ad ad

राजनीति


सहमति नभए दलको नेतामा गगनलाई समर्थन गर्ने केसीको संकेत

सहमति नभए दलको नेतामा गगनलाई समर्थन गर्ने केसीको संकेत

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १६:३९, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सहमतिमै संसदीय दलको नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। 

कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले प्रतिस्पर्धा तयारी गरिररहेका बेला केसीले सहमतिकै नेतृत्वमा जोड दिएका हुन्। 

नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित केसी महामन्त्री थापाका पारिवारिक नातेदार पनि हुन्। 

कांग्रेसको १३ औँ महाधिवेशनमा केसी र थापा महामन्त्रीमा प्रतिस्पर्धासमेत गरेका थिए। तर, दुवैजना पराजित भए। 

‘कांग्रेसको अहिलेको स्थिति हेर्दा सहमतिमै नेतृत्व चयन हुनुपर्छ भन्ने मलाई लाग्छ’, नेपालखबरसँगको कुराकानीमा केसीले भने, ‘पार्टी कमजोर नहुने र जनताप्रति उत्तरदायी हुनसक्ने गरी दलको नेतृत्व चयन गर्नुपर्छ।’

आफू सहमतिको पक्षमा भए पनि यदि त्यसो हुन नसके कुनै उम्मेदवारलाई सघाउने उनले बताए। त्यो स्थितिमा आफ्नो समर्थन कांग्रेस महामन्त्री गगन थापालाई समर्थन हुने संकेत केसीले गरे। 

महामन्त्री थापाले प्रतिनिधि सभाको निर्वाचनकै क्रममा आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका थिए। 

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएलगत्तै दलको नेतामा प्रतिस्पर्धाका लागि उनी आक्रमक रुपमा प्रस्तुत भइरहेका छन्। 

नयाँ नीति र योजनासहित युवापुस्तामा नेतृत्व हस्तान्तरणलाई महामन्त्री थापाले मुद्दाका रुपमा अघि सारेका छन्।  

प्रतिस्पर्धा गरेरै भए पनि संसदीय दलको नेता बन्ने थापाको योजनामा पारिवारिक नातेदार एवम् नुवाकोट– १ बाट निर्वाचित केसीले कसलाई समर्थन गर्लान् भन्ने चासो राजनीतिक बृत्तमा छ।

कांग्रेसको १३ औँ महाधिवेशनमा केसी र थापा दुवैजना परस्पर विरोधी समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। यसअघि २०५१ मा केसी पनि संसदीय दलको नेताको दावेदार रहेकाले यस्तो चासो बढेको हो। 

१४ औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्री निर्वाचित थापा १३ औँ महाधिवेशनमा भने कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए। तर, पराजित भए। 

शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमै प्रतिस्पर्धा गरेका केसी पनि पराजित भएका थिए। केसी र थापा दुवैजना महामन्त्रीमा पराजित त्यो महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलका डा. शशांक कोइराला विजयी भएका थिए।
कांग्रेसको महामन्त्रीका लागि थापा र केसीबीचको प्रतिस्पर्धा गैर–कांग्रेसबृत्तका लागि पनि यसर्थ रोचक थियो कि, नातामा उनीहरु छोरी–ज्वाइँ (थापा) र ससुरा (केसी) हुन्।  

१३ औँ महाधिवेशनमा फरक–फरक प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित थापा र केसी दुवैजना १४ औँ महाधिवेशनमा भने डा. शेखर कोइराला प्यानलमा रहे। र, थापा अत्यधिक मतले विजयी भए।

महामन्त्री थापाले संसदीय दलको नेताका लागि आक्रामक प्रचार सुरु गरेपछि केसीले के गर्लान्? भन्ने चासो यसर्थ बढेको छ। खासमा २०५१ मंसिरमा संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँगै केसीले पनि उम्मेदवारी दर्ता गराएका थिए। 

तर, केसी लगायतले उम्मेदवारी फिर्ता लिएपछि सहमतिमा देउवालाई संसदीय दलको नेता चयन गरिएको थियो। 

‘त्यो बेलाजस्तै अहिले पनि सहमतिको आवश्यकता छ’ केसीले भने, ‘तर, अहिले सहमतिको बिन्दु केलाई बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ।’ 

उनको भनाइमा, जनताले नेतृत्व, कार्यशैली र नीतिमासमेत परिवर्तन चाहेकाले परिवर्तनको आभाष हुने गरी सहमतिमा संसदीय दलको नेतृत्व चयन गर्नुपर्छ। 

‘संसदीय दलको नेताबारे अहिलेसम्म मैले केही बोलेको छैन, किनभने म भर्खरै नुवाकोटबाट फर्केको छु’   केसीले भने, ‘यति भनिसकेपछि तपाईंहरुले पनि बुझ्न सक्नुहुन्छ, प्रतिस्पर्धाको स्थितिमा मेरो समर्थन कसलाई जान्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .