ad ad

राजनीति


माओवादी केन्द्रले खारेज गर्‍यो पोलिटव्युरो संरचना

माओवादी केन्द्रले खारेज गर्‍यो पोलिटव्युरो संरचना

महाधिवेशनपछि पोलिटब्युरो सदस्यहरुको नाम वाचन गर्दै प्रचण्ड। तस्बिर : नेपालखबर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १८:३०, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पोलिटव्युरो समिति खारेज गरेको छ। 

गत २३ असारमा कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकले १२५ पूर्ण र ३१ वैकल्पिक गरी १ सय ५६ सदस्यीय पोलिटब्युरो गठन गरेको थियो।

गत १२ माघदेखि २२ सम्म बसेको स्थायी समिति बैठकले पोलिटव्युरो समिति खारेज गर्ने प्रस्ताव गरेको थियो।

उक्त प्रस्तावलाई बिहीबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो। 

एक केन्द्रीय सदस्यका अनुसार पोलिटव्युरो नराख्ने स्थायी समितिको प्रस्तावलाई अनुमोदन गरिएको छ।

‘स्थायी समिति पूर्ण भएको छ, पार्टीको अफिसियल काम यसैले गर्छ, अहिलेलाई पोलिटव्युरो संरचना नराखौँ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘पोलिटव्युरोकै विषयमा नेताहरुबीच विवाद पनि भयो। जिम्मेवारीमा एकरुपता आएन। त्यहीकारण खारेजीको निर्णय भयो।’

पोलिटव्युरो संरचना राख्नै परे विशेष महाधिवेशनपछि थप निर्णय लिइने ती नेताले बताएका छन्। 

‘अहिले विभिन्न घटकहरुसँग पार्टी एकताको प्रयास भइरहेको छ, सम्भवतः राष्ट्रपति चुनावपछि एकता प्रक्रिया अघि बढ्छ होला। त्यसपछि मात्रै विशेष महाधिवेशन हुन्छ, अनि त्यहीँ पोलिटव्युरो राख्ने-नराख्ने छलफल हुन सक्ला, अहिलेलाई त्यो खारेज भएको छ।’

माघ १२-२२ सम्मको स्थायी समिति बैठकपछि पार्टीलाई पठाइएको सर्कुलरमा पनि पोलिटव्युरो संरचना उल्लेख छैन।

२०४८ देखि (नेकपा एकता केन्द्र) रहेको पोलिटव्युरो संरचना ३१ वर्षपछि हटाइएको हो। 

माओवादीले पार्टी राजनीति सुरु गरेदेखि पहिलो पटक यो संरचना हटाउने निर्णय गरेको हो। 

तत्कालीन एकता केन्द्रको २०५१ फागुन पहिलो साता (२–४) बसेको तेस्रो विस्तारित बैठकले  पार्टीको नाम परिवर्तन गरेर नेकपा माओवादी राख्यो। त्यसबेला माओवादीको ३५ सदस्यीय केन्द्रीय समिति थियो।

माओवादीले २०५२ फागुन १ गते दीर्घकालीन जनयुद्ध थाल्यो। जनआन्दोलन २०६२/२०६३ पछि शान्ति प्रक्रियामा आएपछि पनि माओवादी पोलिटव्युरो संरचना कायमै थियो।

त्यसबेला ३५ सदस्यीय केन्द्रीय समिति, १२ सदस्यीय पोलिटव्युरो र ७ सदस्यीय स्थायी समिति बनाइएको थियो।

शान्ति प्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालीन एकता केन्द्रसँग एकीकरण गरेर माओवादीले पार्टीको नाम फेर्दै केन्द्रीय समिति पनि बढाएको थियो।

तर, यो केही समयका लागि मात्रै गरिएको माओवादी केन्द्रका सचिव राम कार्कीले दाबी गरेका छन्।

‘केही दिनका लागि मात्र यो नराखिएको हो,’ कार्कीले नेपालखबरसँग भने, ‘हाम्रो संगठन भद्रगोल थियो, केन्द्रीय समिति कति भन्ने पनि निश्चित थिएन, पदाधिकारी पनि कति भन्ने प्रष्ट थिएन, सबै मिलाउँदै लगेका हौं, केही दिनमा पोलिटव्युरो पनि राख्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .