ad ad

राजनीति


राष्ट्रिय सुरक्षा नीतिको सबैले अपनत्व लिनुपर्छः रक्षामन्त्री खड्का

राष्ट्रिय सुरक्षा नीतिको सबैले अपनत्व लिनुपर्छः रक्षामन्त्री खड्का

नेपालखबर
पुस २५, २०८० बुधबार १७:११, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत सबैले आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। 

नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवनको सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण र संवेदनशील विषय भएकाले यसको कार्यान्वयनमा सबैले आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। 

 रक्षा मन्त्रालयमा भएको  राष्ट्रिय सुरक्षा नीति-२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायले पूर्ण स्वामित्व र अपनत्व लिँदै गम्भीरतासाथ जिम्मेवारी पूरा गर्न आग्रह पनि गरे।

कार्यक्रममा उपस्थित सबै मन्त्रालय तथा निकायका प्रतिनिधिलाई सुरक्षा नीति कार्यान्वयनको एकीकृत कार्ययोजनामा आ-आफ्नो निकायलाई जिम्मेवारी तोकिएका विषयमा हालसम्म भएका प्रगति र कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा एक हप्ताभित्र लिखित विवरण उपलब्ध गराउन भनेका छन्। 

समीक्षा बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकाले नेपाल सरकारका अरू नीतिहरू यसैसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने औँल्याए।  

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर नेपाल सरकारका सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा प्रभावकारी कार्यान्वयन गर्न जोड दिए।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध फोकल पर्सनहरूको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .