताहरुले जनतासँग संवाद गरिरहनुपर्छ। आफ्नो इतिहास र तथ्यहरु बताउन सक्नुपर्छ। सक्ने काम गर्छु भन्नुपर्छ र नसक्ने काममा आश्वासन बाँड्नु हुँदैन।’

पुनले नेताहरुले मुलुकको विकास र जनतालाई भविष्य देखाउन सक्नुपर्ने बताए।

राजनीतिक दल, नेता र कार्यकर्ताहरुले आफ्नो दल र नेताले गरेका सबै ठीक, अरु सबै बेठीक तथा आफू सरकारमा भएका बेला गरेका सबै ठीक र अर्को सरकारमा हुँदा भएका सबै बेठीक भन्ने मनोवृत्ति त्यागेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने संस्कार बसाल्न जरुरी रहेकामा जोड दिए।

पूर्वअर्थ र ऊर्जामन्त्रीेसमेत रहेका पुनले संविधानमा व्यवस्था भएअनुसार गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय राज्यको पाँच पिलर भएको चर्चा गरे। उनले धर्मनिरपेक्षता भन्नुको अर्थ राज्यको छुट्टै धर्म नहुने तर जनताको धार्मिक आस्थाको राज्यले सम्मान गर्ने व्यवस्था भएको उल्लेख गरे।

नेपालमा धार्मिक, सांस्कृतिक र जातीय विविधता रहेको र त्यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने बताए। यस्तै समावेशीताले लामो समयसम्म बहिस्करणमा पारिएका समुदाय र कर्णाली तथा सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रबाट राज्यका निकायहरुमा सम्मानजनक प्रतिनिधित्वको व्यवस्था गरेकाले त्यसको विरोध गर्नुको अर्थ नरहेको उनको भनाइ छ।

फरक प्रसंगमा पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एक वर्षमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा संकल्पका साथ काम गरेको र अर्को वर्ष थप राम्रो काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको बताए। परम्परागत ढंगले बजेट ल्याएर जनताका विकासका आकांक्षा सम्बोधन नहुने निस्कर्षसहित प्रधनमन्त्रीले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेटको ढाँचामा आमुल परिवर्तनको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेको जानकारी पुनले दिए।

‘प्रधानमन्त्रीले आफ्नो कार्यकालको आगामी वर्ष थप राम्रो बनाउँछु भन्नुभएको छ’, पुनले भने, ‘अध्यादेश ल्याएर बजेटमा सुधार गर्ने प्रक्रिया अघि बढाइसक्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .