राजनीति


रविको कोर टिमको हिसाब : चितवनमा १५–१८ हजार मत घट्छ तर चुनाव जितिन्छ

रविको कोर टिमको हिसाब : चितवनमा १५–१८ हजार मत घट्छ तर चुनाव जितिन्छ

सागर न्यौपाने
बैशाख १, २०८० शुक्रबार ७:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्ला विवादहरुपछि चितवन क्षेत्र नम्बर २ को उपचुनावमा सभापति रवि लामिछानेको मत घटे पनि चुनाव जितिने आकलन गरेको छ।  

चैतको पहिलो हप्तादेखि चैत २९ गतेसम्म २ नम्बर क्षेत्रका सबै मतदातालाई भेटेका रास्वपाका नेताहरुले अघिल्लो चुनावमा जस्तो मत नपाउने विश्लेषण गरेका हुन्। यद्यपि, चुनाव आउन अझै ९ दिन बाँकी रहेकाले आक्रामक रूपमा प्रचारप्रसारमा जाने रविको रणनीति छ। 

एमालेले पनि रविलाई मत दिएका आफ्ना १० हजारभन्दा बढी मतदाता यसपटक आफ्नै पार्टीमा फर्किएको दाबी गरेको छ। 

मंसिर ४ को चुनावमा रविले ४९ हजार ३०० मतसहित जितेका थिए। कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए। 

त्यसबेला सो क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेकामा ८३ हजार ५९६ मतदाताले मत दिएका थिए। अर्थात् ६७.३ प्रतिशत मत खसेको थियो।

रविलाई त्यसबेला अन्य पार्टीका कार्यकर्ता र धेरै मतदाताले मत दिएको प्रमुख पार्टीहरुको ठम्याइ थियो। तर, पाँच महिनामै रविलाई मत दिएका आफ्ना धेरै परम्परागत मतदातालाई एमालेले फर्काइसकेको सो पार्टीको दाबी छ। कांग्रेसले पनि उसको सक्रिय र साधारण कार्यकर्ता फर्किसकेको बताउँछ। तर, चुनाव आउन अझै ९ दिन बाँकी भएकोले अहिले नै यसै भनिहाल्ने अवस्था देखिँदैन। 

ढाकाकुमार श्रेष्ठ अडियो प्रकरण र सत्तामा जान मरिहत्ते गरेको आरोपको जनतालाई जवाफ दिँदै हिँड्नु परेकोले रास्वपा पनि ढुक्क छैन। पाँच महिना अघि रविले कांग्रेस–एमालेका उम्मेदवारलाई जस्ता प्रश्न सोधेका थिए, त्यस्तै प्रश्न उपचुनावमा रविले सामना गरिरहेका छन्।

रविले सामना गर्नुपरेको अर्काे प्रश्न हो– कांग्रेस र एमालेका स्थानीय उम्मेदवार उनी जिल्लाबाहिरका। 

यही कारण पहिलो चुनावको भन्दा मत कम पाइने रास्वपाकै नेताहरु बताउँछन्।

‘यसपटक रविजीको मत घट्छ, पहिला जस्तो धेरै मतअन्तर हुँदैन,’ बिहीबार नेपालखबरसँग रास्वपाका एक नेताले भने, ‘भोट हाल्ने संख्या पनि घट्ने हामीलाई आन्तरिक रिपोर्ट छ।’

‘कम्तीमा १५ देखि १८ हजार मत कम पाइए पनि रविले चुनाव जित्ने अहिलेसम्म प्राप्त रिपोर्टले देखाउँछ,’ उनले थपे।

तर, रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल सुरुमा मत घट्ने विश्लेषण भए पनि अहिले झन् राम्रो बनेको दाबी गर्छन्। 

केही दिनअघि रविजीलाई मत दिने मानिसहरु कांग्रेस–एमालेतिर खुल्न थालेको हल्ला मैले पनि सुनेको थिएँ, अहिले त सबै हामीतिरै चुनावी प्रचारमा हुनुहुन्छ,’ ढकालले भने, ‘ढाकाजीको कारबाहीले राम्रो सन्देश गयो।’

के भयो मंसिर ४ पछि?
प्रतिनिधि सभाको मंसिर ४ मा सम्पन्न चुनाव अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा रास्वपाको पक्षमा जनलहर चलेको थियो।

रवि लामिछानेलाई मत माग्दै कांग्रेस र एमालेकै नेताहरु खटिएका थिए। यतिसम्म कि एमालेको गढ भनिएकै ठाउँबाट पनि रविले धेरै मत लगेको विश्लेषण थियो। उनीहरुको निष्कर्ष थियो– कांग्रेस र एमालेका उम्मेदवारभन्दा रविले तेब्बर मत पाउनुको कारण त्यही हो।

पार्टी बनेको ६ महिनामै रविप्रति जनताको आकर्षण देखिँदा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरबाट रास्वपाले ऐतिहासिक मत पायो। प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा समानुपातिमा १३ सांसद जितेर २० सिटसहित संसदको चौथो शक्ति बन्यो। त्यही कारण एमाले–माओवादी गठबन्धन मिलेर सरकार बनाउँदाको एउटा शक्ति रास्वपा पनि बन्यो।

पुस ११ गते रवि उपप्रधान र गृह मन्त्रालय लिएर सरकारमा सहभागी भए। रास्वपाले पछि शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री लियो।

तर, यो धेरै समय टिक्न सकेन। नागरिकता प्रकरणले रविको सभापति, सांसद पद गुम्यो। सांसद पद गुमेपछि उनी सरकारबाट हट्नुप¥यो। 

गैरसांसदका रुपमा रवि फेरि सरकारमा बसिराख्ने योजना पूरा नभएपछि रास्वपाले माघ २२ मा सरकार छोड्यो। 

रवि पदमुक्त भएकोले रिक्त रहेको चितवन २ नम्बर क्षेत्रमा वैशाख १० गते उपचुनाव हुँदैछ। रास्वपाले फेरि सभापति रविलाई नै उम्मेदवार बनाएको छ।

कांग्रेसबाट निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन्। 

फेरि चुनाव जित्ने रणनीति बनाएर रविले एक महिना अघिदेखि चितवनमा प्रचार गरिरहेका थिए। चुनाव नजिकिँएसँगै सांसद/केन्द्रीय सदस्य, अभियन्ताहरु चितवन केन्द्रित भएका छन्। रास्वपा उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य विपिन आचार्य लगायतका नेताहरु २ नम्बर क्षेत्रमै क्रियाशील छन्। विहानदेखि बेलुकासम्म घरघर पुगेर मतदाता भेटिरहेका छन्।

उनीहरुले मतदातासँगै बसेर खाना खाएका छन्। नाचगानमा सहभागी भएका छन् र कोणसभा गरिरहेका छन्।

तर, पाँच महिनाअघिको जस्तो रविको पक्षमा लहर ल्याउने खालको माहोल नबनेको एक सांसदले नेपालखबरलाई बताए। उनी निर्वाचन क्षेत्रमै क्रियाशील छन्। 

‘कांग्रेस–एमालेले स्थानीय उम्मेदवार उठाएकोले दबाब छ,’ रास्वपाका एक पदाधिकारीले भने, ‘अडिओ प्रकरणले स्थानीयमा शंका जन्माएको छ। मतदाता सचेत देखिन्छन्, पहिलाजस्तो लहर छैन।’

‘न संगठन न सत्ता, एक्लै लड्दाको परिणाम सहज देखिँदैन, जिते पनि हारे पनि यो चुनावले हामीलाई राम्रै पाठ सिकाउने छ,’ रास्वपाका ती पदाधिकारीले थपे।

