सत्तारूढ गठबन्धनको बैठक अहिले बिहान ९ बजे बस्दैछ। बुधबार बसेको बैठकले सहमति जुटाउन नसकेपछि फेरि गठनबन्धन बस्न लागेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि संघका केही सिट र प्रदेश सभामा कुरा मिल्न सकेको थिएन।
गठबन्धन कार्यदलका सदस्यहरुले प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन नसकेको बताएका थिए।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलाई तय गरेको अवस्थामा सत्ता गठबन्धन सहमतिमा जुटाउने कोसिसमा छन्।
तर गठबन्धन सदस्य घटक जनता समाजवादीले नेपाली कांग्रेस र माओवादीले आफूलाई पेलेको भन्दै एमालेसँग संवाद अघि बढाएको छ।
२५ सिटको अडानमा रहेको जसपालाई कांग्रेस र माओवादी भनेजति दिन तयार छैनन्। यस्तो अवस्थामा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिरहेका छन्।
एमाले पनि लोकतान्त्रिक समाजवादीसँग तालमेल नगर्ने निष्कर्ष पुगेपछि जसपासँग गठबन्धनको पक्षमा देखिएको छ।
यस्तोमा यदि मागेजति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धनबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।
Shares
प्रतिक्रिया