ad ad

राजनीति


माओवादीको सर्लाही रणनीति : रामेश्वर पछि हट्दा प्रचण्डले अघि बढाए नरेन्द्र साहलाई

माओवादीको सर्लाही रणनीति : रामेश्वर पछि हट्दा प्रचण्डले अघि बढाए नरेन्द्र साहलाई

माओवादीमा प्रवेश गरेका नरेन्द्र साहलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड


नेपालखबर
असोज १३, २०७९ बिहिबार १९:३, काठमाडौँ

पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत जित निकालेर माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्न सफल भयो। 

त्यति ठूलो विजयका बाबजुद ६ सिट रहेको प्रदेश २ को सर्लाहीमा उसले एउटामा पनि जित निकाल्न सकेन। 

तर, त्यसयताका दुई निर्वाचनमा माओवादीले सर्लाहीका एउटा न एउटा क्षेत्रमा विजय हासिल गर्दै आएको छ। जस्तो : दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही- १ मा माओवादी उम्मेदवारले जित निकाले। २०७४ को निर्वाचनमा सर्लाही– ३ मा पनि माओवादी विजयी भयो। 

विपक्षी पार्टीका ‘हेबिवेट’ उम्मेदवारलाई पार्टीमा प्रवेश गराएकाले पहिलो संविधान सभा निर्वाचनमा एक सिट पनि जित्न नसकेको माओवादीले त्यसपछिका दुवै निर्वाचनमा सर्लाहीका १–२ सिटमा विजय हासिल गरेको थियो। 

आगामी निर्वाचनमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७० र २०७४ को निर्वाचनकै नीति अपनाएका छन्। 

मंसिरमा हुने निर्वाचनमा सर्लाहीमा माओवादी केन्द्रको जितलाई निरन्तरता दिन प्रभावशाली नेता भित्र्याएका छन्।

तराई मधेश सद्भावना पार्टीबाट २०७० मा समानुपातिक कोटामा संविधान सभा सदस्य बनेका सर्लाही-३ का नरेन्द्र साहको प्रवेश सर्लाहीमा माओवादीलाई चुनाव जिताउने नीतिकै अंश हो। अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर साह बुधबार माओवादीमा प्रवेश गरेका छन्।  

साह २०७४ को निर्वाचनमा सर्लाही–३ बाट स्वतन्त्र बनेर प्रतिस्पर्धा गरेका थिए। माओवादी केन्द्रका रामेश्वर राय यादव २२ हजार मतका साथ विजयी हुँदा साहले १२ हजार मत प्राप्त गरी तेस्रो भएका थिए।

साहको व्यक्तिगत प्रभावलाई मध्यनजर गर्दै २०७४ मा विजयी यादवलाई समानुपातिक उम्मेदवार बनाएर सर्लाही-३ मा उठाउने गरी साहलाई पार्टी प्रवेश गराइएको हो।

माओवादीको सर्लाही रणनीति 
सर्लाहीका ६ वटा निर्वाचनमध्ये २०६४ को निर्वाचनमा माओवादीले कुनै पनि क्षेत्रमा विजय हासिल गर्न सकेको थिएन। त्यो निर्वाचनमा सर्लाही १ र २ मा एमाले, ३ मा तमलोपा, ४ र ५ मा सद्भावना र ६ मा मधेशी जनाधिकार फोरमका उम्मेदवार विजयी भएका थिए।

एमालेले पहिलो संविधान सभा निर्वाचनमा सर्लाहीका दुई–दुई क्षेत्रमा विजय हासिल गरेकाले अध्यक्ष झलनाथ खनालसमेत २०७० को निर्वाचनमा सर्लाहीमै चुनाव लड्न पुगेका थिए। इलाममा असुरक्षा भएपछि  एमालेका तत्कालीन अध्यक्ष खनालले सर्लाही– १ मा प्रतिस्पर्धा गरेका थिए।

तर, २०६४ को पहिलो संविधान सभा निर्वाचनमा २ हजारभन्दा बढी मतले पराजित माओवादीले नेपाली कांग्रेसबाट छाडेका शम्भुलाल श्रेष्ठलाई त्यो क्षेत्रमा उम्मेदवार बनायो। माओवादी उम्मेदवार श्रेष्ठले एमाले अध्यक्ष खनाललाई पराजित गरे। 

श्रेष्ठले ९ हजार ४ सय ७६ मत प्राप्त गरी विजय हासिल गर्दा खनालले ८ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए। धन्न ! इलाम-१ मा विजय हासिल गरेकाले खनालले दोस्रो संविधान सभा निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे।  

माओवादी केन्द्रबाट राज्यमन्त्रीसमेत बनेका श्रेष्ठ २०७४ मा कांग्रेसमै फर्केर सर्लाही-१ बाट उम्मेदवार बने। माओवादी उम्मेदवार बन्दा विजयी श्रेष्ठले कांग्रेस उम्मेदवारका रुपमा २०७४ को निर्वाचनमा भने सफलता प्राप्त गर्न सकेनन्। उनी तेस्रो भए। 

माओवादी केन्द्रमा प्रवेश गरेर सांसद र राज्यमन्त्रीसम्म बनेका श्रेष्ठ नेपाली कांग्रेसमै फर्किए पनि २०७४ को निर्वाचनअघि सर्लाहीका पुराना नेता रामेश्वर राय यादव माओवादी केन्द्र प्रवेश गरे। सर्लाही– ३ आफ्नो भागमा पारेर माओवादीले वामगठबन्धनबाट सोही क्षेत्रमा यादवलाई उम्मेदवार बनायो।

गजेन्द्रनारायण सिंहको पालादेखि सद्भावना पार्टीका नेता रहेका यादव राष्ट्रियसभा सदस्य समेत भएका थिए। २०६३ को मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरममा प्रवेश गरेका उनले सोही पार्टीबाट २०६४ र २०७० मा उम्मेदवार बनेपनि विजय हासिल गर्न सकेका थिएनन्।

तर, सर्लाहीबाट प्रत्यक्षतर्फको कुनै चुनावमा विजय हासिल गर्न नसकेका यादवलाई माओवादी केन्द्रको टिकट फाप्यो। 

२०७४ को निर्वाचनमा सर्लाही-३ बाट उनी २२ हजार ३ सय ८७ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरेशप्रसाद महतोले १४ हजार ९ सय २९ मत प्राप्त गरेका थिए। 

यसकारण माओवादीमा साह
खासमा त्यही क्षेत्रमा साहको व्यक्तिगत प्रभावकै कारण अध्यक्ष प्रचण्डले उनलाई पार्टी प्रवेश गराएका हुन्। सर्लाही-३ बाट साहलाई उम्मेदवार बनाउन माओवादी केन्द्रले पार्टी पोलिटब्यूरो सदस्यसमेत रहेका २०७४ मा निर्वाचित रामेश्वर राय यादवलाई समानुपातिक उम्मेदवार बनाएको छ।  

त्यस क्षेत्रमा साह कति प्रभावशाली छन् भन्ने बुझ्न २०७४ मा उनले प्राप्त गरेको मत हेर्दा थाहा हुन्छ। तेस्रो स्थानमा रहेर पराजित भए पनि त्यो निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा १२ हजार ८६ मत प्राप्त गरेका थिए।

जानकारहरुका भनाइमा उनी २०७४ मै माओवादी केन्द्र प्रवेश गरी उम्मेदवार बन्न चाहन्थे। तर, उनी भन्दा अगाडि यादव माओवादी केन्द्र प्रवेश गरिसकेका थिए। 

स्थानीय तह निर्वाचनमा यादवले चक्रघट्टा नगरपालिका लगायतमा माओवादी केन्द्रका उम्मेदवारलाई मेयरमा विजयी बनाएपछि यादवको दावेदारी अरु बलियो बन्यो। 

माओवादीबाट टिकट पाउने सम्भावना नभए पनि साह उनी अन्य पार्टीमा प्रवेश गरेनन्। बरु स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरे। र, १२ हजार मतका साथ तेस्रो स्थानमा रहे।

स्वतन्त्र उम्मेदवारका रुपमा १२ हजार भन्दा बढी मत प्राप्त गर्नुका अलावा पहिल्यै पार्टी प्रवेश गर्न खोजेकाले उनलाई यसपटक उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराएको हो। 

जानकारी अनुसार, त्यस क्षेत्रका यसअघि माओवादीबाट विजय हासिल गरेका यादव र अर्का दावेदार अच्युतम् काफ्लेले पनि साहलाई समर्थन गरिसकेका छन्।

मुख्य आम्दानीको स्रोत क्यासिनो भएका साह अर्बपति मानिन्छन्। २०७४ को निर्वाचनमा निकै ठूलो रकम खर्च गरेका उनले पराजयपछि पनि जाडो मौसममा सर्लाहीका गाउँ–गाउँमा कम्बल बाँडेर मतदाताको समर्थन बचाउने प्रयास गरेका थिए। 

२०७४ मा माओवादी केन्द्रले विजय हासिल गरेको क्षेत्र भएकाले यसपटकपनि सत्ता गठबन्धनमा सर्लाही-३ माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भइसकेको छ। 

माओवादीका अलावा नेपाली कांग्रेसको पनि बलियो प्रभाव रहेको र उनको आफ्नै व्यक्तिगत प्रभावका कारण यो क्षेत्रमा विजय हासिल गर्न साहलाई सहज हुने मानिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .