राजनीति


कहाँ पुग्यो पूर्वमाओवादी एकता प्रक्रिया?

प्रचण्डका दुईथरी कुरा– कहिले एकता, कहिले नेकपा
कहाँ पुग्यो पूर्वमाओवादी एकता प्रक्रिया?

सागर न्यौपाने
असार १८, २०८० सोमबार १०:१९, काठमाडौँ

पूर्वमाओवादी घटकबीच एकताका लागि अहिलेसम्म कुनै ठोस प्रगति भइसकेको छैन, कतिसम्म भने कुन-कुन घटक एकतामा आउँछन् भन्ने पनि टुंगो लागिसकेको छैन। 

एकताका लागि आवश्यक मुख्य कुरा सैद्धान्तिक, राजनीतिक र वैचारिक विषयमा साझा धारणा नै अहिलेसम्म बनेको छैन।

तर, प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी घटकबीच एकता छिट्टै हुने दाबी गरिरहेका छन्। शनिबार मात्र पोखरामा उनले पूर्वमाओवादीबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको र चाँडै घोषणा हुने दाबी गरे।

‘पूर्वमाओवादीहरू छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ,’ प्रचण्डले भने, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ। सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’

तर नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा राजनीतिक संवाद समितिका प्रमुख कर्णजित बुढाथोकी तत्काल एकता हुनेगरी कुनै प्रक्रिया अघि नबढेको बताउँछन्। 

‘यो एकता एमाले–माओवादी मिलेर बनेको नेकपा स्टाइलको होइन’, बुढाथोकीले नेपालखबरसँग भने, ‘व्यवहार र सिद्धान्त नमिली माथि नेता–नेता मिलेर मात्र हुँदैन।’

‘उहाँहरू आफूले लिएको पद छाड्न तयार नहुने, आफू सिनियर, पुरानो हुँ भन्दै एकतामा आऊ भनेर कसरी हुन्छ? यो सामन्तवादी शैलीको एकताको पक्षमा हामी छैनौँ।’

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पूर्वमाओवादीलाई एकै ठाउँमा उभ्याउने प्रयास गरिहेका छन्।

उनी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलाई एकतामा ल्याउन चाहन्छन्।

तर, अहिलेसम्म कुनै निर्णयमा पुगिनसकेको उनले नेपालखबरलाई बताए।

‘अब छिट्टै हुन्छ भन्ने त छ, यति उति दिन भनेर किटान गरिहाल्न सकिँदैन,’ महराले भने, ‘कुरा चलिरहेको छ। एकताका पक्षमा उहाँहरु हुनुहुन्छ।’

‘समाजवादी मोर्चा बन्यो, अब एकता नै हो भन्ने निष्कर्षमा हामी पुगिसकेका छौँ, विप्लवजी र बाबुरामजीसँग तत्काल एकताको सम्भावना छ।’

नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक संवाद समिति प्रमुख बुढाथाेकी भने कम्युनिस्ट सम्मेलन आयोजना गरेर जनता/ कार्यकर्ताले स्वामित्व हुनेगरी रूपान्तरणसहितको एकता प्रस्ताव रहेको उल्लेख गर्दै त्यति सजिलै एकता नहुने बताउँछन्। 

‘कतिपय नेताको बिदाइ केही नयाँ युवाको प्रवेश गरेर उमेर हद बनाएर समग्र विधि बनाएर एकता गर्न अझै समय लाग्छ, अहिले एकता गर्न मात्र हामी तयार भएका हौँ’, उनले थपे, ‘तर एकताको आधार तय गर्ने समाजवादी मोर्चा नै अघि बढेन। एकता गर्न भनेजस्तो सजिलो छैन।’

महराले बाबुराम भट्टराईसमेतलाई एकतामा ल्याउने प्रयास भइरहेको बतारहँदा भट्टराई भने आफ्नै पार्टीको संगठन विस्तारमा व्यस्त छन्।

गोरखाबाट सुरु ६ महिने संगठन सुदृढीकरण र विस्तार अभियान देशभर पुर्‍याउने उनको तयारी छ। 

समाजवादी मोर्चा घोषणा हुँदा आफूलाई वास्ता नगरेपछि भट्टराई प्रचण्डसँग असन्तुष्ट छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर यही असार ५ गते समाजवादी मोर्चा घोषणा गरेका हुन्। 

‘अस्ति मोर्चा बन्दा बाबुरामजी समावेश हुन सक्नुभएन,’ महराले अनिश्चय भावसहित थपे, ‘अहिले पार्टी एकता गर्न छलफल भइरहेको छ, कहाँ पुगिन्छ हेरौँ।’

विप्लवसँग एकता नै गर्ने अन्तिम तयारी भइरहेको चर्चा छ, पद बाँडफाँटका कुरा पनि सार्वजनिक भएका छन् नि भन्ने प्रश्नमा महराले पूर्वमाओवादी घटकबीच सैद्धान्तिक अन्तर नभएको, विचार पनि एउटै भएकाले समस्या नहुने दाबी गरे।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डसँग नियमित भेट गरिरहेका छन्।

एकताका पक्षमा उनी तयार भए पनि कुन मोडलमा गर्ने भन्नेमा भने समझदारी जुटिसकेको छैन।

नेसपाका संघीय परिषद् अध्यक्ष महिन्द्रराय यादवले माओवादीसँग एकता गर्ने भनेरै १९ बुँदे पत्र बुझाएको बताए।

एकताका विषयमा वार्ता गर्न जसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब र महासचिव रमेश यादवलाई जिम्मा दिइएको छ।

‘पार्टी एकता गर्न तयार भए पनि माओवादीको केन्द्रीय समिति निर्णयको पर्खाइमा हामी छौँ,’ यादवले नेपालखबरसँग भने, ‘नाममा सहमति भइसकेको छ। चुनाव चिह्नबारे छलफल गरेर निर्णय गर्ने कुरा भएको छ।’

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गतेदेखि बस्ने तयारी छ। 

बाबुराम भट्टराईको पार्टी नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न लिएर ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनाव लडेको थियो। 

तर, नेसपा अध्यक्ष डा. भट्टराईनिकट एक नेताले प्रधानमन्त्री प्रचण्डलाई लागेका बेला मात्र एकताको कुरा चलाउने गरेको टिप्पणी गरे।

‘एकताका पक्षमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छजस्तो लाग्दैन, उहाँ कमजोर भएको जस्तो लागे एकताको कुरा गर्नुहुन्छ, फेरि गठबन्धनमा सबै कुरा मिले एकता बिर्सनुहुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘कसैको पद जोगाइदिन, शक्तिमा राख्न हामीले काँध थापिदिने?’

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि पार्टी एकताका लागि छलफल भइरहे पनि नटुंगिएको बताए।

‘पूर्वमाओवादी घटकजति सबैसँग कुरा चलिरहे पनि निर्णय गर्ने ठाउँमा पुगिएको छैन,’ गजुरेलले नेपालखबरसँग भने। 

पूर्वमाओवादी घटकसँग एकताबारे बोलेको भोलिपल्ट आइतबार (असार १७) भक्तपुरमा भएको एक कार्यक्रममा प्रचण्डले नेकपा ब्युँताउने कुरा गरे, जुन कुराले पनि एकता निश्चित छैन भन्ने बुझिन्छ। 

‘माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौँ,’ उनले भक्तपुरमा भने, ‘तत्कालीन नेकपामा हुँदा भएका त्रुटि सच्याएर अघि बढ्न आवश्यक छ।’

‘त्यहाँ विचार, राजनीति, आचरण, संस्कृति र भावनामा कहाँ त्रुटि भयो? के कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्काे गर्नुपर्छ।’

कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर एमाले अध्यक्ष ओली र आफूले कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याएकको पनि उनले उल्लेख गरे। 

‘कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर कम्युनिस्ट एकता भयो। देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुईतिहाई प्राप्त पनि भयो। जनतामा ठूलो उत्साह देखापर्‍यो,’ प्रचण्डले भने, ‘अब कम्युनिस्टहरूले ४०/५० कति वर्ष लाने हुन् शासन भनेर भय थियो। तर दुर्भाग्य! हामीले त्यसलाई बचाउन सकेनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .