राजनीति


श्रमिक मुद्दा ओझेलमा पर्दै गयो : योगेश भट्टराई

श्रमिक मुद्दा ओझेलमा पर्दै गयो : योगेश भट्टराई

नेपालखबर
भदौ १७, २०८० आइतबार २०:२९, महोत्तरी

नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले श्रमिक र भूमिहीनका मुद्दा ओझेलिँदै गएको बताएका छन्। 

भूमिअधिकार तथा श्रमिक सङ्गठन, नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको आज बर्दिबास–४ माईस्थानमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सङ्घर्षका माध्यमले श्रमिक र भूमिहीनका मुद्दा दर्विलो ढङ्गले उजागर गर्न आवश्यक रहेको बताए।

पूर्वमन्त्री एवं एमालेको मधेस प्रदेश इञ्चार्जसमेत रहेका सचिव भट्टराईले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले भूमिहीन समस्या समाधानका लागि ठोस प्रयत्न थालेको उल्लेख गरे। 

‘त्यतिखेर २०५१ सालमा यसका लागि समाधानमुखी प्रयत्न थालियो, तर छोटो समयको मनमोहन नेतृत्वको सरकारले काम फत्ते गर्न भ्याएन’, भट्टराईले भने, ‘त्यसयता पनि विभिन्न नाउँमा भूमि आयोग त बने, तर परिणामभन्दा राजनीतिक नियुक्तिको जागिरको थलोमात्र देखियो।’

श्रमिक र भूमिहीनका समस्याको समुचित सम्बोधनका लागि फेरि एमाले नेतृत्वको सरकार नै बन्नुपर्ने उनको भनाइ थियो ।

अधिवेशनमा सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुञ्जबहादुर खड्का र महासचिव इन्द्र तामाङसहितका वक्ताले वर्तमान संविधानको प्रस्तावनामै समाजवादउन्मुख उल्लेख भए पनि सरकारका प्रयत्न त्यस दिशामा अघि नबढेका गुनासो गरे।

सङ्गठनको मधेस प्रदेशका निवर्तमान कार्यवाहक अध्यक्ष शारद पोखरेलको अध्यक्षतामा सम्पन्न दोस्रो मधेस प्रदेश अधिवेशनले सत्यनारायण यादवको अध्यक्षतामा ४५ सदस्यीय मधेस प्रदेश समिति सर्वसम्मत चयन गरेको छ।

जसमा उपाध्यक्षद्वमा बलबहादुर बस्नेत र सुनिता लोहनी, सचिवमा प्रदीपकुमार लामा, उपसचिवद्वयमा जगदीश यादव र कमल राना एवम् कोषाध्यक्षमा मीनाकुमारी महरालाई पदाधिकारीको जिम्मेवारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad