ad ad

राजनीति


रामकुमारी र जगन्नाथले प्रचण्डलाई भेटेको भन्दै समाजवादीमा बबाल

रामकुमारी र जगन्नाथले प्रचण्डलाई भेटेको भन्दै समाजवादीमा बबाल

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०७९ आइतबार १३:४४, काठमाडौँ

एकीकृत समाजवादीका केही नेताहरुले पार्टीलाई थाहै नदिइ एक्लै–एक्लै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि एकीकृत समाजवादीभित्र विवाद भएको छ।

उपमहासचिव जगन्नाथ खतिवडाले २२ गते शुक्रबार विहान ८ बजे र सचिव रामकुमारी झाँक्रीले त्यही दिन बिहान ९ प्रचण्डसँग भेट गरेको सूचना पाएपछि एकीकृत समाजवादीमा बबाल भएको हो।

यी दुई नेताले प्रचण्डलाई भेटेको सूचनाले अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले गम्भीरतापूर्वक लिएका छन्। 

खतिवडाले प्रचार विभाग प्रमुखको हैसियतमा अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीचको भेटलाई व्यक्तिगत भन्ने, तर आफैँ खुसुखुसु प्रचण्डसँग भेट्न जाने कुरा सुहाउँदो नभएको भन्दै उनलाई कारवाही गरिनुपर्ने माग पार्टी पदाधिकारीबीच उठेको छ।

प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री हुने तयारी गर्ने क्रममा एकीकृत समाजवादीलाई वेवास्ता गरी एक्लै गएको घटनापछि दुई पार्टीबीचको सम्बन्धमा चिसोपना आएको थियो। 

पछिल्ला दिनमा सरकारलाई समर्थन गर्ने र एकता मामिलालाई लिएर संवाद शुरु भए पनि एकीकृत समाजवादीले प्रचण्डको कार्यशैली विश्वसनीय नभएका कारण अझैसम्म समर्थन दिने कि नदिने भन्ने निर्णय गरेको छैन। 

यस्तो स्थितिमा पार्टीका पदाधिकारीहरु नै पार्टीको जानकारीबिना बालुवाटार जाने कुरा आपत्तिजनक मानिएको छ।

तर प्रचार विभाग प्रमुख खतिवडाले आफूले एक्लै प्रचण्डलाई भेटेको कुरा अस्वीकार गरेका छन्। 'मैले एक्लै प्रचण्डलाई भेटेको छैन। पार्टी अध्यक्षले नै निरन्तर उहाँलाई भेटिरहनु भएको छ', खतिवडाले नेपालखबरसँग भने, 'मैले एक्लै भेट्नुपर्ने अहिले कुनै काम छैन। उहाँको आफ्नै सात दलीय गठबन्धन छ। त्यसमा प्रधानमन्त्री एक्लैले कुनै निर्णय लिन सक्ने त होइन।'

समाजवादी उपमहासचिवसमेत रहेका खतिवडाले बरु आफूले पार्टी अध्यक्ष नेपालसँगै बालुवाटार गएर प्रचण्डलाई भेटेको स्वीकारेका छन्। त्यसबाहेक एक्लै आफूले नभेटेको स्पष्टीकरण उनले दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .