न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनको राजीनामाको घोषणाले विश्वभरका करोडौँ मानिसहरु चकित परे। तर, केही महिलाहरुले उनको अभिव्यक्तिलाई खास चासोका साथ ध्यानपूर्वक नियाल्नेछन्।
उनको लोभलाग्दो व्यक्तित्व र दयालु नेतृत्व शैलीले गर्दा आर्डेनले अत्यन्त ठूलो लोकप्रियता कमाएकी थिइन्। उनका प्रशंसकमध्ये थुप्रै महिला थिए। जसले प्रधानमन्त्रीदेखि कामकाजी आमासम्मको आर्डेनको यात्रालाई पछ्याएका थिए र उनलाई रोल मोडल मानेका थिए।
तर, आर्डेनको स्थिति एकदम दुर्लभ किसिमको छ। उनी त्यस्ती कामकाजी आमा हुन्, जो देश पनि हाँकिरहेकी छन्। प्रधानमन्त्री छँदै उनले बच्चा जन्माएकी थिइन्। त्यसो गर्ने उनी पाकिस्तानकी बेनजिर भुट्टोपछिको दोस्री महिला हुन्।
यो काम र परिवारबीच सन्तुलन कायम गर्ने मामिलामा थुप्रै हिसाबले चरम स्तरको परीक्षा थियो। त्यसमाथि यसका स्पष्टतः राजनीतिक पक्ष पनि थिए।
बढ्दो राजनीतिक समस्याको बीचमा उनले राजीनामा दिएकी हुन्। उनको लोकप्रियता घटिरहँदा न्युजिल्यान्डका जनता बढ्दो महंगी र अपराधको दरबाट चिन्तित छन्।
हो, शीर्ष पदमा आसीन हुनु सधैँ नै निकै कठिन काम हो। तर, आर्डेनले आफ्नो कार्यकालमा थुप्रै चुनौती बेहोरिन्। अभूतपूर्व महामारी, भयानक आतंकवादी आक्रमण र ज्वालामुखी विस्फोटको समयमा उनले मुलुकको नेतृत्व गरिन्।
पदमा रहुञ्जेल उनले आफूबारे भएका सघन सार्वजनिक बहसको पनि सामना गर्नुपर्यो। प्रधानमन्त्री बनेको केही महिनामै आफू गर्भवती भएको घोषणादेखि मात्र ६ हप्ता लामो सुत्केरी बिदा लिने उनको निर्णयमाथि समेत बहस भयो। कतिपयले त्यो सुत्केरी विदा साह्रै छोटो भएको भन्दै आलोचना गरे।
ं
सुरुमा यो चुनौती सामना गर्न कटिबद्ध देखिइन् उनी।
‘बच्चा यति सानो हुनाले मैले उनको सबै आवश्यकता पुरा गर्ने र आफ्नो जिम्मेवारी पुरा गर्ने विषयमा तनाव हुने अपेक्षा मैले गरेकी थिएँ। तर, जति सहयोग मैले पाएको छु, त्यसका हिसाबले यसमा म सफल हुनेमा विश्वस्त छु,’ त्यतिबेला उनले भनेकी थिइन्।
त्यतिबेला सन्तानको लालनपालनबारे आफ्ना अनुभव पनि उनले खुसीसाथ सामाजिक सञ्जालमा बाँडिन्। छोरीको जन्मदिनको केक बनाउन गर्नुपरेको संघर्षदेखि दिनभरका बैठकपछि आफ्नो कोटमा डाइपर क्रिमको दाग रहेको थाहा पाएका कुरासम्म उनले साझा गरिन्।
तर, अन्त्यमा आफ्नो राजीनामा घोषणा गर्दै उनले भावुक स्वरमा प्रधानमन्त्री पदले माग गर्ने मानवीय मूल्य अब चुकाउन नसक्ने बताइन्।
‘राजनीतिकर्मीहरु मानव हुन्। सकेजति सबैथोक हामी दिन्छौँ, जबसम्म सकिन्छ,’ अवरुद्ध गलाका साथ आर्डेनले भनिन्, ‘र, मेरा लागि समय यही हो। मलाई थाहा छ, यो काममा के चाहिन्छ। र, मलाई थाहा छ, यो कामलाई न्याय गर्न पुग्ने उर्जा अब मसँग छैन।’
उनले परिवारसँग अझ समय बिताउने इच्छाबारे बताइन्। सबैभन्दा बढी आफ्नो परिवारले योगदान गर्नुपरेको उनको भनाइ थियो। छोरीले स्कुल सुरु गर्दा आफू साथमा हुने इच्छा व्यक्त गर्दै उनले पार्टनर क्लार्कलाई भनिन्, ‘लौ अब बिहे गरौँ।’
थुप्रैले उनी राजनीतिमा अघि बढिरहने अपेक्षा गरेका थिए। उनीहरु निराश हुनेछन्। तर, तिनमा उनीप्रति सहानुभूति पनि पक्कै हुनेछ।
उनको निर्णयको पछाडि निश्चय नै राजनीतिक हिसाबकिताब पनि छ।
उनी ‘जासिन्डा–मेनिया’ को लहरमा चढेर अति चाँडो सत्तामा पुगेकी थिइन्। तर, त्यसयता उनीसँग न्युजिल्यान्डको प्रेम अमिलिएको छ। किनभने महामारीपछिको आर्थिक चुनौतीलाई सम्बोधन गर्न उनको सरकारले सकेको छैन। जीवनयापनको लागत आकासिँदो छ, असमानता गहिरिँदो छ।
केही साताअघि मात्र उनको लोकप्रियता प्रधानमन्त्री बन्नुअघि भन्दा कम भएको छ। उनको लेबर पार्टीको लोकप्रियता पनि घटेको छ।
उनले अस्वीकार गरे पनि यसलाई आफ्नो पार्टी बचाउने तथा पदासीन प्रधानमन्त्रीका रुपमा आफ्नो लज्जास्पद हारबाट बच्ने उनको चलाख निर्णयका रुपमा हेरिएको छ। कतिपयले उनको घोषणामा खुसी मनाइरहेका छन् भने बाँकी बचेको आफ्नो राजनीतिक प्रतिष्ठालाई उर्जा अभावको बहानामा बचाउन खोजेको भन्दै आलोचना पनि गरिरहेका छन्।
थकानको कारण होस् वा अप्ठेरो राजनीतिक परिस्थितिबाट बाहिरिने निर्णय अथवा दुवै, जे भए पनि केहीले उनको विदाईलाई एउटा सशक्त अभिव्यक्तिका रुपमा लिएका छन्। त्यो के हो भने व्यक्तिगत सीमा तय गर्न र त्यसलाई सम्मान गर्न महत्वपूर्ण हुन्छ।
आर्डेन आफैँले २०१८ मा भनेकी थिइन्, ‘बहुकर्म गर्ने पहिलो महिला होइन म। राजनीतिमा बाटो खन्ने महिलाहरु धेरै छन्। जसले म आमा भएर पनि काम गर्न सक्छु भन्ने सोच्न सम्भव बनाएका छन्।’ बीबीसी
Shares
प्रतिक्रिया