ad ad

राजनीति


गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुँदैन : प्रचण्ड

गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुँदैन : प्रचण्ड

नेपालखबर
मंसिर ११, २०८० सोमबार १७:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको विरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका हुन्।

इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने दाहालले बताए। यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने दाहालको भनाइ छ।

‘हुनत मानिसहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको विरुद्ध केहीँकतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएका छन्। इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोसिसहरू देखिएकै छ। तर, तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ। पछाडि फर्कदैन। र, हामी जबसम्म यो परिवर्तनका बाहक राजनीतिक दलहरू, नेताहरू, संघसंस्थाहरू, बुद्धिजीविहरू, नागरिकहरू, तपाईंहामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्त्वहरू रहन्छौँ, इतिहास पछि फर्कंदैन, अगाडि नै बढ्छ,’ दाहालको कथन छ।

प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सफलतालाई सरकारले आफ्नो सफलताको रूपमा लिएको बताए। राष्ट्र निर्माणको लागि दूरगामी र रचनात्मक प्रभाव पार्ने तथा भावी पुस्ताका लागि गर्विलो इतिहासको रूपमा सामाजिक सुरक्षा कोषलाई सरकारले लिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्न दाहालले सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

सामाजिक सुरक्षा कोष कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गराउने काममा सक्दो योगदान पुर्‍याउन दाहालले स्थानीय तहलाई पनि विशेष आग्रह गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्त्वको रूपमा लिँदै आफ्नो स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानूनी आधार तयार गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यस ऐतिहासिक कार्यक्रमको घोषणा गर्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको रूपमा मैले नै प्राप्त गरेको थिएँ। आज यस कार्यक्रममार्फत सबै स्थानीय तहलाई कार्यक्रम प्रभावकारी बनाउने कार्यमा सशक्त भूमिका खेल्न म विशेष आग्रह गर्न चाहन्छु।’

सरकारले सामाजिक सुरक्षा कोषलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप अघि बढाउने कुरामा सरकारले कुनै कमी हुन नदिने प्रधानमन्त्री दाहालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .