ad ad

राजनीति


वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्छ : महामन्त्री शर्मा

वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्छ : महामन्त्री शर्मा

नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:४४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन्।

दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको शर्माले बताएका हुन्।

महामन्त्री शर्माले संसद्लाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकारे।

संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले काम गरेको शर्मा बताउँछन्।

उपलब्धिका दृष्टिले वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले आगामी अधिवेशनलाई अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मबोध भएको शर्माले पटक–पटक दोहोर्‍याए।

संसद्लाई बहसको थलो, वैचारिकताको थलो बनाउनुपर्नेमा घटनापिच्छे अवरोध गर्ने, संसद्लाई चल्नै नदिने प्रवृत्तिप्रति महामन्त्री शर्मा असन्तुष्ट देखिन्छन्।

संसद्का रोष्टम एकले अर्कोलाई खसाल्ने ढंगले प्रयोग गर्नुभन्दा वैचारिक थलोको रूपमा विकसित गर्नुपर्नेमा उनको जोड छ।

कतिपय बेला कोरम नपुगेर गुज्रनुपरेको यथार्थ प्रस्तुत गर्दै उपलब्धिको हिसावले यो अधिवेशनमा खासै महत्वपूर्ण नभएको बताउँछन्।

महामन्त्री शर्मा भन्छन्, ‘अनुभवको हिसाबले महत्वपूर्ण हुँदाहुँदै पनि उपलब्धिको हिसाबले धेरै महत्वपूर्ण भयो भन्ने मलाई लाग्दैन। मैले भन्न त्यति नमिल्ला। तर मान्छेले जति काम गर्छ, कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने, त्यो समयका बीचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौ भन्ने कोणबाट छुट्टयाएर तलब दिनुपर्‍यो भने केबल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको छ।’

यसप्रकारले संसद् चलाउने कुरामा सरकारले आफूलाई सुधार गर्नुपर्ने महामन्त्री शर्मा बताउँछन्।

पाइपलाइनमा रहेका विधेयकलाई टुंग्याउनुपर्नेमा उनको जोड छ।

महामन्त्री शर्माले नयाँ भनिएका दलहरूको गतिविधिले पनि संसदीय परिपाटीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .