राजनीति


संसद्को अवरोध हटाउन एमालेलाई दबाब, रास्वपा र राप्रपा पनि खुल्नुपर्ने पक्षमा

संसद्को अवरोध हटाउन एमालेलाई दबाब, रास्वपा र राप्रपा पनि खुल्नुपर्ने पक्षमा

फाइल तस्बिर


सागर न्यौपाने
भदौ ३, २०८० आइतबार २१:३४, काठमाडौँ

‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन,’ शनिबार धुलिखेलमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले भने, ‘राजनीतिक रुपमा गरिने हुनाले यसको पुनर्पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो।’ 

हङकङ हुँदै साउन ३ गते नेपाल भित्रिएको ६० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि  संसद चल्न दिएको छैन।

तर, एमाले उपाध्यक्ष नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको सार्वजनिक अभिव्यक्ति किन दिए? खुलेको छैन। 

तर, निरन्तर गरिएको संसद अवरोधले जनताले झेलेका समस्याबारे छलफल हुन नपाएको गुनासो सर्वसाधारणको  छ।

सरकारले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा दिएको छ।

साउन ३ गते सिनामंगल क्षेत्रबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर छानबिन गरेको १७ दिनपछि फाइलन सीआईबीलाई जिम्मा लगाएको थियो। सीआईबीले थप ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

तर, एमालेले उच्चस्तरीय समिति माग गर्दै संसद् चल्न नदिएपछि केही महत्वपूर्ण विधेयकहरु रोकिएका छन्। 

नेम्वाङको संकेत यही विषयतिर देखिन्छ। त्यो भनेको एमालेभित्रै लामो समय संसद बन्धक बनाउनु हुँदैन भन्ने आवाज उठ्न थालेको हुन सक्छ।

त्यतिमात्रै होइन, एमालेसँगै विगतमा एकै ठाउँमा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी 

(राप्रपा) पनि संसद अवरोधप्रति असन्तुष्ट देखिन्छन्।

रास्वपाका सभापति रवि लामिछानेले एमाले मात्रै होइन, सभामुख देवराज घिमिरेप्रति प्रश्न उठाए।

साउन १९ गते संसदमा सभामुखले बोल्न नदिएर संसद ‘हाइज्याक’ गरेको र सभामुख नै दलका बनेको आरोप लगाएका थिए।

सभामुखले संसद्मा खेलेको भूमिकाप्रति अन्य दल असन्तुष्ट छन्। आइतबार सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निकाल्न सकेनन्।  

आइतबार बसेको सर्वदलीय बैठक। तस्बिर : प्रदीपराज वन्त

लगत्तै प्रधानमन्त्री प्रचण्डले आइतबार नै संसदमा रहेका राष्ट्रिय दलहरुको बैठक राखे।

मध्यान्ह साढे १२ बजेपछि बसेको बैठकमा रास्वपा, राप्रपा, कांग्रेस, माओवादी, जनमत लगायतका दल संसद खुलाउनपर्ने पक्षमा उभिएका छन्। 

जनताको समस्या राख्ने थलो बन्द गर्न नहुने भन्दै प्रधानमन्त्रीले जसरी पनि संसद् खोल्न एमालेलाई आग्रह गरे।

उपस्थित दलहरु संसदमै बोलेर आफ्ना कुरा राख्नुपर्ने पक्षमा उभिएपछि एमालेमाथि संसद खोल्न दबाब बढेको छ।

सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानवीन निष्कर्षमा पुगेर प्रतिवेदन नबुझाई अनुसन्धान प्रभावित पार्न नहुने कुरामा एमालेबाहेक दल एकै ठाउँमा उभिएका छन्।

‘रवि लामिछाने, राजेन्द्र लिङदेनजीहरु पनि संसद खोलेर जानुपर्ने भन्नेमा उभिनुभएको छ, अब अवरोध हट्ने सम्भावना बढेको छ,’ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नेपालखबरसँग भने, ‘भोलि निकास निस्कने निर्णय हुनसक्छ।’

आइतबारको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली उपस्थित भएका थिएनन्। 

ओली उपस्थित नभएकैले सोमबार (भदौ ४) अपरान्ह ४ बजे फेरि सर्वदलीय बैठक राखिएको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आइतबारको बैठकले सदनको गतिरोध हटाउने गरी सकारात्मक छलफल भएको छ। 

‘भित्री कुरा, इस्युबारे छलफल भएको छ, आफ्ना दलभित्र व्यापक छलफल गरेर भोलि ४ बजे फेरि बैठक बस्छौँ,’ नेम्वाङले नेपालखबरसँग भने, ‘सदन एक सेकेण्ड पनि अवरोध हुनुहुँदैन, जनताको समस्या राख्ने थलो रोकिनु हुँदैन भन्ने प्रधानमन्त्रीको लाइनअनुसार छलफल पोजिटिभ छ।’

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनले पनि भोलि संसदको गतिरोध हट्न सक्ने बताए।

प्रतिनिधि सभाको बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने तय भएको छ। 

यद्यपि, आइतबारको सर्वदलीय बैठकमा उपस्थित नभएका एमाले अध्यक्ष ओली सोमबार उपस्थित नभए निष्कर्ष निस्किने सम्भावना कम छ।

तर, अब धेरै समय संसद् अवरोध जारी राख्न नहुने एमालेमाथि दबाब बढ्दैछ।  

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो। अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ।’

उनले शनिबार धुलिखेलमा संसद् र सञ्चार सम्बन्ध विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै संसद गतिरोध हटाउन एमालेलाई घुमाउरो शैलीमा दबाब दिएका हुन्।

संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले पनि अग्रसरता लिएका छन्। 

उनले मंगलबार विहान साढे ८ बजेलाई संसदमा प्रतिनिधित्व गर्नेहरुको सर्वदलीय बैठक बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .