नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालन मूल समितिले आफ्नो क्षेत्रको विकासका लागि सूर्य चिन्हमा मतदान गर्न अपिल गरेको छ। झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन मूल समितिले एक अपिल जारी गर्दै आगामी प्रधानमन्त्रीका रुपमा ओलीलाई नै अघि सारिएको र झापाको विकासका लागि सूर्य चिन्हमा मतदान गर्नपर्ने उल्लेख गरेको छ।
‘उहाँले आगाडि सार्नुभएका योजनाले यस निर्वाचन क्षेत्रको विकासमा फड्को मारेको छ। आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि केपी शर्मा ओलीको खाँचो छ।’ अपिलमा भनिएको छ। साथै, मिडियाले राम्रो काम गर्ने/नगर्ने सबैलाई एउटै डालोमा हालेर विरोध गरेको अपिलमा बताइएको छ।
‘देशव्यापी रुपमा मिडियाबाट राम्रो काम गर्ने नगर्ने सबैलाई एउटै डालोमा हालेर विरोध गर्ने प्रवृति एकलकाटे र भ्रामक रहेको छ र यसले जनतालाई निरास पार्ने काम मात्र गरेको छ,’ अध्यक्ष ओलीको अपिलमा भनिएको छ, ‘केपी शर्मा ओलीको सरकारले राष्ट्र, राष्ट्रहित र जनताको पक्षमा गरेका कामहरू (नेपालको चुच्चे नक्सा, चीनसँगको नाका प्रयोग गर्न पाउने सम्झौता, रोजगारमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, नागरिक स्वास्थ्य विमा कार्यक्रम) दीर्घकालीन महत्त्व राख्ने कार्यक्रमहरु हुन। यसलाई कसैले हटाउन सक्दैन।’
०७० सालको दोस्रो संविधानसभामा सोही क्षेत्रबाट निर्वाचित भएर ओलीले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको अपिलमा बताइएको छ।
ओली अहिले पनि पार्टी भित्र र बाहिरबाट अनेकौं समस्यासँग जुधेको भन्दै चुनौतीसँग लडिरहेको बताइएको छ। ‘अहिले पनि पार्टीभित्र र बाहिर अनेकौं समस्यासँग जुध्दै आउनुभएको छ । दुईरदुई पटक मृगौला प्रत्यारोपण गरे पनि उहाँ अहिले युवा जोश जाँगरका साथ १८र२० घण्टा खट्नु हुन्छ,’ निर्वाचन परिचालन समितिले जारी गरेको अपिलमा भनिएको छ, ‘भनिन्छ, महान सपना बोक्नेहरुले मृत्युलाई पनि चुनौती दिन सक्छन्। उहाँको जीवनमा यही चरितार्थ भएको छ । राष्ट्र, राष्ट्रियता, स्वाधिनताको लडाईमा सधैं अग्र पङ्क्तिमा उभिएर आफ्नो छुट्टै परिचय बनाउनु भएको छ। देश विकासका महान सपना बोक्नु भएको छ।’


Shares

प्रतिक्रिया