नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै फुरफुर नगर्न चेतावनी दिएका छन्।
नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले छोरा र बुहारी प्रयोग गरेर फुरफुर गरेको आरोप लगाएका हुन्।
ओलीले यसअघि पूर्वराजालाई धेरै हिसाबकिताब नगरी छाडिदिएको उल्लेख गर्दै अब गर्नुपर्ने अवस्था नआओस् भन्दै सचेत पनि जनाएका छन्।
‘ज्ञानेन्द्र शाह, उनको परिवार उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हान्या देखिछन्। अनि ट्वीट गरिकन जनताले केपी ओलीलाई ढुंगा हान्याछन्,’ ओलीले भने, ‘मैले यसको जवाफ दिन नपरोस्। ज्ञानेन्द्र शाहलाई भन्छु, बढ्ता फुरफुर नगर। हामीले धेरै हिसाबकिताब नगरेर छोड्या छौं। हाम्रा साथीहरुलाई जेलबाट निकालेर ड्याङड्याङ गोली हानेर मार्दा छोडेका छौं। अनेक हिसाब किताब गरेका छैनौं। हामी सहनशिल बनेका हौं, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर धेरै फुरफुर नगर।’
एक दुई जना मान्छे भेटाएर पखेँटा पलाउनु ठिक नभएको पनि टिप्पणी गरेका छन्।
‘एक दुई जना ट्याउँ ट्याउँ गर्ने मान्छेहरु भेटाएको छ। अहिले तिनकै भरमा पखेँटा पलाउनु ठिक छैन। त्यो कुरा म बताइदिन्छु’, ओलीले भनेका छन्।
भिडिओ:
Shares

प्रतिक्रिया