ad ad

राजनीति


‘कोशी प्रदेश’बारे मन्त्री किरातीको कटाक्ष : उल्टो हिँडेर राजा-महाराजाकै झल्को दिएछन्

‘कोशी प्रदेश’बारे मन्त्री किरातीको कटाक्ष : उल्टो हिँडेर राजा-महाराजाकै झल्को दिएछन्

फोनिजको कार्यक्रममा मन्त्री किराती र अन्य। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १९:४८, सर्लाही


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रदेश १ को नामाकरण ‘कोसी’ भनेर राखिएकोमा असन्तुष्टि जनाएका छन्। 

आइतबार सर्लाहीको हरिवनमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को नीति तथा विधान सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले प्रदेश १ सभाले बहुमतबाट गरेको ‘कोशी प्रदेश’ नामाकरणमा असन्तुष्टि जनाएका हुन्।

उनले स्थानीय जनताको भावनाविपरीत पहिचानलाई मन नपराउनेहरुले राजा महाराजाकै झल्को दिनेगरी कोशी नामाकरण गरेको भन्दै असन्तुष्टि पोखे।

संघीयता र पहिचान मन नपराउनेले बहुमतको बलमा जनताको भावनाविपरीत प्रदेशको नामाकरण गरेको उनको भनाइ थियो। ‘प्रदेश १ को नामाकरण कोशी गरिनु सुल्टो नभएर उल्टो यात्रा हो,’ मन्त्री किरातीले भने।

उनले सार्वभौम अधिकार सम्पन्न प्रदेशसभाले गरेका निर्णय मानेर जानुपर्ने बाध्यता भए पनि कोशी नाम राख्दैमा पहिचानको आन्दोलन नरोकिने बताए। अब पहिचानको आन्दोलनले झन् ठूलो आकार ग्रहण गर्ने विश्वास उनले व्यक्त गरे। 

कोशी नामाकरणको विरोधमा आइवार प्रदेशभर आमहड्ताल गरिएको थियो। मन्त्री किरातीले पहिचान पक्षधरको आन्दोनल शान्तिपूर्ण र अहिंसाात्मक हुनुपर्नेमा पनि जोड दिए। 

अमेरिका, चीन जस्ता विश्वका शक्तिरास्ट्रहरु पनि पहिचानको लडाइँमा रहेका भन्दै किरातीले नेपालमा चलिरहेका पहिचानका आन्दोलनप्रति ऐक्यवद्धता जनाए।

‘पहिचानले आन्तरिक राष्ट्रवाद बलियो बनाउँछ,’ किरातीले भने, ‘आन्तरिक राष्ट्रवाद बलियो बनाउन त्यहाँका नागरिकको पहिचान स्थापित हुनुपर्छ। संघीयताको मर्म पनि यही हो। नागरिकको पहिचान मेट्ने कामले आन्तरिक राष्ट्रवाद बलियो हुँदैन।’

विश्व मानचित्रमा चिनिन पनि नेपालमा पहिचानसहितको संघीयता जरुरी रहेको उनले जोड दिए।

सार्वभौम अधिकार सम्पन्न प्रदेशसभाले विगतका राजा महाराजाहरुलाई बिर्साउने गरी पहिचानलाई मेटाउने काम गरेको भन्दै किरातीले असन्तुष्टि पोखे

‘हामीले नै भोट मागेर, भोट दिएर जिताएका जनप्रतिनिधिहरुले पहिचान मेटाउने काम गरेका छन्,’ किरातीले भने, ‘अब समीक्षा त उनीहरुलाई भोट दिने सबै नागरिकले पनि गर्नुपर्छ। आफैँलाई समीक्षा गर्नुपर्ने बेला आएको छ। देशको चित्र बुझ्न नसक्ने, संकीर्ण र पूर्वाग्रहीहरुको कारण प्रदेश १ मा पहिचान मेट्ने काम भएको छ।’

एकात्मक केन्द्रीकृत राज्यसत्ता संघात्मक भएको अवस्थामा पहिचानको आन्दोलन चलाउनेहरुले पनि सचेततापूर्वक अघि बढ्नुपर्नेमा उनको जोड थियो। 

‘पहिचान र संघीयता मन नपराउनेहरुबाट हामी सबै सतर्क हुनुपर्छ,’ उनले भने, ‘भुइँको टिप्न खोज्दा पोल्टाको गुम्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .