ad ad

राजनीति


‘एकीकृत समाजवादीका उम्मेदवारसहित डेढ सय केन्द्रीय सदस्य भोट हाल्नै गएनन्’

केन्द्रीय नेता नै एमाले र माओवादीसँग मिलेर पार्टीलाई हराएको आरोप
‘एकीकृत समाजवादीका उम्मेदवारसहित डेढ सय केन्द्रीय सदस्य भोट हाल्नै गएनन्’

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
पुस १९, २०७९ मंगलबार १३:५६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी पोलिटब्युरो बैठकमा मंसिर ४ को निर्वाचनमा भएको पराजयबारे चर्को आवाज उठेको छ।

बैठकमा सहभागी नेताहरुले चुनावमा १७ हजार मत नपुगेर राष्ट्रिय दल हुन नसकेको विषय कडासँग उठाएका हुन्। 

'मंसिर ४ को निर्वाचनमा राष्ट्रिय पार्टी हुन नसकेको विषय गम्भीरतापूर्वक उठेको छ। त्यस निर्वाचनमा पार्टीविरुद्ध लाग्ने नेतादेखि कार्यकर्तासम्मलाई कारबाहीको प्रस्ताव अघि सारिएको छ', एकजना पोलिटब्युरो सदस्य दिलु पन्तले नेपालखबरसँग भनिन्, 'कयौँ केन्द्रीय सदस्य र समानुपातिकका उम्मेदवार नै भोट हाल्न नगएको विषय पनि बैठकमा उठेको छ। यस्तो भद्रगोल शैलीमा पार्टी चल्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो। पार्टीविरुद्ध लाग्ने जोसुकैलाई कारबाही गर्न सक्नुपर्छ।'

बैठकमा नेताहरुले करिब १५० जना केन्द्रीय सदस्यहरु भोट हाल्नै नगएको कुरा उठाएका छन्। 'हाम्रा समानुपातिक उम्मेदवार र करिब डेढ सय केन्द्रीय सदस्य भोट हाल्नै नगएको कुरा उठेको छ। कतिपय नेताले अरु पार्टीका नेतासँग बसेर पार्टीलाई भोटसमेत मागेनन्। उनीहरुको नामसहित बैठकमा पेश भएको छ।'

'१७ हजार मत अभावमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दल हुन नसकेको पार्टीका जिम्मेवार डेढ सय केन्द्रीय सदस्यले आफ्ना उम्मेदवारलाई भोट हाल्नै गएनन्', बैठकमा सहभागी अर्का नेताले भने, 'केही साथीहरुले त अन्य दलको उम्मेदवारसँग उठबस गरे। प्रचारमा पनि हिँडेको पाइयो। त्यसबारेको नाम र तस्बिरसमेत बैठकमा पेश भएको छ।'

बैठकमा पार्टीका जिम्मेवार नेताहरु कोही एमालेसँग त कोही माओवादीसँग मिल्न गएको कुरा उठेको छ। 'केही सांसद नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ गए। कोही प्रचण्डकहाँ गए। मन्त्री हुन गए कि किन गए?', बैठकमा एक नेताले भने, 'यसरी सूचना बाहिरिसकेपछि उनीहरुलाई कारबाही हुनुपर्‍यो। नत्र पार्टी यसरी चल्न सक्दैन।'

प्रत्यक्षतर्फका उम्मेदवारलाई जिताउने कुरामा केन्द्रदेखि जिल्ला कमिटीले पनि रणनीति बनाउन चुकेको कुरा बैठकमा उठेको पोलिटब्युरो सदस्य पन्तले बताइन्। 

'प्रत्यक्षको उम्मेदवारले कसरी जित्ने भन्ने हुन्छ सम्बन्धित जिल्लाको पार्टी र प्रदेश कमिटीको हो। तर ती कमिटीले रणनीति नै बनाउन सकेनन', उनले भनिन्, 'बरु संगठनमा निराशा बढाउने काम भएको छ। समानुपातिकको उम्मेदवार आफैं पनि भोट दिन गएनन्। यो कुरामा पार्टी कारबाहीका लागि डराउनु हुँदैन। पार्टीविरुद्ध लाग्नेलाई निलम्बन वा कारबाही हुनुपर्छ। हाम्रो माग यही हो। यसरी ओगटिराख्नु भन्दा छाडेर जानु राम्रो हुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .