नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको परिणाम र अब बन्ने नयाँ गठबन्धनबारे विदेशी चासो पनि उत्तिकै छ। नेपालको विदेश सम्बन्धमा बढी अर्थ राख्ने छिमेकी भारत, चीन र महाशक्ति अमेरिकाले अब कस्तो सरकार बन्ला भन्नेबारे प्रत्यक्ष वा परोक्षरुपमा चासो दर्शाइरहेका छन्।
यही सन्दर्भमा नेपालखबरले नयाँदिल्लीस्थित नेपाल मामिलाका जानकार निहार नायकसँग संक्षिप्त कुराकानी गरेको छ।
नेपालको चुनावी परिणामलाई दिल्लीमा कसरी हेरिएको छ?
अब हेर्नुस् चुनाव नेपालको नितान्त आन्तरिक मामिला हो। चुनावी परिणाम मिश्रित खालकै आएको छ। किनकि नेपालका ठूला दलहरु एक्लाएक्लैभन्दा पनि गठबन्धन बनाएर चुनाव लडे। कुनै पनि दलले स्पष्ट बहुमत पाएनन्। नजिकको छिमेकीका हिसाबले भारतका लागि यो चुनाव र चुनावी परिणामबारे चासो रहनु स्वाभाविक नै हो। कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा आएको छ। अहिलेकै सत्ता गठबन्धनले संसदमा बहुमत पाउने देखिएको छ। भारतका लागि अवश्य पनि यो ‘गुड न्युज’ हो।
यो चुनावबाट तराई–मधेशमा स्थापित दलले हार बेहोरे। सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिका रुपमा देखिएका छन्।
नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न लागेको छ। भारतले नयाँ सरकारसँगको सहकार्य कसरी अघि बढाउँछ?
एमालेका अध्यक्ष केपी ओलीले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गरेको सुनिएको छ। तर अहिलेसम्म हेर्दा उनको चाहना पुरा हुने देखिँदैन। ओलीको चाहना पुरा हुन माओवादी केन्द्र र एमालेबीच सरकार बनाउन सहमति हुनुपर्ने हुन्छ। त्यसको सम्भावना नै छैन भन्न सकिँदैन। तर अहिलेसम्म हेर्दा त्यस्तो देखिँदैन। तर यदि ओलीले प्रचण्डलाई प्रधानमन्त्री अफर गरेको खण्डमा त्यो सम्भव हुनसक्छ।
भारतका लागि यो चुनावको परिणाम गुड न्युज हो भन्नुभयो। के कांग्रेस-माओवादी गठबन्धन भारतका लागि भूराजनीतिक हिसाबले पनि सहज हो?
बिल्कुल। नेपालमा भारत र चीनका आफ्नै चासो र सरोकार छन्। मैले अघि भनिसकेँ, अहिलेको सत्ता गठबन्धनको निरन्तरता नै भारतका लागि कम्फरटेबल छ। नेपाल र भारतबीचका जारी सहकार्य अब थप सुदृढ भएर जानेछन्। अहिले दुई देशले जलस्रोत लगायत क्षेत्रमा थालेका काम अघि बढ्नेछन्। भारतले आफ्नो छिमेक प्रथम नीतिअनुसार नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएर अघि बढाउनेछ।
प्रतिक्रिया