यसपटक रविको पक्षमा हिँड्ने मानिसहरु पनि पहिलाभन्दा केही घटेको जस्तो देखिएको उनले बताए। उनका अनुसार चितवन २ मा यसपटक रोचक प्रतिस्पर्धा हुन सक्छ। 

‘हामी घरदैलो अभियानमै छौँ, पहिले रविजीले कम मत पाएको ठाउँमा यसपटक जनता मत दिन्छौं भनिरहेका छन्,’ अर्का सांसदले नेपालखबरसँग भने, ‘पहिले बढी मत दिएका सहरी इलाकाका केही मतदाताहरुले नदिने सम्भावना देखिन्छ।’

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट रविलाई बढी मत खस्ने ती सांसदले दाबी गरे।

२ नम्बर निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्दछन्। रविले सो क्षेत्रबाट कम मत पाए भने चुनाव रोचक हुने उनीहरुको विश्लेषण छ।   

किन पनि भने कांग्रेसका श्रेष्ठ र एमालेका न्यौपानेले चितवनमै राजनीति गरेको २७ वर्ष भइसकेको छ। उनीहरु दुवै स्थानीय हुन्, र दुवै रविभन्दा कम उमेरका छन्। 

उपचुनावको उम्मेदवार हुनेबित्तिकै श्रेष्ठ र न्यौपानेले रविको समर्थनमा लागेका थुप्रै नेता, कार्यकर्तालाई फर्काइसकेका छन्। अन्यलाई फर्काउन एमाले स्थायी कमिटी सदस्य एवं बागमती इन्चार्ज काशीनाथ अधिकारी, देवी ज्ञवाली, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा क्षेत्रमै खटिएका छन्। 

कांग्रेसका विगतमा असन्तुष्ट नेताहरु श्रेष्ठको पक्षमा खुलेर लागेका छन्। मंसिर ४ को चुनावमा विद्रोह गरेर चितवन–३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइराला श्रेष्ठको पक्षमा मत माग्दै खटिएका छन्।

यस्तै पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल पनि श्रेष्ठकै पक्षमा खुलेर होमिएका छन्। उनीहरु स्थानीय तह चुनावमा ‘बागी’ उम्मेदवार बनेका जगन्नाथ पौडेलको मक्षमा लागेपछि कारबाहीमा परेका थिए।

उपचुनावकै मुखमा कांग्रेसले उनीहरुमाथिको कारबाही फुकुवा गरेको छ। त्यसलगत्तै श्रेष्ठको पक्षमा माहोल बनाउन सबै खटिएको नेपाली कांग्रेस चितवन उपसभापति राजीव न्यौपानेले दाबी गरे।

रास्वपाका महामन्त्री डा. ढकालले अब चितवन केन्द्रित कार्यक्रम गरिने बताए।

‘केही कार्यक्रममा सम्बोधन गर्न सभापति बारा र तनहुँ जानुहुन्छ। त्यसपछि चितवन २ मै खटिने हो,’ उनले भने, ‘नेताहरुलाई परिचालन गर्ने, कोणसभा र ठूला आमसभाको कार्यक्रम पनि राख्छौं।’

रास्वपाको आफ्नै संगठन बलियो छैन। त्यसमाथि ढाकाको अडियो प्रकरणले गर्दा केही नेताहरु असन्तुष्ट छन्। ढाका पनि असन्तुष्ट छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रविको कोर टिमबारे विभिन्न नाम सार्वजनिक गरेपछि रास्वपाका नेताहरु थप दबाबमा छन्। 

‘दुर्गा प्रसाईंको कोर टिमबारेको अभिव्यक्ति र पत्रपत्रिकामा रविजीविरुद्ध निरन्तर समाचार प्रकाशित भइरहँदा त्यसले सहरी इलाकाको मत डाइभर्ट गर्ने खतरा चै छ,’ चुनाव प्रचारमै रहेका अर्का केन्द्रीय सदस्यले भने, ‘त्यसो हुँदा पनि केही हजार मात्र मतअन्तरले चुनाव जित्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .