ad ad

राजनीति


संसद छिर्ने दोस्रो प्रयासमा काठमाडौंमा हारेका प्रहरीका पूर्वहाकिम

संसद छिर्ने दोस्रो प्रयासमा काठमाडौंमा हारेका प्रहरीका पूर्वहाकिम

फाइल तस्बिर


उजिर कार्की
चैत १९, २०७९ आइतबार १६:२९, काठमाडौँ

मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौंबाट एकसाथ पराजित नेपाल प्रहरीका दुई पूर्वहाकिम वैशाख १० को उपचुनाव लड्ने भएका छन्। 

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र पूर्व नायव महानिरीक्षक  (डीआईजी) रमेश खरेल उपनिर्वाचनमा उम्मेदवार बन्ने पक्का भएको हो। 

खनाल नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट र खरेल बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने निर्णय भएको छ। 

सोमबार दुवैले आ आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गर्दैछन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा खनाल काठमाडौं ६ बाट र खरेल काठमाडौं १ बाट पराजित भएका थिए। 

त्यतिबेला पूर्व आईजीपी खनाल एमालेबाटै उम्मेदवार बन्दा पूर्व डीआईजी खरेल भने आफ्नै नेतृत्वको सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए। खनालको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका थिए। 

खरेलको क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चुनिए। रमेश खरेलले भने प्रतिस्पर्धात्मक मत समेत पाएनन्। यो क्षेत्रमा उनले पाँचौँ मत ल्याए। 

निर्वाचित सिंहले ७ हजार १४३ मत पाउँदा खरेलले ३ हजार १२४ मत मात्रै पाए। खरेलभन्दा बढी मत राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र एमालेका किरण पौडेलले पाए। 

एमाले उम्मेदवार सर्वेन्द्र खनाल काठमाडौं ६ का निकटतम प्रतिस्पर्धी हुन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले भन्दा झण्डै आधा कम मत पाएका थिए। 

१४ हजार २२१ मत ल्याएर शिशिर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९१७ मत पाएका थिए। 

५ महिनाअघि एउटै जिल्लाका फरक निर्वाचन क्षेत्रबाट पराजित भएका पूर्व प्रहरी यसपटक फरक जिल्लाबाट चुनाव लड्दैछन्। खरेल र खनाल एउटै ब्याचका प्रहरी हुन्।

दोस्रो पटक पनि दुवैका लागि संसद प्रवेश भने सहज देखिएको छैन। 

खरेलका चुनौती मधेसवादी दल
रमेश खरेल निर्वाचन क्षेत्रसँगै पार्टी पनि परिवर्तन गरेर उपचुनाव लड्दैछन्। तर यो क्षेत्रमा उनी प्रवेश गरेको पार्टी रास्वपाको पनि कमजोर इलाका हो। गएको निर्वाचनमा यहाँबाट रास्वपाले उम्मेदवार नै उठाएको थिएन। 

बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी नेपालका रामसहाय प्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए। उनलाई एमालेको पनि समर्थन थियो। 

तर यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ उपचुनावको मिति तय भएको हो। 

मंसिरको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहा १३ हजार ४६८ मत ल्याएका थिए। कुसहवालाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टीको पनि साथ थियो। 

यसअघिका उम्मेदवार र गठबन्धन यहाँ बदलिएका छन्। विजयी जसपाका उम्मेदवारलाई यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत साथ छ। 

तर त्यतिबेला दोस्रो बढी मत पाएका माओवादी उम्मेदवार कुशवाहाले पार्टी छाडेका छन्। 

उनी यसपटक जनमत पार्टीबाट उम्मेदवार बन्दैछन्। पहिले कुशवाहालाई साथ दिएका कांग्रेस माओवादीसहितका गठबन्धनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेका छन्। 

५ महिनाअघि जसपा उम्मेदवारलाई जिताउन भूमिका खेलेको एमालेले भने निर्णय गरिसकेको छैन। तर उसले पनि आफ्नै उम्मेदवार अघि सार्ने सम्भावना बढी छ। 

त्यतिबेला तीन स्वतन्त्र उम्मेदवारले उल्लेख्य मत पाएका थिए। जुन मत यसपटकको निर्वाचनमा निर्णायक देखिएको छ। 

स्वतन्त्र रामकिशोर प्रसाद यादव ११ हजार ४३, स्वतन्त्र रवीन्द्रप्रसाद यादव १० हजार ७५० र स्वतन्त्र अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत पाएका थिए। 

जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत ल्याएका थिए। अहिले अघिल्लो निर्वाचानका माओवादी उम्मेदवार प्रवेश गरेकाले उनलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ। मुख्यगरी यो क्षेत्रमा जनमत र जसपाका उम्मेदवारबीच टक्कर देखिन्छ। 

५ महिनाअघि नागरिक उन्मुक्ति पार्टीका तेजबहादुर भगतले १ हजार १११ मत ल्याउँदा  बाँकी १४ उम्मेदवारले हजार मत कटाउन सकेका थिएनन्। 

यहि क्षेत्रमा रास्वपाबाट पहिलो परीक्षा दिँदैछन् रमेश खरेल। खरेलका लागि जनमत र जसपाका उम्मेदवार नै मुख्य चुनौती हुन्। 

खरेल आफू मात्रै यो क्षेत्रमा परीक्षित छैनन् उनी संलग्न रास्वपाको पनि पहिलो परीक्षा हुनेछ। यसअघिको चुनावमा आँकलन गरिएभन्दा राम्रो मत पाएको रास्वपाले खरेल प्रहरी सेवामा रहँदाको अवस्थालाई हेरेर उम्मेदवार बनाउने निर्णय लिएको हो। 

खरेल एसपी हुँदा छिमेकी जिल्ला पर्सामा कार्यरत थिए। जतिबेला उनको प्रशंसा बढेको थियो। त्यही लोकप्रियताको बलमा खरेल पर्सा पुगेका हुन्। 
रास्वपाबाट उम्मेदवार बन्ने पक्का भएपछि खरेलले नेपालखबरसँग भने, ‘त्यतिबेला मेरो प्रभाव पर्सामा पनि राम्रै थियो।’ तर उनको र रास्वपाको प्रभाव कस्तो छ भन्ने वैशाखको चुनावले प्रष्ट्याउने छ। 

खनाललाई कांग्रेस र रास्वपाकै डर
काठमाडौंमा रास्वपाका उम्मेदवारसँग पराजित भएका सर्वेन्द्र खनाललाई फेरि पनि उही दल चुनौतीपूर्ण देखिएका छन्। तनहुँमा पनि रास्वपाले कांग्रेस छाडेका अर्थविद् स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। 

यसअघि यो क्षेत्रमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। तर पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नं. १ मा उपनिर्वाचन हुन लागेको हो। 

मंसिरको चुनावमा रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए। एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए। 

यसपटक एमालेले काठमाडौंमा हारेका पूर्व आईजीपी खनाललाई तनहुँ पठाउने निर्णय गरेको हो। 

तनहुँमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल ६ हजार ४४ मत ल्याएका थिए। 
राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले २ हजार ४८४ मत ल्याउँदा बाँकी १० उम्मेदवारले एकहजार बढी मत कटाउन सकेका थिएनन्। 
यसपटक तनहुँ १ मा नेपाली कांग्रेसले गोबिन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराईलाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलको साथ छ। 

समाजवादीले आफ्नै उम्मेदवार उठाउन जिल्लाबाट सिफारिस भएपनि केन्द्रबाट निर्णय भइसकेको छैन। यहाँका पूर्व सांसद समेत रहेका किसन श्रेष्ठले गठबन्धनले जे निर्णय गर्छ त्यही अनुसार समाजवादी अघि बढ्ने बताए। 

गठबन्धनका हिसावले उनले गोविन्द भट्टराईलाई सहयोग गर्ने देखिए पनि व्यक्तिगत रुपमा उनी एमालेका सर्वेन्द्र खनालसँग पनि नजिक छन्। 

श्रेष्ठ भन्छन्, ‘मलाई भेट्न र सहयोग माग्न सबै साथीहरु आउनु भएको छ। तर गठबन्धनको निर्णय अनुसार नै मैले सहयोग गर्नु पर्ने हुन्छ।’

यस्तै त्यहाँ नेपाली कांग्रेसलाई सधै चुनौती दिँदै आएका गोविन्दराज जोशीको निर्णयले पनि नतिजामा प्रभाव पार्ने देखिन्छ। 

३० वर्ष नेपाल प्रहरीमा रहेका खनाल स्थानीय नेताकार्यकर्तासँग राम्रो घुलमिल छैनन्। उनी अवकासपछि पनि काठमाडौं बस्दै आएका छन्। 

स्वर्णिम वाग्लेले कांग्रेस छाडेर रास्वपामा जाँदा कांग्रेसको मत घट्न त सक्छ तर स्वर्णिम आफैँ पनि खनालका लागि ठूलो चुनौती बन्न सक्छन्। 
नेपाल प्रहरीमा रमेश खरेललाई पछि पार्दै आईजीपी बनेका सर्वेन्द्र खनाल उनीभन्दा पहिल्यै संसद छिर्ने दाउमा छन्। तर दोस्रो प्रयास पनि उत्तिकै चुनौतीपूर्ण भने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .