ad ad

राजनीति


देश बनाउने हो भने एमाले नै चाहिन्छ, अन्य विकल्प छैन : शंकर पोखरेल

देश बनाउने हो भने एमाले नै चाहिन्छ, अन्य विकल्प छैन : शंकर पोखरेल

नेपालखबर
पुस ७, २०८० शनिबार १४:३६, काठमाडौँ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन्।

‘देश बनाउने हो भने अब राजनीतिक धुव्रीकरण अपरिहार्य छ। हरेक राजनीतिक दलका नेता, कार्यकर्ताहरुको बीचमा पुग्नुस्। देश जोगाउने हो भने एमाले चाहिन्छ। एमाले रोज्नुपर्दछ भनेर अभियान चलाउनुस्। देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ। चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं,’ महासचिव पोखरेलले भने, ‘चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं। चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं  वा अन्तराष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरुको कुरा गरौं। एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन सक्दैन।’

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गरे। उनले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याए। 

‘अब स्वार्थहरूको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ। त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ। म भन्न चाहन्छु–राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भएपनि अब तपाईहरुले बुझ्नुपर्दछ। देश जोगाउने हो भने, स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नु पर्दछ भनेर भन्न सक्नुपर्दछ।’

महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक धु्रविकरण अपरिहार्य रहेको पनि बताए। 

‘देश बनाउने सामथ्र्य एमालेसँग मात्रै छ भन्ने कुरालाई जनताको बीचमा लिएर गएर जनमतलाई ध्रुवीकरण गर्ने काम गरौं। अर्को कुरा तपाईहरुलाई भन्न चाहन्छु–जनताले विकास खोजेको छ। परिवर्तन खोजेको छ। नेकपा एमालेले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षाको नेतृत्व गर्न चाह्यो। आज यो यात्रा अवरुद्ध छ। चाहे हामीले सामाजिक विकासका क्षेत्रमा गर्नं खोजेका कामहरू हुन,’ उनले भने, ‘चाहे पूर्वाधार विकासको क्षेत्रमा गर्न खोजेको कामहरू हुन। हामीले सांस्कृतिक क्षेत्रमा गर्न खोजेका कामहरू हुन। यी सबै कामहरू रोकिएका छन्। जबसम्म ती कामहरूलाई हामी अगाडि बढाउन सक्दैन, तबसम्म मुलुक बन्न सक्दैन। मुलुकु बनाउने हो भने आर्थिक–सामाजिक विकास र रुपान्तरणको कामलाई तिब्रता दिनै पर्दछ। त्यो कामको नेतृत्व एमाले बाहेक अरु कुनै पार्टीले गर्न सक्दैन।’

महासचिव पोखरेलले सरकारले अवैधानिक आर्थिक चलखेल गरेकाले बैंकहरुले ब्याजदर बढाउनु परेको जिकिर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .