राजनीति


पार्टी संरचनाको अभ्यास गर्दै समाजवादी मोर्चा

केन्द्रदेखि जिल्लासम्मै कमिटीगत अभ्यास गरिने
पार्टी संरचनाको अभ्यास गर्दै समाजवादी मोर्चा

फाइल तस्बिर


सागर न्यौपाने
असार ३१, २०८० आइतबार २०:४९, काठमाडौँ

गत असार ४ गते घोषणा गरिएको समाजवादी मोर्चाले पार्टी सञ्चालनकै अभ्यास गर्नेगरी संरचना तय गरेको छ। 

सत्तारुढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले समाजवादी यात्रा तय गर्न असार ४ गते मोर्चा घोषणा गरेका थिए। 

त्यही मोर्चाले नयाँ पार्टीेकै संरचना बनाएर संगठन विस्तार थालेको हो।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार केन्द्र, प्रदेश र जिल्ला संरचना बनाएर मोर्चाले आगामी कार्यक्रम तय गरेको छ।

‘समाजवादी मोर्चा नयाँ पोलिटिकल कोर्स हो,’ विश्वकर्माले भने, ‘यसले संसदीय व्यवस्था र अहिलेको विभिन्न सिस्टमले ल्याएको समस्याबाट माथि उठेर देशलाई नयाँ गन्तव्यमा लैजाने योजना ल्याउँछ।’ 

केन्द्रमा चार दलबाट ४–४ नेता रहने गरी १६ सदस्यीय केन्द्रीय समिति बनाइएको छ। 

समितिमा चारै दलका अध्यक्ष-शीर्ष नेता र महासचिव रहने छन्। 

यस्तै प्रदेश समितिमा चार दलबाट अध्यक्ष, महासचिव समेट्ने गरी तीन–तीन जना नेता रहेको १२ सदस्यीय समिति बनाइएको छ। 

जिल्ला संरचनाका लागि चारै दलबाट अध्यक्ष र सचिव २–२ जना नेता रहने गरी ८ सदस्यीय समिति बनाइएको विश्वकर्माले बताए।

मोर्चाले केन्द्र, प्रदेश र जिल्ला तहसम्मै चार–चार महिनामा नेतृत्व परिवर्तनको मोडालिटी बनाएको छ। 

‘केन्द्रमा सुरुको चार महिना माधव नेपालजीले नेतृत्व गर्नुहुन्छ, उहाँकै नेतृत्वमा दुई पटक मोर्चाको बैठक बसिसकेको छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘उहाँ कात्तिकसम्म संयोजक रहन सक्नुहुन्छ।’

शनिबार बसेको मोर्चाको बैठकले आचार संहिता, नीति तथा कार्यक्रम पारित गरेको छ।

‘हामीले केन्द्र, प्रदेश र जिल्लाका तीनै तहको फर्मेसन  बनाएका छौँ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको निर्णयानुसार केही समयभित्र यसलाई पालिकातहमा विस्तार गर्छाैँ।’

शनिबार (३० असार) मा बसेको मोर्चाको बैठकमा चारै दलका नेता समेटिएको कार्यदलले प्रतिवेदन पेश गरेको थियो।

उक्त प्रतिवेदन पारित भएसँगै मोर्चाले औपचारिक रुपमा तल्ला तहमा विस्तार भएको उनले बताए।

समाजवादी मोर्चामा नेकपा एमाले, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नारायणमान विजुक्छेको नेपाल मजदूर किसान पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल लगायतका समाजवादी विचार, कार्यदिशा बोक्ने दललाई समेट्ने गरी छलफल गर्ने तयारी छ।

‘पहिले एक दुई चरण छलफल भएको हो, समाजवादी, प्रगतिशील उद्देश्य भएका पार्टीसँग वार्ता र संवाद गरेर मोर्चालाई व्यापक र विस्तार गर्न प्रयास हुन्छ,’ विश्वकर्माले थपे ।

समाजवादी मोर्चामा आवद्ध हुन कम्तीमा गणतन्त्र र देशभक्त हुनुपर्ने पहिलो सर्त छ। यद्यपि सर्त नै भनेर नेताहरुले तोकेका छैनन्।

मोर्चाले साउन एक महिना ७ वटै प्रदेशमा मिनी सभा र जनपरिचालन कार्यक्रम सञ्चालन गर्नेछ।

डा. बाबुराम भट्टराईलाई पनि मोर्चामा समेट्ने प्रयासमा नेताहरु लागेका छन्।

भट्टराई मोर्चाका योजनाकार थिए। तर, मोर्चा घोषणाका दिन उनलाई सहभागी गराइएको थिएन।

‘केही कुरा मिलाउनुपर्ने भएकोले बाबुरामजी अस्ति घोषणामा छुट्नुभएको हो, अब मोर्चामा ल्याउनुपर्छ भन्नेमा चारै दल तयार छौँ,’ विश्वकर्माले भने।

मोर्चाले नयाँ शक्ति बनाउने प्रयास गरेको कतिपयले बताइरहेका छन्। 

तर, मोर्चाका नेताहरु उक्त टिप्पणी मान्न तयार छैनन्। 

अहिलेको संसदीय व्यवस्था, प्रदेशले राम्रोसँग काम गर्न नसकेकै कारण जनतामा निराशा पैदा गरेको विषयमा गम्भीर बन्नुपर्ने दायित्वबोध गरेर संसदवादी र संसद बाहिर रहेको दलबीच मोर्चा बनाइएको उनीहरुको दाबी छ।

‘शक्ति एकत्रित हुँदा त्यसले ठूलो बल दिन्छ,’ विश्वकर्मा भन्छन्।

मोर्चामा आवद्ध दलहरुले आचारसंहिता पनि बनाएका छन्।

देश र जनताप्रति जिम्मेवार रहँदै त्यसको प्रतिकूल हुनेगरी नेता÷सदस्यबाट कुनै कार्य नगर्ने उल्लेख छ।

मोर्चाका नेताहरुविरुद्ध वैरभाव राखेर आलोचना, विरोध वा टिकाटीप्पणी नगर्ने संहिता बनाइएको छ। 

यस्तै, मोर्चामा राजनीतिक कार्यक्रम मिल्ने दलहरुलाई समेट्न पहल गर्ने उल्लेख छ। 

समाजवादी मोर्चाको निर्णय इमान्दारीपूर्वक कार्यान्वयन गर्न चारै दलका नेताहरु सहमत छन्। 

‘मोर्चामा सहभागी नेताले अन्तरविरोधी कार्य नगर्ने र अभिव्यक्ति नदिने, मोर्चाका घोषित कार्यक्रम पालनामा जिम्मेवार बन्ने लगायत विषय उल्लेख छन्,’ विश्वकर्माले भने। 

त्यसबाहेक मोर्चाले आवश्यकता अनुसार नयाँ कार्यक्रम तय गर्न सक्नेछ।

मोर्चामा आवद्ध दलमध्ये माओवादी, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संसदीय राजनीतिमा छैन।

चारै दल फरक राजनीतिक पृष्ठभूमिका छन्। 

जनयुद्धमार्फत् संसदीय राजनीतिमा छिरेको माओवादी, एमालेसँग विभाजन भएर बनेको एकीकृत समाजवादी र तराई÷मधेसमा राजनीति गरेर भर्खरै पहाड चढिरहेको जसपाबीच विचार र सिद्धान्तमा फरक छ।

संसदवादको विरोध गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले मोर्चाबाट के लाभ लिन खोजिरहेको छ? कतिपयले कमजोर बन्दै गएपछि एकै ठाउँ उभिने प्रयास भनेर अथ्र्याएका छन्।

तर, विश्वकर्मा भने एकता गर्नसक्ने आधार देखेर मोर्चामा आवद्ध भएको बताउँछन्।

‘केही एजेन्डा र विचारमा समान धारणा बनाउन समय लाग्न सक्छ, अन्तिमको यात्रा एकता पनि हुनसक्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .