निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुलुकन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएका विषयमा आयोगले स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
बागमती प्रदेश सरकारले गत असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो। यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिकूल रहेको देखिन्छ। आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो? स्पष्ट पार्न पत्रमा भनिएको छ।
साथै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेका अवस्थामा गत असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश ल्याउने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड दफा (५) को (ख) को उल्लङ्घन भएको देखिएकाले यहाँलाई समेत उक्त निर्णयका लागि जिम्मेवार ठह¥याइ निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो? जवाफ पेश गर्न भनिएको छ।
Shares

प्रतिक्रिया