गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन्।
आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन्।
सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे।
‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ। व्यवसायिक प्रहरी हामीलाई चाहिएको छ। धेरै बाधाहरु छन् हामीलाई थाहा छ,’ उनले भने, ‘व्यवसायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरु छन्, नयाँ प्रविधिको कुरा छ। तर यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरुको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ।’
उनले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यक्ता रहेको बताए।
सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने बताए।
उनले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यक्ता रहेको पनि बताए।
‘अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलता बनाउनु हुनेछ। मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ। विगतमा सुधारका क्रमहरु चलेका छन्, तर त्यो सुधार अझैपनि पूर्ण भएको जस्तो लाग्दैन’, उनले भने, ‘आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ। हामी समाजका बेथितिहरु, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्नेकुराले महत्व राख्छ।’
सचिव सिंहले प्रहरी प्रशासनमा अझैपनि पूर्ण रुपमा सुधार नदेखिएको बताए। उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए।
Shares
प्रतिक्रिया