नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ।
सत्ताबाट बाहिरिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएका हुन्।
‘प्रतिवद्धताबाट हामी हटेको होइनौं,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस प्रवक्ता डा. महतले भने, ‘प्रचण्डजी हटनुभएको हो।’
उनले तत्कालीन सत्ता गठबन्धन टुटेर प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार गठन गर्दा पनि कांग्रेसले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई प्राथमिकता नदिएको पनि बताए।
‘वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई हामी प्राथमिकता दिएनौँ। यो अवस्थामा गठबन्धन टुट्नुमा नेपाली कांग्रेस दोषी छैन,’ महतले भने, ‘यद्यपि प्रचण्डजीलाई नेतृत्व दिएर गठबन्धन बचाउनेबारे छलफल गरेर निष्कर्षमा पुग्ने समय हामीलाई प्राप्त भएन।’
प्रवक्ता महतले हालको सत्ता गठबन्धनमा रहेका दलहरुको भविष्यप्रतिको दृष्टिकोणमा कुनै एकता नभएको पनि टिप्पणी गरे।
‘यो वैकल्पिक गठबन्धन शुद्ध अवसरकेन्द्रित गठबन्धन हो। राजतन्त्र चाहियो भन्ने, गणतन्त्रको बाटोमै जानुपर्छ भन्ने, संघीयता चाहिन्छ र चाहिन्न भन्ने विभिन्न रुप रंगका पार्टीहरु एक ठाउँमा आएर गठबन्धन बनाएका छन्,’ उनले भने, ‘यो गठबन्धनको विचारमा एकता छैन, दृष्किोणमा एकता छैन। भविष्यप्रतिको दृष्टिकोणमा एकता छैन।’
Shares

प्रतिक्रिया