ad ad

राजनीति


बेलायती उपनिवेशविरुद्ध अमेरिकीलाई प्रेरणा दिने त्यो गोर्खाली विजय

बेलायती उपनिवेशविरुद्ध अमेरिकीलाई प्रेरणा दिने त्यो गोर्खाली विजय

मोहन थापा
असोज १३, २०८० शनिबार १०:१९, काठमाडौँ

वि.सं.१८२४ असोज १५ मा, सिन्धुलीगढीमा, एकीकरणकालीन गोखाली सेना (आजको नेपाली सेना) ले तत्कालीन कान्तिपुर राज्यका राजा जयप्रकाश मल्लको सहायताका लागि इस्ट इन्डिया कम्पनीका तर्फबाट आइरहेको क्याप्टेन किन्लक नेतृत्वको करिब २ हजार ४ सय संख्याको अंग्रेज सेनालाई पराजित गरिदिएको थियो। त्यो फौज पटना (भारत)बाट जनकपुर, रानीवास, सिन्धुलीमाडी हुँदै खुर्काेट–झााँझोली–दाप्चा–पनौती भएर काठमाडौं उपत्यका आउन लागेको थियो।

गोर्खाली सेनाले क्याप्टेन किन्लक नेतृत्वको अंग्रेज सेनालाई सिन्धुलीगढीमा पराजित गरेपछि मात्र गोरखाले उपत्यका विजय गर्न सक्ने आधार बलियो भएको थियो। काठमाडौं उपत्यका विजयपछि मात्र आजको सगोल नेपाल निर्माणको जग मजबुत हुन सकेको थियो। 

आजभन्दा २५६ वर्षअघिको गोर्खा–अंग्रेज युद्धमा सिन्धुलीगढीनिकट बसोवास गर्ने कश्यप गोत्रका गोदार थापा तथा अन्य आदिवासीहरुले पनि युद्धमा विजय प्राप्त गर्न योगदान गरेका थिए।

गढ, गढी, कोट, किल्ला, दुर्ग
शब्दकोशअनुसार गढ वा गढीको अर्थ राज्यको सुरक्षा गर्ने वा प्रशासन चलाउने मुख्य ठाउँं, केन्द्र वा गौंडा, किल्ला, दुर्ग, गढी हो। यो सामरिक (सैनिक) महत्त्वको स्थल हो। प्रायः सबै राज्यले आफ्नो देशको सुरक्षार्थ गढ, गढी, किल्ला, दुर्ग, कोट, आढ सदैब मजबुत बनाएर सैनिक शक्तिलाई चुस्त, चनाखो राखेका हुन्थे। 

नेपालमा बोलचालमा करिब समान अर्थ बुझाउने गढ, गढी, गडी, गड, गौंडा, खलंगा, किल्ला, जोङ, कोत, क्वाथ चो (क) हरु राज्यको सुरक्षा र सैनिक सन्दर्भमा प्रयोग भइरहने शब्द हुन्। 

हरेक राज्यमा एउटा यस्तो स्थल हुन्छ, जहांँ त्यस राष्ट्रका राजा वा राज्य व्यवस्थासंँग सम्बन्ध राख्ने प्रधान अधिकारी सुरक्षित रहन्छन्। फरक राष्ट्रमा यसप्रकारको स्थल फरक प्रकृतिको हुन सक्छ। तथापि ती स्थान राष्ट्रका लागि अधिक महत्त्वका हुन्छन्।

'नेपालको सैनिक इतिहास' मा उल्लेख भएअनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले पुनःएकीकरण अभियानका सिलसिलामा काठमाडौं उपत्यका विजय गर्नुअघि यहांँका राजाहरुले विभिन्न सामरिक ठाउँंहरुमा किल्लाहरु बनाई देश रक्षार्थ ‘उमराव’ वा ‘क्वाठनायकहरु’ का साथ न्यूनतम संख्यामा रक्षकहरु राख्ने नीति लिएको पाइन्छ। त्यसबेला उपत्यकाका मल्ल राजाका सेनाबीच भक्तपुरको ‘ओभु किल्ला’ र ‘सोमलिङ किल्ला’ हात पार्न पटकपटक युद्ध भएको सैनिक इतिहासमा उल्लेख छ।

सिन्धुलीगढीको अवस्थिति
इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार नेपालमा सभ्यताको आरम्भ इ. पू. ७५० तिर भएको हो। व्यवस्थित राज्यको अवधारणा विकास भएपछि यहाँका बस्तीका मानिसहरुले राज्यसंँगको सहकार्यमा त्यसै समयदेखि यस भूमिमा शत्रु सेनाबाट हुन सक्ने आक्रमणबाट जोगिन निर्माण गरेका गढ, गढी, कोट, किल्लाबारे धेरै चर्चा पाइन्छ। प्राचीनकालमा राज्य गरेका किरांँत राजाहरुले पूर्वी नेपालको इलामदेखि पश्चिमको दार्चुलासम्म बस्ती ओगटेका र त्यस भूमिमा अनेकौं गढ वा किल्ला बनाएको, बस्ती आवाद गरेको लेखक सोमध्वज विष्टले बताएका छन्। लेखक विष्टका अनुसार, किराँत र पछिका शासकहरुले नेपाल भूमिमा स्थापना गरेका सानाठूला गढ, गढी, किल्ला, दुर्ग, कोटहरु धेरै थिए।

नेपाल भूमिमा राष्ट्रको रक्षार्थ प्राचीनकालमा बनाइएका ती दुर्ग, पुर, गढ, किल्ला, गढीहरु कुनैसमयमा देशभरि थिए, तर धेरैजसो आज भग्नावशेष बनेका छन्। तिनीहरु बिर्सिइएका छन्। तिनैमध्येका एक हो, सिन्धुलीगढी।

यो गढी महाभारत पर्वतमालाको चुचुरोमा पर्दछ। गढीनजिकै चुचुरोको केही भूमि समथर बनाइएको छ। यस समथर भूभागमा उभिएर उत्तरतर्फ नेपालको हिमाली सीमा र दक्षिणतर्फ तराईको समथर मैदानी भूमि दृश्यावलोकन गर्न सकिन्छ। नजिकै उत्तर–दक्षिण आवत–जावत गर्न सकिने भन्ज्याङ छ। भन्ज्याङको दायांँबायाँ भिरालो जमिन छ। गढीको उत्तरतर्फ ओरालो झरेर पश्चिम लागेपछि सुनकोसी किनारको फाँंट खुर्काेट आउँछ। 

खुर्काेटबाट सुनकोसी किनार हुंँदै पश्चिमतर्फ लाग्दा झाँगाझोली, दुम्जा हुंँदै काठमाडौं उपत्यका प्रवेश गर्न सकिन्छ भने खुर्कोटबाट सुनकोसी किनारैकिनार पूर्वतर्फ लागेपछि ओखलढुंगा र उदयपुर पुग्न सकिन्छ। यसैगरी गढी डाँडाको भन्जाङबाट दक्षिणतर्फ ओरालो झरेपछि सिन्धुली माडी सदरमुकाम, कमला खोला किनार हुँदै दक्षिणतर्फ अघि बढेमा तराईको समथर भूमि भएर भारत पुग्न सहज हुन्छ।

उपत्यका प्रवेश गर्ने मुख्य द्वार
सिन्धुली गढीको बाटो भएर दक्षिणपूर्व भारत (बंगाल) र नेपालको तराईमा कुनै समय अस्तित्वमा रहेको विदेह राज्यबाट उपत्यका प्रवेश गर्ने मानिसले उपत्यकामा आफ्नो धर्म, संस्कृति, रीति, परम्परा पनि ल्याएका थिए।

गोर्खाको नेतृत्वमा नेपाल पुनःएकीकरणपूर्व सिन्धुलीको बाटो आएका तिरहुत राज्यका सैनिकले चार पटकसम्म काठमाडौं उपत्यकामा आक्रमण गरेर धनमाल लुट्न सफल भएका थिए। 

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) को नेतृत्वमा नेपालको पुनःएकीकरण थालनी हुनुअघि आजको नेपाल सरहदको भूमिमा करिब ५२ स्वतन्त्र राज्यहरु थिए। सिन्धुली तीमध्ये मकवानपुरको सेन राजाको अधीनमा पर्दथ्यो। 

सिन्धुली पूर्वी भारतबाट नेपालको उत्तरपूर्वी भूभाग र खासगरी काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्यद्वार थियो। बाबुराम आचार्यका अनुसार भारतका विभिन्न स्थलबाट कमला नदीको किनारैकिनार उत्तरतर्फ भएर र महाभारत पर्वतमालामा रहेको सिन्धुली भन्ज्याङलाई पार गरी सुनकोसी तथा तामाकोसी नदीको दोभान भएर दोलखा आसपास (रजगाउँ) सम्म र क्रमशः काठमाडौं उपत्यकासम्म इशापूर्वदेखि पुनःएकीकरणपछिको विभिन्न समयमा आएका दक्षिणका वासिन्दाहरु आफू मात्र आएनन्, त्यहाँंको संस्कृति र परम्परा पनि ल्याएका थिए।

सिन्धुलीकै बाटो भएर तत्कालीन सिम्रौनगढ राज्यका राजा नरसिंहदेव नेतृत्वको सेनाले वि. सं. ११६८ मा, सोही राज्यका राजा रामसिंहदेव नेतृत्वको सेनाले वि.सं. १३०१ मा, त्यसै राज्यका राजा शक्तिसिंहदेवका मन्त्री तथा सेनापति चण्डेश्वर ठाकुर नेतृत्वको तिरहुते सैनिकले वि.सं. १३४७ मा र वि. सं. १३६८ मा समेत चारपटक काठमाडौं उपत्यकामा सशस्त्र सैन्य आक्रमण गरेर ठूलै लुटपाट मच्चाएका थिए। त्यसबेला उपत्यकाका मल्ल राजाका सैनिकहरुले तिरहुते सैनिकहरुको आक्रमणको मुकाविला गर्न नसकेर युद्धको हर्जाना बुझाएर फिर्ता पठाएका थिए। 

सिन्धुली पूर्वबाट उपत्यका प्रवेश गर्ने महत्वपूर्ण स्थल भएकोले यसलाई अधीनमा लिन मकवानपुरको सेन राज्य र काठमाडौं उपत्यकाका मल्ल राज्यहरुबीच समयसमयमा स–साना सैनिक कारवाहीहरु भएको देखिन्छ। सिन्धुली सामरिक दृष्टिले महत्वपूर्ण स्थल रहेकोले त्यस भूमिमा पहिलोपटक मकवानपुरका राजा माणिक्य सेनले गढी निर्माण गरेर महाभारत पर्वतमालाको उत्तरपूर्वतर्फको सुनकोसी नदीको दायाँतर्फको किनारातिर खस र मगरहरुको बस्ती बसाएर झाँंगाझोली, दुम्जासम्म आवादी बढाएको बाबुराम आचार्यको दाबी छ। 

त्यसपछिका दिनमा सिन्धुलीगढी र आसपासको भूभाग मकवानपुर राज्यको अधीनमा थियो। स्वतन्त्र मकवानपुर राज्यका अन्तिम राजा दिग्बन्धन सेन हुन्।

गोर्खाली सेनाबाट विजय र गोदार थापालाई बक्स
सिन्धुलीगढीको आसपास भूभागमा मगर, तामाङ र कश्यप गोत्रका गोदार थापाहरुको बसोवास थियो। मकवानी राजा दिग्बन्धन सेनको अधीनमा रहेको समयमा वि.सं. १८१९ असोज २ गते काभ्रेको भँवरकोटमा रहेका गोर्खाली सेनाका सेनानायक सर्दार रामकृष्ण कुँवर नेतृत्वको सेनाले पलान्चोक गढीमा रहेका गोर्खाली सैनिक समेतको साथ लिएर तिमाल–कोट तथा सिन्धुली गढीमाथि अधिकार स्थापित गरेको बाबुराम आचार्यले लेखेका छन्।

गोर्खाली सेनाले वि.सं. १८१९ भदौ ९ गते काठमाडौं उपत्यकाबाट दक्षिणको स्वतन्त्र राज्य मकवानपुर विजय गरेको थियो। गोखाली सेनासंँग मकवानपुरगढीमा भएको युद्धमा पराजित भएपछि मकवानपुरका राजा दिग्बन्धन सेन, मन्त्री कनक बानियाँ परिवार र केही सैनिक, हतियारसहित भागेर मकवानपुर गढीबाट २ कोसजति पूर्वपट्टिको तर मकवानपुरकै अधीनमा रहेको हरिहरपुरगढीमा गएर बस्न थालेका थिए। उनीहरुलाई गोर्खाली सेनाले पक्रन सकेको थिएन। यो कुरा थाहा पाएर पृथ्वीनारायण शाह मकवानपुर पूर्ण विजय भएको मान्न धरमरमा परे। 

त्यसबेला पृथ्वीनारायण काठमाडौंको दहचोकमा थिए। दहचोकबाटै सैनिक खटनपटन गरेका थिए। उनले आफ्ना विश्वासिला सैनिक अधिकारीसंँग हरिहरपुरगढीमा बसेका मकवानी राजा र मन्त्री पक्राउ गर्ने र पूरै मकवानपुर हात लाउने उपायबारे सल्लाह गरे। हरिहरपुरगढी सामरिक दृष्टिले महत्वपूर्ण थियो। मकवानी सैनिकले मजबुतसंँग घेरेका थिए। यो जानकारी पाएर नै पृथ्वीनारायणका सैनिकले हरिहरपुरगढी दिगो विजयका लागि रणनीतिक तयारी गरे। 

हतारमा हरिहरपुरगढीमा सैनिक पठाउंँदा मकवानी राजा र मन्त्री मकवानपुरअन्तर्गतको तिमाल कोट र सिन्धुली गढीमा आश्रय लिएर उपत्यकाका मल्ल राजा वा दक्षिणतिरका मुसलमान नबाबहरुसँंग सैनिक सहयोग माग्न सक्ने सम्भावना थियो। तसर्थ हरिहरपुरगढीमा रहेका मकवानी राजा र मन्त्रीलाई थाहा नदिई गोर्खाली सेना काभ्रेको दाप्चा, भँवरकोट र पलान्चोकबाट जम्मा हुँदै तिमालकोट आक्रमणका लागि पुग्यो। गोर्खाले वि.सं. १८१९ को असोज २ गते तिमालकोटमा रहेका मकवानी सेनालाई धपाएर कोट कब्जा गर्न सफल भयो। यो कुरा दिनेशराज पन्तलिखित ‘महामण्डलदेखि कांँगडासम्म’ पुस्तकको पृष्ठ ९ मा गरिएको छ। 

तिमालकोट विजयपछि केही गोर्खाली सैनिक त्यस कोटको रक्षार्थ बसेर बांँकी सिन्धुली विजयका लागि प्रस्थान गरे। दुम्जा, झाँगाझोली हुँदै गोर्खाली सेनाले १८१९ असोज ९ गते मकवानी सेनाले पहरा दिइरहेको सिन्धुली (कोट) गढीमा आक्रमण गर्‍यो। तिमालकोट र सिन्धुली गढी जितिसकेपछि मात्र हरिहरपुरगढीमा आक्रमण गर्ने पृथ्वीनारायणको योजना थियो। गोर्खाले मकवानपुरगढी विजय गरिसकेको, तिमालकोट जितिसकेको खबरबाट सिन्धुलीगढीमा तैनाथ मकवानी सैनिक विशेष तयारीमा थिए। उनीहरुले गढी मर्मत गरेर बलियो पहरा दिइरहेका थिए। तर पनि गौर्खाली सेनाको मनोबल उच्च थियो। मकवानीहरु निराश थिए। केहीबेरको लडाइँपछि मकवानी सैनिक गढी छाडेर भागे, सिन्धुलीगढी असोज ९ गते मंगलबार गोर्खाली सेनाको कब्जामा आयो।

मकवानपुरगढीमा पराजयपछि हरिहरपुरगढीमा आश्रय लिइरहेका मकवानपुरका राजा दिग्बन्धन सेन र मन्त्री कनक बानियाँ गोर्खाली सेनाविरुद्ध आक्रमण गरी मकवानपुर फिर्ता गर्नका लागि भित्रभित्रै तयारी गरिरहेका थिए। एक्कासि सिन्धुलीगढीमा गोर्खाली सेनाको विजयको खबर सुनेर उनीहरुले तयार गरेका सैनिकलाई सिन्धुली हान्न पठाए। सिन्धुलीमा गोर्खाको विजय भइसकेको थियो तर पुनः युद्ध भयो। सिन्धुलीगढीमा यस दोस्रोपटकको युद्धमा पनि गोर्खाली सेनाको जित भयो। यो १८१९ असोज २० गते शनिबारको कुरा थियो। यस तथ्यलाई इतिहास संशोधन मण्डलबाट प्रकाशन भएको पूर्णिमा, वर्ष ४, अंक २ (२०२४) मा स्पष्ट वर्णन गरिएको छ।

असोज २० मा सिन्धुलीगढी पूर्ण विजय भएपछि गोर्खाली सेनाले २२ गते सोमबबारका दिन हरिहरपुरगढीमा आक्रमण गरेको थियो। त्यहाँ गोर्खाली सेना र मकवानी सेनाबीच भीषण युद्ध भयो। रातको करिब ८ बजे गोर्खाली सेनासँंग टिक्न नसकी मकवानी सैनिक किल्ला छाडेर भागे। राजा दिग्बन्धन सेन र मन्त्री कनक बानियाँ भागेर दक्षिणतिर लागे। मकवानपुरको सरहद दक्षिणतिरको बारा, पर्सा र रक्सौलभन्दा पारिसम्म थियो। त्यसबेला रक्सौलपारि मुगलाना भनिन्थ्यो। त्यहांँ बंगालका नबाब मीरकाशिमको शासन थियो। मकवानपुर र हरिहरपुरगढीमा भएको युद्धमा पराजयपछि भागेका राजा दिग्बन्धन सेन र मन्त्री कनक बानियाँ नबाब मीरकाशिमसंँग सैनिक सहायता मागेर गोर्खाली सेनाविरुद्ध पुनः युद्ध गर्ने र राज्य फिर्ता गर्ने योजनामा लागिरहेका थिए। 
 
सिन्धुलीगढी विजयका लागि दुईपटक मकवानी सेनासंँग युद्ध गर्नुपरेको र अन्ततः विजय हात लागेको खुसीमा पृथ्वीनारायणले जसराम थापा र चम्पसिंह गोदार थापालाई सिन्धुली आधा–आधा दिएको संशोधन मण्डलले उल्लेख गरेको छ। यस तथ्यबाट नेपाल पुनः एकीकरण अभियानमा महत्वपूर्ण मानिएको सिन्धुलीगढी विजय गर्ने सिलसिलामा मकवानी सेनासंँग भएको युद्धमा गोर्खा अर्थात् नेपाली सेनालाई कश्यपगोत्रीय गोदार थापाहरुले साथ-सहयोग दिएको पुष्टि हुन्छ।

सिन्धुली र मकवानपुर विजयपछि नेपाली सेनाका पांँच स्थायी सैनिक कम्पनी स्थापना भएको र त्यसपछि नेपाल पुनःएकीकरणले स्थायित्व प्राप्त गरी थप सफलताको सुनिश्चितता गरेको चर्चा प्रा. दिनेशराज पन्त लिखित ‘नेपाल एकीकरणको रक्षार्थ भएको सिन्धुलीगढी युद्धमा गोदारथापाहरुको योगदान’ पुस्तकमा गरिएको छ।  

कश्यप गोत्रका गोदार थापाहरु सिन्धुलीगढी आसपासमा गोर्खाले सिन्धुलीगढी विजय गर्नुअघि मकवानपुरका सेन राजाहरुको राज्यकालभन्दापूर्वदेखि बसोवास गरिरहेको पाइन्छ।

नेपाल पुनःएकीकरणमा सफलता
काठमाडौं प्रवेश गर्ने प्रमुख मार्ग सिन्धुलीगढीसहित उपत्यकाबाट दक्षिणतर्फको शक्तिशाली स्वतन्त्र राज्य मकवानपुर विजय सँंगसंँगै गोर्खाले सिन्धुलीगढी विजय गरेको थियो। मकवानी सेनाबाट दुईटा तोप र ४ सय ५० आधुनिक बन्दुक हात पारेको थियो। ठूलो संख्यामा आधुनिक बन्दुक हात परेपछि वि.सं. १८१९ मा पृथ्वीनारायणले एक सय नाल बन्दुकसहितका पांँच सैनिक कम्पनी श्रीनाथ, बर्दवाणी, सबुज, कालिबक्स, गोरख (पुरानो) स्थापना गरेका थिए।

आधुनिक बन्दुकसहितका सैनिक कम्पनीको स्थापनापछि गोर्खाली सेनाको नेतृत्वमा नेपाल पुनः एकीकरण अभियानले तीव्रता लिन थाल्यो। सिन्धुलीगढी विजयसंँगै स्थापना गरिएका नेपाली सेनाका ती पांँच आधुनिक सैनिक कम्पनी आजको राष्ट्रिय सेनाका जग हुन्। वि.सं. १८२५-२६ मा गोर्खाले काठमाडौं उपत्यका विजय गरेसंँगै पृथ्वीनारायणले काठमाडौंलाई नै राजधानी बनाए। त्यसपछि आजको सगोल नेपाल निर्माण अभियानले स्पष्ट आकार ग्रहण गरेको हो। 

सिन्धुलीगढी विजय र आधुनिक सैनिक कम्पनीसहितको एकीकृत हुंँदै गरेको नेपालको पूर्व र पश्चिमतर्फको बिस्तार अभियानले जनस्तरसम्म त्यसपछि विश्वास आर्जन गर्न सक्यो र सफल हुन सक्यो। त्यसैले सिन्धुलीगढीको संवेदनशीलता र महत्व हिजोका दिनमा पनि अधिक थियो र यसको महत्व आज पनि यथावत् छ।

नेपालको इतिहासमा वि.सं. १८१९ सिन्धुलीगढी विजय र राष्ट्रिय सेना स्थापनाको वर्ष हो। तसर्थ त्यो वर्ष सिन्धुलीगढीको इतिहासमा मात्र होइन, नेपालको इतिहासमा महत्वपूर्ण वर्ष रहेको छ।

सिन्धुलीगढीमा गोर्खा–अंग्रेज युद्धको पृष्ठभूमि
मकवानपुर र सिन्धुली विजयपछि पृथ्वीनारायण काठमाडौं उपत्यकाका तीन मल्ल राज्य कान्तिपुर, ललितपुर र भक्तपुरलाई घेराबन्दी गर्न सफल भए। उपत्यका प्रवेश गर्ने दोलखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, लामिडाँडा, सिन्धुलीलगायत वरिपरिको भूभागमा पृथ्वीनारायणको कब्जा भएकोले अब उनले उपत्यकामाथि नाकाबन्दी गरे।

नाकाबन्दीले उपत्यकाका जनताको दैनिक जीवनमा असर पर्न थाल्यो। १८१९ मा मकवानपुर विजय र त्यसपछि मकवानी राजा दिग्बन्धन सेनको सहायताका लागि आधुनिक तालिम प्राप्त सैनिक र हतियारसहित आएको गुर्गिन खाँ नेतृत्वको मुसलमानी सेनालाई गोर्खाली सेनाले मकवानपुरको हर्नामाडीमा सोही वर्षको माघ १० मा गुरिल्ला आक्रमण गरी पराजित गरिदियो। उनीहरुका आधुनिक हतियारसमेत हात पार्न सफल भएपछि उपत्यकाका मल्ल राजाहरु गोर्खासंँग डराए।

यसपछि १८२२ चैत ३ मा गोर्खाले कीर्तिपुर विजय गर्यो। कीर्तिपुर गुमाएपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले अब कुनै उपायले पनि गोर्खालीको आक्रमणबाट राज्य बचाउन नसक्ने ठहर गरेर त्यसबेला भारतमा शक्तिशाली हुँदै गएको इस्ट इण्डिया कम्पनी सरकारसंँग सैनिक सहायता माग्ने निश्चय गरेका थिए।

१८२३ फागुनमा पर्ने महाशिवरात्रि पर्व मनाउन सिन्धुलीगढी हुँदै भारतका विभिन्न स्थलहरुबाट काठमाडौंस्थित पशुपति मन्दिरमा दर्शनार्थीहरुको विगतका वर्षमाझैं भीड लागेको थियो। अरु समयमा सिन्धुलीगढी हुँदै पूर्व–दक्षिणतर्फ उपत्यकाबाट जान र आउन गोर्खाली सेनाले चौकीहरुमा केरकार गर्ने तर हिन्दु धार्मिक पर्वमा गोर्खालीहरुले हिन्दु तीर्थयात्रीहरुलाई दुःख नदिने हुँदा यस मौकाको फाइदा उठाएर दक्षिणपूर्व भारतका केही स्थानबाट आफ्नो परिचय लुकाएर, भेष बदलेर, हिन्दु तीर्थयात्रीहरुसँग भीडमा मिसिएर केही इसाई पादरीहरु उपत्यका आवतजावत गर्दथे। जयप्रकाश मल्लले पनि यही मौकामा कान्तिपुरमा रहेका दुई पादरी मुख्तार उम्दा र फकिर रामदासमार्फत् गोर्खालीको बढ्दो सैनिक शक्तिबाट डराएर सैनिक सहायता माग गरी पत्र पठाए।

मुख्तार उम्दा र फकिर रामदास अंग्रेजसमक्ष प्रस्ताव लिएर जाने जयप्रकाश मल्लका दूत थिए। उनीहरुले राजा जयप्रकाश मल्लको पत्र बेतियामा रहेका अंग्रेज वाणिज्यदूत गोल्डिङलाई दिए। दूतहरुले गोल्डिङसामु उपत्यकाको त्यसबेलाको अवस्था, गोर्खाली सेनाको बढ्दो शक्ति र मल्ल राज्यको सम्भावित पतनका बारेमा मौखिक जानकारी पनि थिए। साथै उनीहरुले अंग्रेजलाई यदि काठमाडौं उपत्यकामा शक्ति बढाउन सकेमा भविष्यमा हुन सक्ने लाभको आशासमेत देखाए।

यसबाट गोल्डिङ प्रभावित बने र उनले सो पत्रसहित आफ्नो तर्फबाट जयप्रकाश मल्ललाई सैनिक सहायता गर्नुपर्ने पक्षमा कडा सिफारिस गरिएको पत्र पटनामा रहेका इस्ट इन्डिया कम्पनी प्रमुख थमस रम्बोल्डसमक्ष तिनै दूतको हातबाट सन् १७६७ को अप्रिल ६ मा पठाए। 

पत्र अध्ययन गरेर रम्बोल्डले सन् १७६७ अप्रिल १८ मा त्यसबेला भारतस्थित इस्ट इन्डिया कम्पनीका गभर्नर भेरेल्स्टसमक्ष कलकत्तामा पठाए। रम्बोल्डले गभर्नरसमक्ष लेखेको आफ्नो सिफारिसपत्रमा ‘कम्पनी सरकार र उपत्यकाका मल्ल राजाहरुबीच पहिले चालु व्यापार गोर्खालीको बढ्दो शक्ति र नाकाबन्दीले बन्द भएको छ। त्यसैले त्यो नाकाबन्दी खुलाउन मात्र होइन, गोर्खाली सेनाको दम्भ चूर्ण बनाउन र उनीहरुलाई घुँडा टेकाउनका लागि पनि गोर्खाविरुद्ध कम्पनीको सामान्य सैनिक शक्तिको प्रयोग पर्याप्त हुनेछ’ भन्ने व्यहोराको पत्र पठाएका थिए।

पत्र आदानप्रदान चलिरहेकै बेला पृथ्वीनारायण शाहले जयप्रकाश मल्ल र अंग्रेजबीच साँंठगाँंठ बढ्न थालेको सुइँंको पाए। शाहले रम्बोल्डलाई सत्यतथ्य बताउने प्रयासस्वरुप सिधै पत्र पठाएका थिए। तर, जयप्रकाश मल्लको पक्षमा गोर्खाविरुद्ध सैनिक कारवाही गर्ने निचोडमा पुगिसकेकाले रम्बोल्डले पृथ्वीनारायणको पत्रको जवाफ दिन आवश्यक ठानेनन्। यसबीच जयप्रकाश मल्लको पक्षमा सैनिक सहायता पठाउनेबारे इस्ट इन्डिया कम्पनीको सिलेक्ट कमिटीमा छलफल भएपछि सन् १७६७ अप्रिल ३० तदनुसार वि.सं. १८२३ को चैतमा कम्पनी सरकारकातर्फबाट पृथ्वीनारायणका नाममा ‘नेपाल उपत्यकामाथिको घेरा उठाउनू र हाम्रा मित्र जयप्रकाश मल्लका उपर फेरि हमला नगर्नू, नत्र कम्पनीको मर्यादाको रक्षाको निमित्त तिमीलाई हामी शत्रु घोषित गर्दछौं’ भन्ने पत्र प्राप्त भयो।

अंग्रेजका तर्फबाट धम्कीको पत्र पाएपछि गोर्खाले त्यसको जवाफ दिन आवश्यक ठानेन, गुुप्तरुपमा गौंडा र नाकाहरुमा चेकजाँंच बढायो र अंग्रेजविरुद्ध सैन्य तयारी गर्न थाल्यो। गोर्खाबाट कुनै जवाफ नपाएपछि रम्बोल्डले कम्पनी सरकारको सिलेक्ट कमिटीसमक्ष गोर्खाविरुद्ध सैनिक कारवाहीको स्वीकृति मागेर पत्र पठाए। २१ जुलाईमा कमिटीले सावधानीपूर्वक गोर्खाविरुद्ध सैनिक अभियान सुरु गर्न स्वीकृति दियो। अब गोर्खाली सेनाविरुद्ध र जयप्रकाश मल्लको सहायताका लागि इस्ट इन्डिया कम्पनी सरकारले सैनिक सहायता पठाउने निश्चित भयो।

कम्पनी सरकारको सिलेक्ट कमिटीले त्यसबेला भर्खरै भारतको टिपराका राजाविरुद्ध सफल सैनिक कारवाही गरेर फर्किएका कप्तान जर्ज किनलक नेतृत्वको सैन्य टुकडीलाई मुंगेर भएर पटना पुग्न आदेश दियो। उनलाई पटनामा रम्बोल्डबाट आवश्यक निर्देशन, बाटो, रसदबारे निर्देशन पाउने भनिएको थियो। आदेशअनुसार किनलक पटना पुगे र रम्बोल्डसंँग भेट गरेर सैनिक दल लिएर काठमाडौं उपत्यकातिर प्रस्थानका लागि तयारीमा लागे। 

प्रथमतः किनलकले काठमाडौं उपत्यका पुग्ने बाटो र गोर्खाली सेनाको संख्या, हतियार, युद्ध क्षमताबारे सूचनाहरु संकलन गरे। किनलकले पाएको सूचनामा गोर्खासंँग जम्मा ५० हजार सैनिक रहेका, २० हजारले उपत्यकालाई घेरा दिएका र बांँकी ३० हजार खेतीपातीमा लागेकाले युद्धका बेला मात्र जम्मा हुने, गोर्खाली सेनासंँग धनुकांँड, भाला, तरबार, भरुवा बन्दुक रहेको उल्लेख थियो। किनलकलाई सूचना उपलव्ध गराउने जयप्रकाश मल्लका दूत मुख्तार उम्दा थिए। उनले गोर्खासँंग धेरै सैनिक रहेको बताएर कम्पनीका धेरै सैनिक काठमाडौं पठाउने रणनीति बनाएको हुन सक्ने इतिहासकारहरुको अनुमान छ।

मुख्तार उम्दाको सूचना अनुसार किनलकले पटनाबाट पनौतीसम्मको ९६ कोश बाटोको यात्रामार्ग र वासहरु यसप्रकार तय गरेका थिए– हाजिपुर, दरभंगा, बबाहा, जनकपुर, जेलादवास, रानीवास, सिन्धुली, खुर्काेट, झाँगाझोली, दाप्चा, पनौती हुँदै उपत्यकाभित्र प्रवेश गर्ने। 

किनलकले केही वाससम्म कुल्लीमार्फत् बोकाएर रसद ल्याएका थिए। उनले २४ सय सैनिकलाई १८ साना समूहमा बांँडेका थिए। केही तोप र आधुनिक बन्दुकसहितको अंग्रेज फौज अगस्ट महिनामा पटनाबाट प्रस्थान गरेको थियो। यता पृथ्वीनारायणले अंग्रेज सैनिक आउन सक्ने सम्भावित मार्गमा सैनिकमार्फत् बस्तीलाई बाटोबाट टाढा सार्ने, गढी र चौकीमा भएका सैनिकले ती सैन्य पोस्ट खाली गर्ने, शत्रु सैनिकलाई रसद र पानीको समस्या पारिदिने, सिन्धुलीको पौवागढीभन्दा माथिको उकालोतिर पुग्दा झुक्याएर पछाडिबाट र बीचबाट एकैपटक आक्रमण गरी ध्वस्त पारिदिने गोप्य तयारी गरिसकेका थिए। पृथ्वीनारायण र उनका सैनिक कमाण्डरले शत्रु सेनालाई आफू हारेजस्तो गरेर सैनिक चौकी खाली गरिदिने, हौसिँदै अघि बढेको दुष्मनलाई आफ्नो अनुकूल स्थल (गढी) मा आएपछि झुक्याएर सशक्त प्रहार गरेर छिन्नभिन्न पारिदिने रणनीति अपनाएका थिए। 

गोर्खाली सेनाले नेपाल भूमिमा अंग्रेज सेना प्रवेश गरेपछि कीर्तिपुरमा रहेका पृथ्वीनारायणलाई सूचना दिने हुलाकी व्यवस्था मिलाएको थियो। युद्धका लागि छनौट गरिएका सैनिकलाई तालिम, हतियार, स्थानीयबाट सहयोग लिने, उनीहरुलाई परिचालन गर्ने रणनीति बनाउन सेनानायकहरु केही समयअघिदेखि नै गढीमा बसेर तयारी गरिरहेका थिए। यसका लागि अप्रिल महिनामा नै काजी वंशराज पाँडे करिब ७ सय सैनिकसहित सिन्धुली पुगेका थिए भने केही दिनपछि सिकारी सरदार वंशु गुरुङ र खजान्ची वीरभद्र उपाध्याय धुलिखेल, दुम्जादेखि झांँगाझोलीसम्मका सैनिक जम्मा गरेर युद्ध तयारी गर्न सिन्धुली पुगेका थिए। 

पृथ्वीनारायण शाहले अंग्रेज सेना सिन्धुली वा हरिहरपुरगढीतर्फबाट काठमाडौं उपत्यका प्रवेश गर्न सक्ने अनुमान गरेर त्यता पनि सैनिक चौकीमा तयारी गरेका थिए।

पटनाबाट हिँडेको अंग्रेज सेना बिनारोकतोक सिन्धुली पुगेको थियो। दिनेशराज पन्तले वि.सं. १८२४ असोज ९ गते चतुर्दशी सोमबार अंग्रेजले सिन्धुली जितेको उल्लेख गरेका छन्। सिन्धुलीमाडीमा गोर्खाली सेनाले रणनीतिकरुपमा सैनिक चौकी खाली गरिदिएका थिए। यस दिन सिन्धुलीमाडीमा युद्ध भएको थिएन। यो दिन सिन्धुलीमाडीमा अंग्रेज सैनिक आइपुगेको तथ्यचाहिँ अवगत हुन्छ।

किनलक नेतृत्वको सैनिकमा शत्रुको कत्ति पनि डर थिएन। वर्षाको समय र खोला बढेका कारण त समस्या भएकै थियो, गोर्खालीले बाटोमा रसदको समस्या पनि बनाइदिएको थियो। तर पनि केही आफ्नो साथमा ल्याएको र केही गाउँंतिरबाट संकलन गरेर रसदको समस्या समाधान गर्दै किनलकका सैनिक अघि बढे। साथमा रहेका जयप्रकाश मल्लका दूतले हरेक वासमा अब पछिल्लो वासपछि पर्याप्त रसद पाउने बताएर झुक्याउँदै अघि बढेका थिए। 

किनलकका सैनिकहरु सिन्धुलीमा वास बसेर हिँडेपछि अर्काे वास खुर्काेटमा बस्ने योजना थियो। शत्रु पौवागढीको उकालोमा आउन्जेल गोर्खाली सैनिक लुकेर बसिरहे। ढुंग्रेवासको जंगलमा सिकारी सरदार वंशु गुरुङ र काजी श्रीहर्ष पन्तको नेतृत्वमा लुकेर बसेको गोर्खाली फौज पछाडिबाट शत्रुको ढाड हान्न तयार थियो। मुख्य गढीतर्फ काजी वंशराज पांँडे र खजान्ची वीरभद्र उपाध्याय नेतृत्वमा आक्रमणका लागि तयार अर्काे सैनिक दल लुकेर बसेको थियो। 

अंग्रेज सैनिकहरु बिहानको खाना सिन्धुलीमाडीमा खाएर बन्दोबस्तीका सामान बोकेका भरिया अगाडि लगाएर पछिपछि उकालो चढ्न थालेका थिए। सबैभन्दा अगाडि अंग्रेज सेनाका अधिकृत हार्डी थिए। अंग्रेज फौजले पौवागढीको उकालो पार गरेपछि अचानक माथिबाट वंशराज पाँडे र वीरभद्र उपाध्याय नेतृत्वका सैनिकले आक्रमण गरिदिए। तत्कालै पछाडिबाट सिकारी सरदार वंशु गुरुङ र काजी श्रीहर्ष पन्तको टोलीले पनि सशक्त आक्रमण गर्‍यो । अंग्रेज सेनाको भागाभाग हुनथाल्यो। चेपुवामा परेका अंग्रेज सैनिक केहीबेर लडे तर टिक्न सकेनन्। उनीहरु हतियार र झोलाहरु छाडेर ज्यान बचाउन भाग्न थाले।

भागेका सैनिकलाई लखेटेर गोर्खाली सैनिकले खुकुरी र तरबारले काटे, मारे। पछाडि रहेका किनलक दक्षिणतर्फ फर्किएर समथर भूभागमा पुगी बांँचेर फर्किएका सैनिक जम्मा गर्न थाले।

त्यस युद्धमा गोर्खालीतर्फ ५–६ सय र अंग्रेजतर्फ १६ सय सैनिक हताहत भएको बाबुराम आचार्यलाई उदृत गर्दै ‘नेपालको सैनिक इतिहास’मा उल्लेख गरिएको छ। 

गोर्खाली सैनिकले अंग्रेज सेनाले ल्याएका तोप र केही थान आधुनिक बन्दुक खोसेका थिए। 

बाबुराम आचार्यका अनुसार, गोर्खाली सेनाले पौवागढीमा अंग्रेज सेनालाई पराजित गरेको ठ्याक्कै तिथिमिति भेटिएको छैन। सन् १७६७ को २० सेप्टेम्बरका दिन कप्तान किनलक बांँचेका र भेटिएका सैनिक लिएर बाग्मतीको खुंँडाघाट पुगे।

गोदार थापाले जिताएको युद्ध
पृथ्वीनारायण शाहले वि.सं. १८१९ असोजमा सिन्धुलीगढी अधीनमा लिएपछि जसराम थापा र चम्पसिंह गोदार थापालाई सिन्धुली आधा–आधा बांँडी खानू भनी हुकुम बक्स भई बसोवासका लागि जग्गा दिएको तथ्य माथि प्रकाश भइसकेको छ। यसबाट सिन्धुलीगढीमा गोर्खाली सेनासंँग अंग्रेज सेनाको लडाइँ हुनुभन्दा पांँच वर्षभन्दा अघिदेखि सिन्धुलीगढी वरपरको इलाकामा गोदार थापाहरुले गोर्खा सरकारको अधीन भूभागमा रहेर गोर्खाली सेनालाई सहायता गरिरहेको देखिन्छ।

सिन्धुलीगढीमा गोर्खाली सेनासंँग पराजित भएपछि केही समय नेपालकै दक्षिण तराईको बारा, पर्सा, रौतहट आसपास भूभागमा सैनिक छाउनी बनाएर, गोर्खाविरुद्ध थप सैनिक सहयोग मागेर, पुनः युद्ध गर्ने उद्देश्यले बसेका कप्तान किनलक अन्ततः भारत फर्किएका थिए। धेरैपछि उनको डायरी प्रकाशित भएको थियो।

किनलकको डायरीमा ‘सिन्धुलीमा गोर्खाली सेनाका (किल्लेदार) ठानेदारका रुपमा कार्यरत चम्पनसिंह गोदार थापा अंग्रेजहरुले हमला गर्छन् भन्ने सूचना पाएपछि सक्रिय भएर बाटो, गाउँंतिरबाट पैदल यात्री र अन्यत्रबाट खबर संकलन गर्दथे र पाएका सूचना गोर्खालीसमक्ष पुर्याउँंदथे भनी लेखेका छन्।

सिन्धुलीगढीबाट उत्तरतर्फ पर्ने खनियाँखर्क (हाल गोलन्जोर गाउंँपालिका वडा नं. ५) मा विगत १३ पुस्तादेखि बसोवास गर्दै आएका कश्यप गोत्रका गोदार थापाहरुको वंश (पुस्तावली उतार) बारे गरिएको खोजसम्बन्धी पुस्तक ‘गोदारथापा वंशपरिचय, भाग १’ मा सिन्धुलीगढीमा अंग्रेजसंँग भएको युद्धमा वीरगति पाउने गोदारथापाहरु बखतसिंह र दौलतसिंह पनि थिए भन्ने उल्लेख छ। यीबाहेक सो युद्धमा सिन्धुलीको काँंशीखर्क बस्ने गोदार थापाका एकै घरका तीन भाइ ‘खेत’ गएको कुरा सुन्न पाइन्छ।

उक्त युद्धमा सिन्धुलीमा बसोवास गर्ने मगर, तामाङ, ठकुरीलगायत समुदायका युवाको पनि योगदान रहेको थियो।

सिन्धुलीगढी युद्धका २ सन्देश
सिन्धुलीगढीमा भएको गोर्खा–अंग्रेज युद्धले नेपाल र युरोप–अमेरिकालाई समेत केही सन्देश दिएको थियो, जसको प्रभाव आज पनि छ। 

पहिलो सन्देश– नेपाल पुनःएकीकरण अभियानको कोशेढुंगा
यदि सिन्धुलीगढीमा किनलक नेतृत्वको अंग्रेज फौज लाई गोर्खाली सेनाले आक्रमण नगरी उपत्यका प्रवेश गर्न दिएको भए उपत्यकाभित्र हराउन मुस्किल पर्थ्यो। आधुनिक तालिम र स्वचालित बन्दुक, तोपसहितका हतियारले सज्जित अंग्रेज सैनिक भारतका विभिन्न राज्यका सशस्त्र आधुनिक सैनिकविरुद्धको युद्धमा विजयी हुन सफल युद्ध अनुभवी थिए।

अंग्रेज सेनाको साथ पाएको भए उपत्यकाका मल्ल राज्यलाई गोर्खाली सेनाले विजय गर्न सम्भव थिएन। उपत्यका विजयबिना गोर्खा राज्य केही ठूलो त हुने थियो तर नेपाल पुनःएकीकरण अभियान अघि बढ्न सक्दैनथ्यो। आजको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विशाल नेपाल निर्माण असम्भव हुन्थ्यो। त्यसैले सिन्धुलीगढीको सो युद्ध नेपाल पुनःएकीकरण अभियानको कोशेढुंगा बन्यो।

दोस्रो सन्देश– अमेरिकी स्वतन्त्रता युद्धमा सिन्धुलीगढीयुद्धको प्रभाव
सन् १७६७ को सेप्टेम्बरमा गोर्खा–अंग्रेजबीच सिन्धुलीगढीमा युद्ध भएको थियो। त्यस समयमा हालको संयुक्त राज्य अमेरिका बेलायतको उपनिवेश थियो। अमेरिकीहरु बेलायती अधीनताविरुद्ध संघर्षरत थिए तर शक्तिशाली बेलायतिमाथि सफलता मिल्न सकेको थिएन। फ्रान्सेलीहरु भारत र अमेरिकामा बेलायती सेनासँग पराजित भएकोले भित्रभित्र स्वतन्त्रताप्रेमी अमेरिकीलाई सहयोग गर्न चाहन्थे तर अनुकूल परिस्थिति बनेको थिएन। 

यही परिवेशमा बंगालको उत्तरतर्फको एक पहाडी जाति गोर्खाले संसारकै शक्तिशाली बेलायती सेनालाई पराजित गरिदिएको समाचार फैलियो। फ्रान्सका एक घुमक्कड सैनिकमार्फत् अमेरिकी स्वतन्त्रताका लागि संघर्षरत योद्धाहरुले यो कुरा थाहा पाए।

त्यसपछि अमेरिकी स्वतन्त्रताका लागि समर्पित अभियन्ता थमस पायनले इन्डियाको बंगालको उत्तरतर्फको गोर्खा भन्ने पहाडी जातिसँग सिन्धुलीगढीमा भएको युद्धमा बेलायतको इस्ट इण्डिया कम्पनीको सेना पराजित भएकाले अब बेलायतीहरुको पतन सुरु भयो भन्ने उद्धरण गरिएको पर्चा प्रकाशन गरे। यसबाट अमेरिकी स्वतन्त्रताका लागि लडिरहेका सैनिकको मनोबल उच्च भयो। 

सिन्धुलीगढीको युद्धमा इस्ट इन्डिया कम्पनीका सैनिक पराजित भएर अमेरिकी स्वतन्त्रता अभियानमा समर्पित सैनिक र अभियन्ताहरुको मनोबल उच्च बनेको सन्दर्भ भारतका प्रसिद्ध इतिहास लेखक रामशरण शर्माले आफ्नो पुस्तक  ‘द ओरिजिन अफ स्टेट अफ इन्डिया’मा उल्लेख गरेका छन्।

अन्त्यमा
नेपाल एकीकरण अभियानका सिलसिलामा नेपालभित्रका स–साना राज्यका सेनाविरुद्ध र विदेशी सेनासँग भएका युद्धमा नेपाली भूमिमा बसोवास गर्ने धेरै जाति र थरको प्रत्यक्ष-परोक्ष योगदान थियो। ती फरक जाति र थरका मानिसको कतिपय योगदान आज पनि ओझेलमा छन्। यसबारे सत्यतथ्य खोजी गरी प्रकाशमा ल्याउने दायित्व सेना र राज्यको हो।

(थापा नेपाली सेनाका अवकाशप्राप्त सुबेदार हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .