बाँकेबाट समातिएका कैलालीको प्रतिनिधि सभा क्षेत्र नं. २ का नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली प्रहरीको जिम्मा लगाइएको छ।
बिहीबार दिउँसो समातिएका चौधरीलाई सुरक्षा चुनौतीले हवाइ मार्गबाट काठमाडौं लगिएको थियो।
काठमाडौंबाट हवाइ मार्ग हुँदै चौधरीलाई धनगढी उतारेर कैलाली प्रहरीको जिम्मा लगाइएको हो।
उनलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्।
चौधरी अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको डीएसपी बेदप्रकाश जोशीले बताए।
‘उहाँलाई काठमाडौंबाट हामीकहाँ ल्याइएको छ,’ उनले भने, ‘आज यहीँ बस्नुहुन्छ, उहाँलाई भोलि नै अदालतमा पेश गर्छौं, त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ।’
बाँकेबाट सडक मार्ग भएर कैलाली ल्याउँदा लामो दूरी भएकाले सुरक्षा जटिलता आउनसक्ने भन्दै प्रहरीले चौधरीलाई हवाइ मार्ग भएर काठमाडौ घुमाएर कैलाली ल्याएको हो।
प्रतिक्रिया