डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गरेका छन्।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन्।
उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए। शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको उनले आरोप लगाए। शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे।
डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताए।
उनले भने, ‘ओली, देउवा र प्रचण्ड लगायत ठूला दलका नेताहरु आम मानिसलाई राहत दिन होइन, ठग ठेकेदार र अपराधीहरुबाट अरबौं असुली गर्दै तिनलाई चुनावको उम्मेदवार बनाउने र तिनकै बलमा सत्ताको रजाइँ गर्ने होडमा छन्। विदेशमा श्रम गरेर देशको अर्थतन्त्र धान्ने नागरिकहरु मताधिकारबाट वञ्चित छन्। जसको भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति प्रमाणित भएको छ, त्यस्ता उम्मेदवारहरुलाई चुनावमा नहराएसम्म यो देशको राजनीति संग्लिने छैन। त्यसका लागि हामीसित तम्तयार विकल्प नहुनसक्छ तर विकल्प सिर्जना गर्ने मौका पनि अहिले हामीसित छ। देशमा अराजकता, भ्रष्टाचार, अपराध र लुटतन्त्र मच्चाउने तथा तानाशाही आकांक्षा बोकेका तथा राज्य सञ्चालनमा नालायक प्रमाणित भइसकेको मुख्य दलका शीर्ष नेताहरुको हालीमुहाली कायम रहँदा गएको पाँच वर्षमा देश दशौं वर्ष पछाडी धकेलिइसकेको छ।’
उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे। उनले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे।
उनले भने, ‘आगामी निर्वाचनलाई जिम्मेवारीपूर्वक अवसरका रुपमा प्रयोग गर्न तथा अघिल्लो चुनावको जस्तो गल्ती फेरि नदोहोर्याउन समग्र मतदाताहरुलाई अपिल गर्दछौँ। साथै आउँदा चुनावहरुमा वैदेशिक रोजगारीमा रहने युवाहरुको मताधिकार सुनिश्चित गर्ने माग पनि राख्न चाहन्छौँ। शीर्षस्थ नेता, देश, जनतालाई धोका दिने, जनताको विश्वासघात गर्ने नेताहरुलाई भोट नहाल्नु होला। नत्र देश अर्को दश वर्ष पछाडी धकेलिन्छ। अराजकता त छँदैछ। असफल राष्ट्र हुन्छ। त्यो हामी चाहदैनौँ। नयाँ पुस्तालाई, युवा पुस्तालाई विधिको शासन स्थापित गरेर जाऔँ। विधिको शासन स्थापित गराउने हो भने यि राजनीतिलाई भ्रष्टीकरण, अपराधीकरण गर्ने शीर्षस्थ नेताहरुलाई भोट नदिउँ। अरु नेताहरु छन्। सबै पार्टीमा राम्रा नेताहरु छन्। ति उम्मेदवारहरुलाई भोट दिउँ।’
उनले नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताए। नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उनको भनाई छ।
Shares

प्रतिक्रिया