ad ad

राजनीति


माघभित्र सबै मन्त्री बदल्ने प्रधानमन्त्रीको तयारी

माघभित्र सबै मन्त्री बदल्ने प्रधानमन्त्रीको तयारी

सागर न्यौपाने
मंसिर १५, २०८० शुक्रबार २१:३७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। उनी प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेपछि अहिले भएका मन्त्रीहरू फेरबदल गर्ने विषयमा गठबन्धनको शीर्ष नेतृत्व तहमा समझदारी जुटिसकेको छ। 

प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ। सरकारले एक वर्ष पूरा गरेलगत्तै मन्त्रीहरूको टिम नै फेर्ने गृहकार्य भइरहेको छ, प्रचण्ड दुबईबाट फर्केपछि यसले गति लिनेछ।

कांग्रेसले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै सरकार पुनर्गठन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। त्यसो गर्दा अहिलेका मन्त्रीहरूले थप एक महिना काम गर्न पाउनेछन्। त्यही आधारमा पुस दोस्रो हप्तादेखि माघभित्र प्रचण्डले नयाँ मन्त्री नियुक्त गर्ने सत्तारुढ दलका नेताहरू बताउँछन्।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय सभा चुनावलगत्तै मन्त्रीहरू फेरबदल गर्ने समझदारी भएको बताए।

‘स्थिरताका लागि सरकार बदल्ने कुरा हुँदैन,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘मन्त्री फेरेर गठबन्धनले अहिलेको संकट समाधानको प्रयास गर्नेछ।’

‘मुख्यतः नेपालको अर्थतन्त्र कमजोर भइरहेको छ। एक वर्षको अवधिमा पनि पुरानो अवस्थामा फर्किएन,’ उनले थपे, ‘गृहप्रशासनमा पनि अस्पष्टता र अन्योल देखियो। भ्रष्टाचारविरोधी अभियान भनेर त्यसैको काम भइरहेको टीकाटिप्पणी सुनिन थाले। राजनीतिक दल र जनतामा निराशा बढ्यो। त्यही भएर शीर्ष नेताबीच मन्त्रिमण्डल हेरफेरको गृहकार्यबारे अनौपचारिक छलफल भइराखेको छ। कांग्रेसको महासमिति बैठक र राष्ट्रिय सभाको चुनावपछि त्यो काम अघि बढ्छ।’ 

माओवादी केन्द्रका एक नेताले पनि मन्त्री फेर्ने तयारी रहेको बताए।

‘यो सरकार बनेको एक वर्ष पुगेपछि मन्त्रिमण्डल फेर्नुपर्छ कि भन्नेमा छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘जनताका अपेक्षा पूरा गर्न अहिले अब दौडनुपर्नेछ।’ 

‘प्रधानमन्त्रीबाहेक सबै मन्त्री फेरिन्छन्, पुसको दोस्रो हप्तापछि त्यतातिर छलफल हुन्छ,’ ती नेताले भने।

केही मन्त्री हटाएर नयाँ थप्दा पार्टीभित्र असन्तुष्टि बढ्ने तर टिम नै परिवर्तन गर्दा धेरैलाई पालो पुर्‍याउन सकिने र कोही असन्तुष्ट हुने ठाउँ पनि नरहने भएकाले शीर्ष नेता टिम नै फेर्ने योजनामा लागेका हुन्।

पहिलो र दोस्रो कार्यकाल ९ महिना बढी सत्ता चलाउन नपाएका प्रचण्डले यस कार्यकाललाई ऐतिहासिक बनाउने बताइरहेका छन्। तर, नागरिकमा चुलिँदै गएको निराशा र कमजोर अर्थतन्त्रका कारण उनले मन्त्री फेर्न खोजेको माओवादी केन्द्रका नेताहरूको जिकिर छ। 

सत्ता गठबन्धन दल कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका शीर्ष नेतासँग प्रचण्डले एकपटक छलफल गरेर सुझाव लिइसकेका छन्।

तर, त्यसका लागि गठबन्धनभित्र मन्त्रालयका विषयमा सहमति जुट्नुपर्नेछ। कांग्रेसले गृह मन्त्रालय मागिरहेको छ। उसले प्रधानमन्त्री प्रचण्डलाई यसबारे पटकपटक भनिसकेको छ।

उसले अर्थ मन्त्रालय माओवादीलाई छोड्न तयार रहेको संकेत गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतको कामबाट कांग्रेसभित्रै पनि असन्तुष्टि बढिरहेको छ। संकटमा रहेको अर्थतन्त्र सुधारमा महतले कुनै पहल गर्न नसकेको गठबन्धनका धेरै नेताको बुझाइ छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई तानेकोमा कांग्रेस नेताहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग रुष्ट छन्। गृहमन्त्री श्रेष्ठलाई हटाउन कांग्रेसले प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिएको धेरै भैसक्यो तर प्रधानमन्त्रीले गृहमन्त्री मात्रै हटाउँदा राम्रो सन्देश नजाने भन्दै टार्दै आएका छन्। 

नेकपा एकीकृत समाजावादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सरकारले गति बढाउनुपर्ने बेला आएको बताए।

‘केही मानिसहरू सरकारको विरुद्ध उत्रिएर जनतालाई भ्रम छर्न सकिन्छ कि भनेर लागेका छन्,’ पाण्डेले भने, ‘त्यसको जवाफ काम गरेर देखाउने हो। गठबन्धनको सरकारलाई सफल पार्ने हो।’

‘अहिले भएका कतिपय मन्त्रीहरूले राम्रो काम गर्न सक्नुभएको छैन, स्पिड नै पुगेन, जनताको काम गर्न यही स्पिडले सकिँदैन, यो बढाउनुपर्छ,’ उनले थपे, ‘हामीले मन्त्री पठाउँदा एक वर्षको कार्यकाल भनेरै तोकेका थियौँ। फागुनमा एक वर्ष पुग्छ तर त्यसबेलासम्म किन पर्खने? सक्ने टोली पठाएर छिटो जनतालाई पर्फमेन्स दिनुपर्छ भन्ने कुरा उठेको छ।’

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

यसबारेमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। देउवाले राष्ट्रिय सभाको चुनावपछि हेरफेर गर्दा हुने सुझाव दिएका छन्।

सत्ताको नेतृत्वकर्ता दल माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने अहिलेसम्म तयारी भइनसकेको दाबी गरे।

‘राजनीति हो, जुनसुकै बेला जे पनि हुन सक्छ,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीले मुख्य ध्यान सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन दिनुभएको छ। सरकार चलाउन आफूलाई सहज हुने गरी मन्त्रीहरू हेरफेर गर्न प्रधानमन्त्रीले पाउनुहुन्छ।’

मन्त्रिमण्डल फेरबदलको सूचना पाएपछि सरकारमा जान कांग्रेसका केही नेताले दौडधुप तीव्र पारेका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरिरहेका छन्।  

तर, कांग्रेस सभापति देउवा भने जोखिम नहुने गरी कदम चाल्ने पक्षमा छन्। अहिले भएका मन्त्री हटाएर नयाँ पठाउँदा त्यसबाट गठबन्धनमा समस्या पर्न नहुनेमा उनको जोड छ।

पार्टीभित्र महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य शेखर कोइराला खेमा मिलाउन उनलाई हम्मे परिरहेको छ।

कोशी प्रदेशमा गठबन्धनको निर्णयविपरीत एमालेको सहयोगमा कोइरालापक्षीय केदार कार्कीले बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेदेखि देउवा सचेत छन्।

प्रचण्ड सरकारमै कोइरालापक्षीय नेताहरूको व्यवस्थापन गर्दा महामन्त्रीद्वय छुटेकाले उनले यसपटक सन्तुलन मिलाउनको लागि पनि मन्त्रिमण्डल फेरबदलमा सहमति जनाएको नेताहरू दाबी गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .