सात दलीय सत्ता गठबन्धनमा समस्या बढ्दै गइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग संवाद बढाएको छ।
उपप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरेका छन्।
शुक्रबार अपरान्ह समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग संवाद गरेका हुन्।
उक्त संवादका क्रममा समाजवादीलाई सत्तामा ल्याउनेदेखि दुई दलबीचको एकताबारे पनि कुरा भएको स्रोतले जनाएको छ।
खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादीसँग संवाद थाल्न नेताहरु खटाएका हुन्।
यदि रवि नेतृत्वको रास्वपाले सरकार छाडेको खण्डमा त्यो ठाउँमा समाजवादीलाई भित्र्याउने तयारी प्रचण्डको छ।
रास्वपा सरकारबाट बाहिरिए सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाएर भए पनि समाजवादीलाई भित्र्याउने रणनीति प्रचण्डले बनाएका छन्।
समाजवादी स्रोतका अनुसार आलोकनगरमा दुई नेताबीच यो विकल्पमा पनि कुरा भएको छ। त्यसैगरी यो वार्तामा दुई दलबीच एकताको सवालमा पनि कुरा भएको छ।
गत भदौमै एकताका लागि संयोजन समिति बनाउने निर्णयमा पुगेका दुई दलबीच संवाद भइरहे पनि पार्टी मिलाउने कुराले खासै गति लिन सकेको छैन।
मंसिर ४ को निर्वाचनलगत्तै एकता गर्ने तयारीमा रहेका दुई दलको वार्ता माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेपछि रोकिएको थियो।
तर अहिले फेरि प्रचण्डले अध्यक्ष नेपालसँगको वार्तालाई अघि बढाएका छन्। दुई दलबीच एकताका लागि केही चरण छलफल भइसकेका छन्। केही दस्तावेज पनि यी दुई दलले साटिसकेका छन्।
बिहीबार मात्रै समाजवादीका उपमहासचिव डा. विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए।
बिहीबार माओवादी स्थायी समिति बैठक चलिरहेकै बेला उनी पेरिस डाँडा पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए।
प्रतिक्रिया