नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिप्रति देखिएको वितृष्णा तोड्नका लागि ‘समाजवादी जागरण अभियान’ सञ्चालन गरिएको बताएका छन्।
शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनासँगको सम्बन्ध नङ र मासुको जस्तो घनिष्ठ बनाउनेगरी लागेको बताए।
‘जनतासँग जोडिन आएका छौं। पार्टीलाई जनतामा स्थापित गर्न आएका छौं। हामी तपाईंहरूकै पार्टी हो। हामी न्यायको खोजीमा छौं। गरिब र विपन्न जनताको पक्षमा छौं,’ अध्यक्ष नेपालले भने, ‘त्यसकारण पार्टीलाई स्थापित गर्न जनतासँगको सम्बन्धलाई नङ र मासुको जस्तै घनिष्ट बनाउनका लागि, राजनीतिप्रति देखिएको वितृष्णालाई तोड्न हामी जिउँदै छौं। हामीसँग सोच, चिन्तन, आँट र हिम्मत सबै छ।’
उनले पार्टीको तर्फबाट सरकारलाई झकझक्याउनुपर्ने ठाउँमा पहल गर्न आफू तयार रहेको पनि बताए।
‘हाम्रो पार्टीको तर्फबाट पनि कस्तो सहयोग गर्नपर्छ, सरकालाई कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि हातमा हात मिलाउन तयार छौं,’ नेपालले भने, ‘जनताको पिरमर्का, अन्याय, अत्याचार, गरिबी र बेराजेगारका समस्यालाईलाई सम्बोधन गरेर मात्रै जनतालाई सुखी बनाउन सकिन्छ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ।’
साथै, उनले राज्यले भ्रष्टाचार र ढिलासुस्तीलाई अन्त्य गर्नुपर्ने भनाइ राखे। उनले नेपाल प्राकृतिक सम्पदाहरूमा देश धनी रहेको भन्दै देशमा उत्पादित प्राकृतिक स्रोतहरू निर्यात हुनुपर्ने बताए।
‘राज्यले सहयोग र पुँजीको व्यवस्था गर्यो भने नेपाल कृषिमा आत्मनिर्भर हुनेमात्रै होइन, नेपालीहरूको पिउने पानीमात्रै होइन, यो हामी देशमा मात्र होइन विदेशमा पनि बेचेर सम्पन्न हुनसक्छौं। यहाँ धेरै महत्त्वपूर्ण प्राकृतिक सम्पदाहरू छन्,’ अध्यक्ष नेपालले भने।
Shares
प्रतिक्रिया