ad ad

राजनीति


महासचिव पोखरेलको आरोप : गठबन्धनले सत्ता सञ्चालनको जिम्मा नै भारतलाई दिन लाग्यो

महासचिव पोखरेलको आरोप : गठबन्धनले सत्ता सञ्चालनको जिम्मा नै भारतलाई दिन लाग्यो

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २६, २०८० बिहिबार १३:५६, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनले नेपालको सत्ता सञ्चालनको जिम्मा नै भारतलाई दिने अवस्था आएको बताएका छन्। 

नेकपा एमाले दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। 

वर्तमान सरकारलाई जनताको जीवनको मूल्य समेत ख्याल नभएको उनले टिप्पणी गरे। सरकारले जीवनको मूल्य बुझ्न छाडेकाले निहत्था युवाको हत्या गरेको पोखरेलको टिप्पणी छ। 

सरकारका मन्त्री र गठबन्धन दलकैतर्फबाट हिंसा भड्काएर ललितपुर र सर्लाहीमा युवाको ज्यान लिने काम भएको उनले दाबी गरे।

२० करोडसम्मका योजना आफूखुसी खर्च गर्न दिएर सरकारले राज्य सञ्चालनको जिम्मा नै भारतीय दूतावासलाई दिने काम गरेको उनको टिप्पणी छ । 

पछिल्लो पटक भारतीय विदेशमन्त्री नेपाल आएका बेला २० करोडसम्मका परियोजना सिधै भारतले छान्न पाउने गरी भएको सम्झौतालाई लिएर महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। 

महासचिव पोखरेलले यस्तो सरकारलाई कुर्सीमा बस्ने कुनै नैतिक अधिकार नभएको पोखरेलले बताएका छन्। 

आज मुलुकलाई कमजोर बनाउन चाहनेहरूले एमालेलाई बाधक ठानिरहेका उनले बताए। त्यसैले सबैको आक्रमणको केन्द्र एमाले नै भएको पोखरेलको भनाइ छ। मुलुकको अस्मिताको रक्षा र जनताको जीवन रक्षाको लागि अब एमाले जाग्नु र उठ्नु पर्नेमा उनले जोड दिए। 

महासचिव पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताएका छन्।

पोखरेलले नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले कोशी नाम अनुमोदन गरेको दाबी गरे। 

यात्राको क्रममाका कोशी प्रदेशको नामाकरणको विषयमा एमालेलाई छिर्नै नदिने भनि सत्तारुढ दलले गरेको प्रचारलाई जनसागर उर्लिएर चिरिदिएको पोखरेलले बताए।

कोशी प्रदेशका सबै ठाउँमा भएका सभा र यात्राको क्रममा नागरिक सहभागिता ऐतिहासिक भएको उनले बताए।

डर, त्रास र धम्कीका बाबजुद यात्राको क्रममा सबैभन्दा ठूला सभा कोशी प्रदेशमा नै भएको उनले बताए।

‘जनताले आफ्नो सहभागिताद्वारा अतिवादमाथि असहमति जनाए, हाम्रा मान्यतालाई जनताले अनुमोदन गरिदिए, कोशी प्रदेशको नामाकरणको सन्दर्भमा एमालेलाई एक्लाउने  खालको जुन प्रयत्न  भएको थियो’, उनले भने, ‘सत्तामा भएकाले पनि आफैँ निर्णय गर्ने, आफैँ निर्णयबाट पछि हटी अतिवादलाई प्रवर्धन गर्ने जे काम गरिरहेका थिए, जुन कामलाई गलत साबित गरिदिए।’

यात्रा विकास र समृद्धिको पक्षमा काम गर्न महत्त्व राख्ने यात्रा भएको उनले बताए। मध्यपहाडलाई भविष्यको विकासको आधारशिला बनाउनको लागि समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरिएको उनले प्रष्ट पारे।

यात्राले विकासको नयाँ बहस सुरु गरेको पोखरेलले बताए। यात्राको क्रममा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नागरिकको आस्था र समर्थन रहेको कुरा पुष्टि गरेको पनि उनले बताए।

समृद्धिका लागि संकल्प यात्रा मिसन २०८४ को लागि महत्वपूर्ण आधार बनेको उनले बताए। तर त्यसका सन्देश जनताबीचमा कसरी लगिन्छ भन्ने कुराले पार्टी निर्माणको आधार तयार हुने उनले स्पष्ट पारे। 

सरकार असक्षम, नालायक र अकर्मण्य बनेको कुरा पनि जनताका बिचमा सही ढंगले पुर्‍याउनु पर्ने पोखरेलले बताए। 

गठबन्धनका कारण देश समस्यामा परेको उनको भनाइ छ। प्रधानमन्त्री बाहिर जाँदा केही राम्रो काम गरेर आउँछन् भन्दा पनि गडबडी गरेर आउँछन् भनेर चिन्ता लिने अवस्था रहेको पोखरेलेले टिप्पणी गरे। 

यसकै कारण मुलुकमा निराशा र युवा पलायन बढ्दै गएको पोखरेलको निष्कर्ष छ । ‘समस्याको जड गठबन्धन हो भन्ने सत्यलाई जनताबीच लैजान आवश्यक छ’, उनले। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .