ad ad

राजनीति


विनातयारीका आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढ्दैन : मन्त्री ज्वाला

विनातयारीका आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढ्दैन : मन्त्री ज्वाला

नेपालखबर
पुस १, २०८० आइतबार १६:२६, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विनातयारीका आयोजनाको ठेक्का प्रक्रिया सरकारले अघि नबढाउने बताएका छन्।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिकमन्त्री ज्वालाले यस्तो बताएका हुन्।

पूर्वतयारीविना ठेक्का लगाउँदा आयोजनाहरू समयमा नै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा विनातयारीका आयोजनाहरूको ठेक्का प्रक्रिया अगाडि नबढाउने मन्त्री ज्वालाले बताए।

बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाहरूको ठेक्का लाग्न ईआईए, आईएई र डीपीआर पूरा हुन आवश्यक रहेको मन्त्री ज्वाला बताउँछन्।

पछिल्लो समय काम नगर्ने आयोजनाका ठेक्काहरू तोड्ने काम पनि सरकारले गरिरहेको ज्वालाले बताए। यद्यपि, ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनाहरूमा भने ठेक्का तोड्न नसकिएको मन्त्री ज्वालाको कथन छ।

‘काम नगर्ने आयोजनाका ठेक्काहरू तोड्ने काम गरेका छौँ। ठेक्का तोड्दा पनि नयाँ समस्या आउँछ। नयाँ ठेक्का, नयाँ प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले कतिपय अवस्थामा भइसकेको ठेक्काबाट नै निर्माण पूरा गरौँ भनेर सोच्नुपर्ने हुन्छ,’ मन्त्री ज्वालाको स्पष्टोक्ति छ।

यसैगरी, आयोजनाहरूको रकमान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको मन्त्री ज्वालाले बताए।

संसदीय समितिहरूले अर्थ मन्त्रालय र भौतिक मन्त्रालयलाई सँगै राखेर छलफल गराए भौतिक मन्त्रालयलाई सहज हुने उनको भनाइ छ। अन्तरमन्त्रालय समन्वयमा समस्या रहेको भन्दै मन्त्री ज्वालाले अर्थ, कानुन र वन मन्त्रालयमा गएका फाइल त्यहीँ अड्किने गरेको बताए।

यद्यपि, संयन्त्र नै बनाएर अन्तरमन्त्रालय समन्वय गराउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएकाले केही सहजता हुने विश्वास रहेको मन्त्री ज्वाला बताउँछन्। (नान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .