राजनीति


अधिकांश केन्द्रीय सदस्य सभापतिको बचाउमा उत्रिएपछि रक्षात्मक भए कांग्रेसका महामन्त्रीद्वय

अधिकांश केन्द्रीय सदस्य सभापतिको बचाउमा उत्रिएपछि रक्षात्मक भए कांग्रेसका महामन्त्रीद्वय

सागर न्यौपाने
साउन ९, २०८० मंगलबार २१:२, काठमाडौँ

११ महिनापछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन सभापति शेरबहादुर देउवालाई चुनौती दिने खालको थियो। 

पहिलो पटक बैठक प्रत्यक्ष प्रसारण गरेका देउवालाई महामन्त्री थापाले पावर प्वाइन्टबाटै संगठन कसरी व्यवस्थित बनाउने र पार्टी सञ्चालन गर्ने भनेर एक वर्षे कार्यतालिका देखाइदिए। 

धुम्बाराही निवासबाटै पार्टी चलाइरहेका देउवाका लागि महामन्त्री थापाले पार्टी चलाउन सानेपा पुग्नुपर्ने बाध्यात्मक व्यवस्था अघि सारेका थिए। 

उनको प्रस्ताव निर्णय गरेर कार्यान्वयनमा लैजान सके सभापति देउवा होइन, महामन्त्री थापा पार्टीमा हाबी हुने प्रष्ट देखिन्छ। कांग्रेस विधान अनुसार अहिले पार्टी चलेको थिएन। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक झण्डै एक वर्ष बस्न सकेको थिएन। भ्रातृ र शुभेच्छुक संगठनमा नेतृत्व छैनन्। भएकाहरु पनि अपूर्ण छन्।

नेताहरु के कार्यक्रम लिएर गाउँ जाने, अन्योलमै छन्। अर्थात् कांग्रेस भद्रगोल भएर चलिरहेको छ।

यसको समाधान गर्ने उपायसहित थापाले ल्याएका दुरगामी महत्वका कार्यक्रमले केन्द्रीय कार्यसमिति सदस्यहरुको मन जित्नुपर्ने हो। पार्टीलाई किसानसँग जोड्ने, नेताहरु पार्टी काममै केन्द्रित हुनुपर्ने, नेतालाई बौद्धिक बनाउने कार्यक्रमहरु उनले अघि सारेका थिए।

केन्द्रीय सदस्यहरुले महामन्त्री थापालाई साथ दिँदै पार्टीलाई फाइदा गर्ने यस्तो योजना कार्यान्वयनका लागि सभापति देउवालाई दबाब दिनुपर्ने हो।

तर, त्यसो भएन। 

३ गतेदेखि सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको एजेन्डा र महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमाथि साउन ४ गतेदेखि केन्द्रीय सदस्यले बोल्न सुरु गरेका थिए।

तर, अधिकांश नेताहरु सभापतिको बचाउमा उत्रिए। शक्तिशाली प्रतिवेदन ल्याए पनि थापाको योजनालाई थोरै नेताले मात्र समर्थन गरे।  

बढीजसो केन्द्रीय सदस्यले देउवाको बचाउ र महामन्त्रीद्वयको आलोचनामा अधिकांश समय खर्च गरे। 

केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री ‘चरी जेलैको’ अवस्थामा रहेको बताए। 

‘महामन्त्रीलाई बबुरा देखिरहेको छु। विधानले केही काम गर्न दिने रहेनछ,’ स्नेहीले भने, ‘चरी जेलैमा जस्तो।’

गण्डकीका मुख्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्रीले सभापतिलाई चुनौती दिन नसक्ने ठोकुवा गरे। 

‘नकारात्मक भ्रम फैलिने गरी अतिरञ्जित नगरौं। शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ,’ उनले भने, ‘पाण्डे पनि डुब्छ। सबै एउटै डुंगामा छौं। यो डुंगालाई पार लाउन कठिन छ।’

केन्द्रीय सदस्य सीतादेवी देवकोटाले देउवाको बचाउ मात्रै गरिनन्, चेतावनी नै दिइन्। 

‘सभापति व्यक्ति होइन, संस्था हो। सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ।’

केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति र महामन्त्रीबीच द्वन्द्व बढेको बताए। 

‘महामन्त्री एउटा क्याम्पमा सभापति अर्काे क्याम्पमा जस्तो गरी बहस गरिरहेका छौँ, यो कार्यसमितिको एजेन्डा यही हो?’ केसीले भने, ‘सभापति र महामन्त्रीको द्वन्द्व बढाउनेगरी जुन रुपमा यहाँ प्रस्तुत गरियो, सन्देश राम्रो गएको छैन।’

स्वास्थ्यमन्त्री समेत रहेका मोहन बस्नेतले महामन्त्री थापालाई गुटले नपत्याएको युवा नेता भनेर टिप्पणी गरे।

‘सबै गुटले नपत्याउने भएपछि गुट चाहिन्न भनिएको छ। फाइदा लिने, अनि कसैले पनि नपत्याएपछि गुट चाहिँदैन भन्ने,’ बस्नेतले भने, ‘कांग्रेस कमजोर बनाउने काम निश्चित व्यक्तिहरुबाट भएको छ। त्यसमा युवाको कुरा उठेको छ। युवा मै हुनुपर्ने, अरु नभए नहुने?’

केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि देउवाकै पक्षमा उभिए। 

‘महामन्त्री थापालाई सुझाव, संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए हुन्छ,’ रिजालले भने, ‘सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस् महामन्त्रीको पनि चाहना त्यही हो। अब २०८४ पछि मज्जैले अगाडि लैजान सक्ने बनाऔं। सभापति र महामन्त्रीको ध्यान एकैतर्फ लगाऔं।’

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले त दुई महामन्त्रीको लोकप्रियता घटेको घोषणा गरिदिए।

‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ,’ उनले भने, ‘सिनियर लिडरसिपकै लोकप्रियता बढेको छ। बढ्नेले कायम राख्ने, घट्नेले बढाउनुपर्छ।’ 

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीकै विकल्प खोज्ने चुनौती दिइन्, ‘सभापति संस्था हो। हिजो अरु कोही हुनुहुन्थ्यो, आज देउवा हुनुहुन्छ। महामन्त्री र अरु नेताहरु सभापति खराब र अनिर्णयको बन्दी, तर हामी असल भन्दै हुनुहुन्छ।’

‘हाम्रा महामन्त्रीहरुले कांग्रेस नयाँ बनाउने सपना देखेका छन्, तर महामन्त्रीहरुले दायरा फराकिलो बनाउन सकेनन् भने हामी विकल्प खोज्न तयार छौँ,’ उनले थपिन्।

केन्द्रीय सदस्य नैनसिंह महरले सभापति, उपसभापति, महामन्त्री लगायत पदाधिकारीको धारणा फरकफरक आउँदा कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको बताए।

‘केन्द्रीय समिति, संसदीय दल र सरकार÷प्रदेश समिति तथा स्थानीय तहका बीच ठूलो खाडल देखिन्छ,’ उनले भने, ‘संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ।’

नेता विमलेन्द्र निधिले पार्टीको नीति नयाँ बनाउनुपर्ने मत राखे। उनको मत पनि देउवाकै पक्षमा थियो।

‘पार्टीमा आज व्यक्ति र नाम परिवर्तन भन्दा पनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ,’ उनले भने, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदनुकुलको दृष्टिकोण परिवर्तनका लागि हामी तयार हुनुपर्छ।’

केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि महामन्त्रीप्रति नै असन्तुष्टि जनाए। 

‘आफैँभित्र चर्का कुरा गर्छौँ। गुटलाई प्रश्रय दिन्छौँ,’ खतिवडाले भने, ‘एकले अर्काेलाई आलोचना गरेर महान बन्न खोज्छौँ।’

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सभापतिको काममा महामन्त्री चुप लागेकोप्रति कडा प्रतिवाद गरे।

‘तपाईं महामन्त्री टुलुटुलु के हेरेर बसेको?’ उनले भने, ‘सय जनाको कमिटी जिल्लाले बनाउँछ, त्यसो हो भने शेरबहादुरजीले केन्द्रमा चार सय जनाको बनाए भयो नि त।’

नेता राधा घलेले पार्टीभित्र व्यक्ति बलियो बन्ने अभ्यास भइरहेको बताइन्। 

‘रुपान्तरणको पक्षमा हामी पनि छौं। नेपाली कांग्रेसलाई बलियो बनाउनुभन्दा पनि व्यक्तिव्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि?’ उनले प्रश्न गरिन्।  

केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति र महामन्त्री दुवैको पक्ष लिएनन्। 

‘संसदमा कांग्रेस पार्र्टीभित्र अपेक्षित ऊर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रोसामु छ,’ उनले भने, ‘हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारबाट मात्रै आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीबाट पनि चुनौतीको घेरामा छ।’

उपसभापति धनराज गुरुङले सभापतिलाई बदल्न नसक्ने भन्दै आफैँ बदलिने घोषणा गरे। 

‘कतिले मलाई गाली पनि गर्छन् नेता बदल्ने कुरा गर,’ गुरुङले सोमबार नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै भने, ‘७५÷७६ वर्षको सभापतिलाई बदलिनुस् भन्न सक्दिनँ, अब सभापतिलाई बदल्ने भन्दा पहिला म आफँै बदलिनु पर्छ भन्ने मलाई राम्रैसँग थाहा छ।’

‘पार्टीलाई जुरुक्क उठाएर जनताको कांग्रेस बनाउने अभियानमा लाग्दै गर्दा म बदलिन्छु, बदलिने प्रयास गरिराखेको छु, कति बदलिन सक्छु, सक्दिनँ थाहा छैन,’ उनले भने।

केन्द्रीय सदस्यहरुको साथ नपाएपछि महामन्त्रीद्वय केही हदसम्म रक्षात्मक बन्नुपरेको थियो। उनीहरु पहिलेजसरी आक्रामक रुपमा प्रस्तुत भएनन्। सोमबार उनीहरुले (८ साउन) नेताहरुले उठाएको प्रश्नको जवाफ उनीहरुले दिएका थिए।

महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले देउवालाई गाली नगरेको स्पष्टीकरण दिए।

‘सभापतिलाई  महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ। आलोचना र गालीबीच फरक छ साथी हो,’ उनले भने, ‘आलोचना गर्दा सभापति देउवा रिसाउनुहुन्न तर साथीहरू सभापतिलाई गाली गर्‍यो भन्नुहुन्छ।’

महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आफूहरुलाई सहभागी नगराइएको गुनासो गर्दै केन्द्रीय सदस्यहरुले गरेको आलोचना स्वीकारे। उनले आफूहरुले पार्टीको हितका लागि काम गरिरहेको उनले बताए। संसदीय दलको नेता फेर्न भने लागिरहने उनको अडान थियो।

‘मैले पार्टी फुटाउने कुरा गरेको हो र? मैले त दलको नेता फेर्ने कुरा गरेको हो। सभापतिज्युलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरि बस्ने साथीलाई चिन्तित बनाएको छ,’ महामन्त्री थापाले थपे, ‘धेरै चिन्ता गर्नुपर्दैन। म बदल्न लागिरहन्छु, सके फेर्छु। नसके मान्छु, मानिरहेकै छु। कसैले नसोध्नुहोला अब।’ 

उनले ठट्टामिश्रित लवजमा पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले अब अरुलाई अघि सार्नुपर्ने पनि बताए। 

‘सभापतिज्युले ल यार पाँच पटक भइसकेँ, छैटौँ पटक किन हुने? को हुने हो अघि आऊ भनिदिनुहुन्छ कि? राम्रै हो। म हुनुपर्छ भन्ने छैन। जो भएपनि हुन्छ,’ उनले भने।

सभापति देउवाले जवाफ दिएपछि कांग्रेसको बुधबार बैठक सक्ने तयारी छ। सात दिनसम्म चलेको बैठकले के कस्ता निर्णय गर्ला, अझै निश्चित भइसकेको छैन।

तर, केन्द्रीय सदस्य आफ्नै पक्षमा खुलेबाट देउवा उत्साहित देखिएका छन्। उनले मंगलबार पनि पदाधिकारीलाई धुम्बाराही निवासमा बोलाएर छलफल गरे।

थोरै बोल्ने देउवा रणनीतिमा माहिर छन्। तर, पार्टीलाई नयाँ ढंगले अघि बढाउन खोजेका महामन्त्रीद्वयले भने अझै मेहनत गर्नुपर्ने शिक्षा दिएको नेताहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .