ad ad

राजनीति


बेइजिङले कसलाई पठाउँदैछ काठमाडौँमा नयाँ राजदूत? यी हुन् चर्चामा रहेका नाम

बेइजिङले कसलाई पठाउँदैछ काठमाडौँमा नयाँ राजदूत? यी हुन् चर्चामा रहेका नाम

सिओङ् पो दक्षिण एसिया मामिला राम्रोसँग बुझेका चिनियाँ कुटनीतिज्ञ मानिन्छन् (भियतनामनेट)


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार २२:२९, काठमाडौँ

नेपालमा चीनले अब नयाँ राजदूत कसलाई पठाउँदैछ भन्ने चासो यहाँको राजनीतिक र कुटनीतिक वृत्तमा छ।

राजदूत होउ यान्छी चारवर्ष नेपालमा बिताएर फर्केको दुई साता बितेपनि उत्तरी छिमेकी चीनले उनको ठाउँमा नाम प्रस्ताव गरिनसकेको सरकारी अधिकारीहरु बताउँछन्।

चीनका लागि भारतस्थित राजदूत सन विदोङ् र नेपालस्थित राजदूत होउ यान्छीको एकैसमयमा बिदाई भयो। अब चीनले उही समयमा भारत र नेपालका लागि नयाँ राजदूत प्रस्ताव गर्नेछ।

नेपालबाट फर्केकी होउलाई उत्तरपूर्वी एसियाली मुलुकहरुको संगठन आसियान हेर्नेगरी सरुवा गरिएको बताइएको छ। तर राजदूत सनलाई चिनियाँ विदेश मन्त्रालयमै अब कुनै महत्वपूर्ण जिम्मेवारी दिन लागिएको चर्चा छ।

काठमाडौँस्थित एक जना कुटनीतिक अधिकारीका अनुसार अबको केही साता भित्रै चीनले नेपालमा नयाँ राजदूत टुंगो लगाउनेछ।

काठमाडौँमा अमेरिकासँग बढ्दो भूराजनीतिक प्रतिस्पर्धा र भारतसँगको क्षेत्रीय प्रतिस्पर्धा सन्तुलन गर्न सक्ने कुटनीतिज्ञ मध्येबाट बेइजिङले राजदूत तोक्ने ती अधिकारीले बताए।

चीनले नेपालमा अब पठाउनसक्ने राजदूतका लागि केही नाम चर्चामा आएका छन्। चर्चाको अग्रस्थानमा छन्– हाल भियतनाममा चिनियाँ राजदूत रहेका सिओङ् पो। त्यस्तै नेपालस्थित चिनियाँ दूतावासमा कार्यबाहक राजदूत रहिसकेका चङ् जी पनि चर्चामा छन्। यी दुवै नभएर तेस्रो व्यक्ति आउनसक्ने सम्भावना पनि रहेको अधिकारीहरूले दाबी गरेका छन्।

सिओङ् पो दक्षिण एसिया मामिला समेत राम्रोसँग बुझेका चिनियाँ कुटनीतिज्ञ मानिन्छन्। उनले सन् १९८५ मा एसियाली मामिला विभागबाट चिनियाँ विदेश सेवामा जागिर थालेका थिए।

अर्का कुटनीतिज्ञ चङ्सँग काठमाडौंस्थित चिनियाँ दूतावासमै काम गरेको र नेपालको नेतृत्वसँग पनि घुलमिल भएको अनुभव छ।

तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन भएपछि सी चिनफिङ् कस्तो विदेश नीति, खासगरी छिमेक सम्बन्ध राख्छन् भन्ने चासो एसियाभर नै छ।

त्यसैले चीनसँग आर्थिक रुपमा पनि निकट सम्बन्ध रहेका भारत, नेपाल र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकमा अब कस्ता चिनियाँ राजदूत नियुक्त हुन्छन् भन्ने चासो धेरैमा छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .