राजनीति


मधेसमा सिके राउतको जनमत एक्लै उत्रिँदा गठबन्धनलाई तनाव, कस्तो होला प्रतिस्पर्धा?

मधेसमा सिके राउतको जनमत एक्लै उत्रिँदा गठबन्धनलाई तनाव, कस्तो होला प्रतिस्पर्धा?

फाइल तस्बिर


सागर न्यौपाने
माघ ३, २०८० बुधबार ९:१६, काठमाडौँ

हुन त डा. सिके राउत नेतृत्वको जनमत पार्टी भर्खरै मधेसमा उदाएको हो। तर, उसले छोटो समयमै पकड बनाउने अभियान तीव्र पारेको छ।

२०७९ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावदेखि मधेसका केही जिल्लामा बलियो उपस्थिति जनाएको जनमतले राष्ट्रिय सभा चुनावमा पनि आफ्नै उम्मेदवार उठाएर त्यसको पुष्टि गरेको छ। 

सत्तारुढ गठबन्धनमा रहे पनि जनमत मधेस र लुम्बिनीमा भने आफ्ना उम्मेदवारलाई मत माग्दैछ।

माघ ११ गते राष्ट्रिय सभा चुनाव हुने बाँकी १७ स्थानमा जनमतले गठबन्धनलाई समर्थन गर्ने अध्यक्ष राउतले बताए। 

लुम्बिनीमा ‘अन्य क्लस्टर’बाट बालगोविन्द चौधरी थारु र ‘मधेस क्लस्टर’बाट रामशंकर महासेठ जनमतका उम्मेदवार हुन्।  

अलग्गै उम्मेदवार उठाउनुलाई जनमतका प्रवक्ता डा. शरदसिंह यादव क्रान्तिकारी कदमका रुपमा व्याख्या गर्छन्।

‘सत्ता गठबन्धनमै रहेर पनि हामीले तराई–मधेसका जनताको मुड र भावनाको कदर गरेका हौँ,’ यादवले नेपालखबरसँग भने, ‘सरकार बनाउन गठबन्धन बनेको हो। यो चुनावका लागि होइन।’

‘यसअघि उपराष्ट्रपति चुनाव र बारा २ को उपचुनावमा पनि हामीले आफनै उम्मेदवार उठाएर गठबन्धनभित्रै लडेका थियौँ’, उनले थपे।

यद्यपि, जनमतले उठाएको यो कदमको नतिजा के आउँछ? त्यसका लागि माघ ११ सम्म पर्खनै पर्छ।

होला सरप्राइज?
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा सप्तरी क्षेत्र नम्बर २  बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई हराएर सरप्राइज दिए।

तत्कालीन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँगको गठबन्धनका साझा उम्मेदवार यादवलाई राउतले दोब्बर बढी मत अन्तरले पराजित गरेका थिए।

मधेसमा उनको पार्टीले प्रदेश सभामा मात्र १३ सिट जितेको छ। जसले सरकार बनाउन जनमत निर्णायक अवस्थामा रह्यो।

संसदीय राजनीति थालेको पहिलो पटक नै जनमतले मधेसमा प्रभाव पारेकैले राष्ट्रिय सभा चुनावमा लड्ने निर्णय गरेको जनमत प्रवक्ता यादवले बताए।

‘अरु ठाउँको तुलनामा मधेसका जनताको मुड सजग छ, उनीहरु परिवर्तनकै पक्षमा उभिएका छन्,’ यादवले थपे, ‘मतभारका आधारमा भन्दा यहाँका जनप्रतिनिधि र जनताको मनोविज्ञानले जित्ने अवस्था देखिन्छ।’

त्यसबाहेक जनमत मधेसको वैकल्पिक शक्तिका रुपमा उदाएको र सिके राउत नेतृत्वप्रति विश्वास बढ्न थालेको उनी दाबी गर्छन्। 

‘गोप्य मतदान हो चुनाव,’ यादवले थपे, ‘एकरातमा धेरै कुरा पल्टन सक्छ।’

भिडन्त त्रिपक्षीय कि एकपक्षीय?
जनमतको उम्मेदवारीको विषयले गठबन्धन दलभित्र हल्लीचल्ली मच्चिएको छ।

उनीहरु मतभारको हिसाबकिताब गर्दै आन्तरिक रिपोर्ट लिइरहेका छन्। 

जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमतको उम्मेदवारीले पार्नसक्ने असरबारे गठबन्धनमा गम्भीर छलफल भएको बताए।

‘जसपा उम्मेदवारले सहजै जित्ने भए पनि गठबन्धनबाटै कांग्रेसका समेत उम्मेदवार जिताउन नेताहरु खटिनुभएको छ,’ बस्नेतले भने, ‘कांग्रेसको कसैले मत काट्ने सम्भावना छैन।’

मधेसमा जनमतको मत नै धेरै नभएकाले गठबन्धनका उम्मेदवार ढुङ्गानालाई कुनै असर नपर्ने कांग्रेस नेता रमेश लेखकको दाबी छ।

उनी राष्ट्रिय सभा चुनावका लागि बनाइएको केन्द्रीय समन्वय समितिका संयोजक छन्। 

‘सरकारमा भएका पार्टीहरुको ७३ प्रतिशत मतभार छ,’ लेखकले भने, ‘हाम्रा उम्मेदवारलाई कुनै प्रब्लम (समस्या) हुँदैन।’

‘गठबन्धनले आरामदायी जित्छ, सिकेजीबाहेक नै हामी जित्ने अवस्थामा छौँ’, उनले थपे।

तर, जनतमले मधेस क्लष्टरमै उम्मेदवार उठाएको छ। उनको प्रतिस्पर्धा कांग्रेसका आनन्द ढुङ्गानासँग हुँदैछ।

‘हामीले यसैलाई जित्ने बलियो आधार देखेका छौँ, आनन्दजीको उम्मेदवारीले कांग्रेसभित्रै विवाद छ,’ जनमतका प्रवक्ता शरदसिंह यादवले भने, ‘यसको फाइदा हामीलाई होला भन्ने विश्वास छ।’  

तर, कांग्रेस नेता लेखक यसले कुनै समस्या नहुने ठोकुवा गर्छन्। 

‘आमजनताले मत हाल्ने होइन पार्टीका क्याडर र नेताले हाल्ने हो,’ लेखकले थपे, ‘मतमा कुनै समस्या छैन। उम्मेदवारीकै विषयले कोही असन्तुष्ट छैन।’ 

मधेसमा कुल मतदाता ३७९ छन् भने मतभार १० हजार ७४४ छ।

प्रदेशसभा सदस्यको संख्या १०७ र स्थानीय तहको संख्या १३६ छ।

यसैगरी, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २६७ छन्।

मधेसमा जसपा, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाबीच गठबन्धन रहेकाले यी दलको कूल मतभार ७००१ छ। 

कांग्रेसको तीन हजार १०४, जसपाको एक हजार ८१७, लोसपाको ९३३, माओवादी केन्द्रको ७६६ छ।

यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीको ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३ छ।

जनमतको मधेसमा ७४३ र लुम्बिनीमा १५९ मतभार छ ।

मधेस प्रदेशमा एमालेको दुई हजार ३०२ मतभार छ।

राष्ट्रिय सभा चुनावमा मधेस प्रदेशमा त्रिपक्षीय भिडन्त यसकारण हुन्छ कि गठबन्धनकै एउटा घटक जनमत पनि प्रतिस्पर्धामा छ। 

यद्यपि, नेताहरु कुनै समस्या नरहेको र सत्ता गठबन्धनका उम्मेदवारले सहजै जित्ने दाबी गर्छन्।

जसपाका कार्यकारिणी समिति सदस्य एवं सांसद प्रकाश अधिकारीले मधेस प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवार रहेका दुवैले जित्ने बताए।

जसपाले मधेस महिलामा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ।

‘मधेसमा कांग्रेस बलियो छ, उसलाई गठबन्धनबाट प्रर्याप्त साथ छ,’ अधिकारीले भने,  ‘यो प्रदेशमा मार्जिन नै धेरै छ।’

‘पार्टीभित्र अन्तरघात भइहाल्ने सम्भावना देखिदैँन,’ अधिकारीले थपे, ‘मधेसको राजनीतिमा कुनै समस्या आउन नदिन केन्द्रीय नेता खटिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .