ad ad

राजनीति


प्रधानमन्त्रीले सचिवालय, मन्त्री र सल्लाहकार फेर्छु तर पछि हट्दिँन भन्नुभएको छ : पुन

प्रधानमन्त्रीले सचिवालय, मन्त्री र सल्लाहकार फेर्छु तर पछि हट्दिँन भन्नुभएको छ : पुन

नेपालखबर
पुस ७, २०८० शनिबार १८:३०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताएका छन्।

गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे। 

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका २ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन। नेताको आचरण र व्यवहारमा सुधार आएको छैन। ३ ओटा राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो। त्यसैले हामिले आचरण र व्यवहार सुधार गर्नुपर्छ। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’

गणतन्त्र प्राप्तीपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरु सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए। 

‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्दिका क्षेत्रमा राम्रो काम गरेको छ। सुनकाण्ड विरुद्दको अभियान चलाएको छ। अरुले सुन पास गराईरहेका थिए। माओवादीको सरकारले समात्यो त के नराम्रो भयो?’ उनले प्रश्न गरे। 

‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो। तर त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ। ९ ओटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ। बाटो चौड पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो।’ 

साथै, उनले जनताले प्रश्न उठाउँदैमा त्यसबाट भाग्न नहुने पनि बताए।

‘सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरुमाथि प्रश्न उठ्यो। जनताले प्रश्न उठाउँदैमा भाग्नु हुँदैन। हामीले जवाफ दिनुपर्दछ। हामीले छानविन समिति बनाऔं भनेका थियौं, पूर्वमन्त्री पुनले थपे, ‘हाम्रो पार्टी भ्रष्टाचार, कालाबजारीलाई संरक्षण गर्दैन। तर पनि आरोप लगाउनेका विरुद्ध भने हामी जुध्नुपर्छ। सम्बन्धित निकायमा मुद्दा हाल्नु पर्दछ। यदि कसैले गल्ती गरेको छ भने उसको बचाउमा संगठन लाग्दैन। गल्ती गर्ने कसैलाई छोड्नु हुँदैन।’
 
गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादी विरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति भने सचेत हुनुपर्ने उनको भनाइ छ।

‘पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ। आफ्नो सचिवालय, मन्त्री, सल्लाहकार फेर्छु तर पछि हट्दिँन, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ। परिणाम निकाल्छु भन्नु भएको छ। पार्टीले उहाँलाई साथ दिएको छ’ सम्मेलनका सहभागिलाई प्रशिक्षण दिँदै उनले भने।

चन्द्रागिरी २ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो। माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रममा सहभागी भएका थिए। 

सम्मेलन र प्रशिक्षणमा उपमहासचिव पुन पुगेका हुन्। 

माओवादी कमजोर हुनुका कारण केलाएका नेता पुनले पार्टी विभाजन हुनु प्रमुख कारण भएको बताए। संविधानसभाको पहिलो चुनावमा जनताले दिएको जनमत अनुसारको काम गर्नु र त्यसलाई सम्मान गर्दै संविधान जारी गर्न नसक्नु पनि माओवादी कमजोर हुनुको कारण रहेको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .