ad ad

राजनीति


६४ वर्षदेखि कांग्रेसको चारतारे झण्डा फहराउन नसकेको एउटा जिल्ला

६४ वर्षदेखि कांग्रेसको चारतारे झण्डा फहराउन नसकेको एउटा जिल्ला

केशव सावद
भदौ २२, २०७९ बुधबार ७:४०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की २०७४ मा प्रतिनिधिसभा निर्वाचन लड्न पहाडबाट तराई झरे। 

कार्की गृहजिल्ला भोजपुर छाडेर निर्वाचन लड्न तराई झर्नुको कारण थियो- लगातार तीन पटकको हार।

भोजपुरमा नेपाली कांग्रेसले २०४८ पछिका कुनै पनि संसदीय निर्वाचन नजितेपछि कार्की सहज जितको खोजी गर्दै सुनसरी झरेका हुन्।

२०५१ को मध्यावधि निर्वाचनमा भोजपुरबाट ‘डेब्यु’ गरेका कार्की हारमा ‘ह्याट्रिक’ भएपछि २०७० को दोस्रो संविधानसभामा समानुपातिकतर्फ बसे। 

२०५१ मा पहिलोपल्ट हारेका कार्की २०५६ को आम निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि भोजपुर–१ बाट पराजित भए।

२०७० मा दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ मा झरे र वाम गठबन्धनका उम्मेदवारलाई हराउँदै उनले  चुनाव जिते । कार्कीले ३२ हजार ३४७ मत ल्याउँदा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत पाए ।

यसपालिको चुनावमा मन्त्री कार्की पहाड उक्लने सम्भावना छैन । 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की

२०१५ सालमा क्लिन स्वीप
२०१५ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्रहरु भोजपुर–१९ (मध्य), भोजपुर–२० (दक्षिण) र भोजपुर–२१ (उत्तरपूर्व) मा विजयी भएर विजयी भएर कांग्रेसले क्लिन स्वीप गरेको थियो।

पहिलो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट भोजपुर–१९ (मध्य) बाट खड्गबहादुर कार्की, भोजपुर–२० (दक्षिण) बाट भूदेव राई, भोजपुर–२१ (उत्तरपूर्व) बाट देवानसिंह राई विजयी भएका थिए।

उक्त निर्वाचनमा भोजपुर–१९ (मध्य) बाट उठेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हर्षबहादुर श्रेष्ठ १ हजार १९९ मतसहित चौथो र भोजपुर–२१ (उत्तरपूर्व) बाट उठेका महेन्द्रबहादुर राई १ हजार २६४ मतसहित तेस्रो भएका थिए।

भोजपुर–२० (दक्षिण) मा भने दोस्रो भएका गोरखा परिषदका सुवेदार दुर्गाबहादुरपछि ३ जना स्वतन्त्रले बढी मत ल्याएका थिए।

हेर्नुहोस् पहिलो आम निर्वाचनको नतिजा-

प्रजातन्त्र पुनःस्थापनापछि वामपन्थीको कब्जा
पहिलो संसदीय चुनावमा तीनवटै सिट जितेको कांग्रेसले भोजपुरमा विगत ६४ वर्षदेखि विजयको हर्षोल्लासमा पार्टीको चारतारे झण्डा फहराउने अवसर नै पाउन सकेको छैन।

प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो आम निर्वाचन (२०४८) मा भोजपुरमा तीनवटा निर्वाचन क्षेत्र थिए। उक्त निर्वाचनमा कांग्रेसले १ बाट लक्ष्मी राई, २ बाट हेमराज कोइराला र ३ बाट कुमार राईलाई उम्मेदवारका रुपमा अघि सारेको थियो। तीनवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए। भोजपुर–१ म कांग्रेस नेतृ राई एमाले नेता नरेन्द्र बस्नेतसँग, २ मा कांग्रेसका कोइराला एमालेका हेमराज राईसँग र ३ मा कांग्रेसका राई एमालेका धनहर्क राईसँग पराजित भएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा भोजपुर–१ बट एमाले उम्मेदवार हेमराज राई विजयी भएका थिए। यो निर्वाचन नै सञ्चारमन्त्री कार्कीको ‘डेब्यु’ थियो। उनी राईसँग मात्र २६ मतले पराजित हुन पुगेका थिए। राईले १५ हजार ९७४ र कार्कीले १५ हजार ९४८ मत प्राप्त गरेका थिए।

२०५६ को आमनिर्वाचनमा पनि सञ्चारमन्त्री कार्की भोजपुर–१ बाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। उक्त निर्वाचनमा एमाले नेता धनेन्द्र बस्नेत १५ हजार ४४३ मतले विजयी भएका थिए। कार्कीले १४ हजार ६०५ मत ल्याएका थिए।

उक्त निर्वाचनमा भोजपुर–२ मा कांग्रेस उम्मेदवार लक्ष्मी राई एमालेका शेरधन राईसँग पराजित भएकी थिइन्। शेरधन १८ हजार ४४७ मतसहित विजयी हुँदा लक्ष्मीले १४ हजार ९२५ मत पाएकी थिइन्।

पहिलो संविधानसभा निर्वाचनमा सञ्चारमन्त्री कार्की भोजपुर–१ बाट उम्मेदवार थिए। तर, उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमबहादुर राईसँग पराजित भएका थिए। विजयी राईले १५ हजार ७९५ र कार्कीले १३ हजार ५२८ मत प्राप्त गरेका थिए।

भोजपुर–२ मा पनि माओवादी केन्द्रबाटै सुदन किराती संविधानसभा सदस्यमा विजयी भएका थिए। पहिलो संविधानसभाको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस तेस्रो भएको थियो। किराती १७ हजार ५७८ मतले विजयी हुँदा दोस्रो भएका एमाले उम्मेदवार शेरधन राईले ८ हजार ९७० र तेस्रो भएका कांग्रेस उम्मेदवार नन्दमणि राईले ७ हजार ७१९ मत पाएका थिए।

 २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भोजपुरमा दुई निर्वाचन क्षेत्र थिए। कांग्रेसले भोजपुर–१ बाट धर्मराज राई र भोजपुर–२ बाट बालकृष्ण थापालाई उम्मेदवार बनाएको थियो। राई नेकपा एमालेका कृपासुर शेर्पासँग झण्डै ३ हजार पराजित भए । थापा एमालेकै शेरधन राईसँग चार हजार बढी मतले पराजित बनेर तेस्रो स्थानमा खुम्चिए । दोस्रो स्थानमा माओवादीको सुदन किराती आए ।

 भोजपुर–१ मा कांग्रेसको पक्षमा ८ हजार ९७० र भोजपुर–२ मा ६ हजार ३५३ मत खसेको थियो। विजयी एमालेको भोजपुर–१ मा ११ हजार ४५० र भोजपुर–२ मा ११ हजार ७२७ मत खसेको थियो।

२०७४ मा ज्ञानेन्द्रबहादुर कार्की सुनसरी झरेपछि भोजपुरमा कांग्रेसले उमेशजंग रायमाझीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो। उनी नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीसँग झण्डै १३ हजार मतान्तरले पराजित भए। किराती ३४ हजार ३९४ मतसहित  विजयी हुँदा रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरेका थिए।

माओवादी नेता सुदन किराती

यसपालि कांग्रेसले टिकटै नपाउने 
मंसिर–४ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा त कांग्रेसले भोजपुरमा पार्टीका तर्फबाट उम्मेदवार खडा गर्न पाउने सम्भावना क्षीण देखिन्छ। कारण हो– सत्ता गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँटका लागि भएको समझदारी।

गठबन्धनमा रहेका दलहरुका बीचमा २०७४ को निर्वाचन जितेका स्थानमा जित्ने दलकै उम्मेदवारले प्राथमिकता पाउने समझदारी बनेको नेताहरु बताउँदै आएका छन्।

सत्तारुढ नेताहरुले भने झैं सिट बाँडफाँटका लागि भएको समझदारी लागु भए आसन्न निर्वाचनमा पनि गठबन्धनबाट माओवादी नेता किराती नै उम्मेदवार बन्ने सम्भावना अत्यधिक छ। र, भोजपुर माओवादीको भागमा पर्यो भने लगभग ६९ वर्षसम्म भोजपुरले कांग्रेसको नेतृत्व नपाउने निश्चित हुनेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .