राजनीति


गोरखामा बाबुराम र नारायणकाजीको रस्साकसी, कांग्रेसको साथ कसलाई?

गोरखामा बाबुराम र नारायणकाजीको रस्साकसी, कांग्रेसको साथ कसलाई?

सागर न्यौपाने
भदौ १४, २०७९ मंगलबार २१:३८, काठमाडौँ

मंसिर ४ गते तय भएको प्रतिनिधि सभाको चुनावको मिति जति नजिकिँदैछ, टिकटका लागि नेताहरुको दौडधुप झन् बाक्लिँदैछ। आकांक्षी धेरै हुँदा केही जिल्ला र निर्वाचन क्षेत्रमा उम्मेदवार चयन नै पेचिलो बन्ने नेताहरु बताउँछन्।

एकतातिर सत्तारुढ गठबन्धन र अर्काेतिर नेकपा एमालेसहितकोे अर्काे गठबन्धन चुनावी मैदानमा उत्रिने निश्चित छ। यसकारण पनि यो पटकको चुनाव रोचक हुने देखिन्छ।

चुनावमा चर्चामा रहने छ, गोरखाको क्षेत्र नम्बर २। कारण, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले त्यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन्।

डा. भट्टराई जित्नकै लागि यसपटक माओवादी केन्द्रको चिह्न लिएर चुनावमा होमिँदैछन्। श्रेष्ठ अघिल्लो पटक पनि पराजित भएकाले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भए पनि प्रत्यक्ष चुनाव जित्न चाहन्छन्।

स्रोतहरुका अनुसार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर श्रेष्ठले गोरखा–२ मा उम्मेदवारी दिने निश्चित छ। उनी अध्यक्ष प्रचण्डको ‘ग्रिन सिग्नल’को पर्खाइमा छन्।

तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा सोहीक्षेत्रमा डा. भट्टराईले श्रेष्ठलाई हराएका थिए। एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार श्रेष्ठविरुद्ध भट्टराई कांग्रेसले सघाएको थियो।

जनता समाजवादी पार्टी (जसपा) बाट निस्किएर भट्टराईले नयाँ पार्टी बनाएका छन्। तर, चुनावमा उनी माओवादी केन्द्रको चिह्न लिएर जाँदैछन्।

नारायणकाजीले पछिल्ला दिन आफूलाई भेट्न आउने नेताहरुलाई आफूले प्रत्यक्ष निर्वाचन लड्ने र निर्वाचन क्षेत्र गोरखा २ नै भएको बताउने गरेका छन्।

‘यसपटक म फेरि गोरखा २ बाटै लड्छु, तपाईंहरुले तयारी गर्नुहोला, जनताको घरघर पुग्नुहोला,’ हरिसिद्धिस्थित निवासमा भेट्न पुगेका गोरखाका नेताहरुलाई श्रेष्ठले दिएको निर्देशन उद्धृत गर्दै एक नेताले भने, ‘हामी फिल्डमा खटिनुपर्छ।’

तर, भट्टराईले पनि सोही क्षेत्रबाट लड्न प्रचण्डसँग समझदारी बनाइसकेको उनी निकट नेताहरुको दाबी छ। तर, भट्टराईलाई समानुपातिकमा राख्ने सम्भावना पनि उत्तिकै छ। कुनै सहमति नजुटेको अवस्थामा उनी समानुपातिकमा बस्न सक्ने बताइए पनि उनी निकट स्रोतले त्यसो नहुने दाबी गर्यो।

‘उहाँले यसपटक प्रत्यक्ष चुनाव लड्नुहुन्छ र त्यो गोरखा २ मै हो,’ भट्टराई निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘समानुपातिकमा उहाँ बस्नुहुन्छजस्तो लाग्दैन।’

३१ साउनमै प्रचण्डसँग भद्र सहमति भएको भट्टराईपक्षीय नेताहरु बताउँछन्।

तर, श्रेष्ठलाई यसपटक त्यो क्षेत्र उठ्न पनि दबाब छ। उनले त्यही अनुसार तयारी पनि गरेका छन्। राष्ट्रिय सभामा गएको आरोप लगाउनेमाथि श्रेष्ठको जवाफ छ, ‘मलाई तत्कालीन दुई अध्यक्षको जोडबलले उठाइएको हो, मेरो राष्ट्रिय सभा चाहना होइन, हारेकै क्षेत्रबाट फेरि उठेर जित्न चाहन्छु।’

एउटै चुनाव चिह्नमा दुई जना नेता उठ्न सम्भव छैन। अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्डले मुख खोलेका छैनन्। टिकट कसले पाउँछ अहिले नै भन्न सक्ने अवस्था नभएको भट्टराई निकट नेताहरु बताउँछन्।

बाबुरामले चुनाव नलड्ने भनेपछि...
२५ साउनमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै डा. भट्टराईले प्रत्यक्ष चुनाव नलड्ने बताएका थिए। तर, उनको सर्त थियो, योग्य व्यक्ति चुनावमा उठ्नुपर्छ।

स्थानीय तह चुनावमा आफ्नो पक्षले लज्जास्पद पराजय बेहोरेपछि उनी चिन्तित थिए। नारायणकाजी श्रेष्ठलाई उनले योग्य देख्छन् कि देख्दैनन्, त्यो देखिन बाँकी छ।

भट्टराईको भनाइले नारायणकाजीलाई उत्साहित बनाएको थियो। 

‘टेलिभिजनमा अन्तर्वार्ता दिएर दुईतीन पटक सोध्दा म प्रत्यक्ष चुनाव लड्दिनँ भनेको व्यक्ति फेरि गोरखा–२ कसरी उठ्नुहुन्छ? त्यो अन्तर्वार्तामा उहाँले बोलेको कुरा सबैले जवाफ त खोज्लान् नि?’ श्रेष्ठनिकट गोरखाका अर्का नेताले प्रश्न गर्दै नेपालखबरसँग भने, ‘नारायणकाजीजीलाई चुनावमा फेरि उठ्नैपर्ने बाध्यता त्यसपछि लागेको थियो।’

स्थानीय तहको चुनावमा जिल्लाका ११ पालिकामध्ये ९ पालिकामा सानदार रुपमा माओवादी केन्द्रले जितेको छ।

त्यो जितको श्रेय श्रेष्ठले पनि लिएका छन्। अध्यक्ष प्रचण्डले त खुलेर उनको तारिफ नै गरे।

‘योग्य मानिस उठाए माओवादी देशैभर बलियो रहेछ भन्ने कुरा देखिएको छ, यसपटक हाम्रा पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी श्रेष्ठजीले पुष्टि गर्नुभयो, निरन्तर लागेर साथीहरुलाई हौसला दिनुभयो, यसका लागि धन्यवाद,’ पार्टीका प्रशिक्षण र भेलामा प्रचण्डले भन्ने गरेका छन्।

बाबुराम–नारायणकाजी सम्बन्ध
माओवादी शान्तिप्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग एकता भएर एमाओवादी बन्यो। २०७२ असोज ८ गतेसम्म बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्ष थिए।

माओवादीबाट अलग्गिएपछि भट्टराईले विभिन्न पार्टी बनाए तर, सफल भएनन्। श्रेष्ठले प्रचण्डलाई दह्रो साथ दिइरहे। उनी अघिल्लो वर्षको पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष बने। उनको राष्ट्रिय सभामा अझै चार वर्ष कार्यकाल बाँकी छ।

‘राष्ट्रिय सभाबाट राजीनामा दिएरै उहाँ प्रतिनिधि सभा चुनाव लड्न गोरखा जानुहुन्छ,’ श्रेष्ठ निकट गोरखाका अर्का नेताले ठोकुवा गरे।

त्यसो त श्रेष्ठलाई प्रतिनिधि सभा सदस्य पदमा जिताएरै पठाउने दाबी सर्लाहीका नेताहरुले पनि गरिरहेका छन्।

तर, उनले मानेनन् र गोरखाबाट उठ्ने अडान लिइरहे। निकट नेताहरुका अनुसार ३१ साउनमा भट्टराई र श्रेष्ठबीच कुरा भएको थियो। भट्टराईले आफूले चुनाव लड्न खोजेको बताएका पनि थिए।

श्रेष्ठले आफ्नो अडान प्रष्टसँग भनेका थिए, ‘यसपटक म गोरखा–२ बाटै लड्छु। अन्य कुरा यसमा हुँदैन।’

कांग्रेसको साथ कसलाई?
श्रेष्ठनिकट नेताहरुका अनुसार यसपटक गोरखा २ लिन गोरखा कांग्रेसका नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृष्ण सिटौलालाई भेटे। उनीहरुले गोरखा–२ लिनुपर्ने अडान राखे। पौडेल र खड्काले गठबन्धन भएकोले कुन जिल्ला लिने र नलिने अहिले घोषणा गर्ने बेला नभएको जवाफ दिए।

‘गठबन्धन अन्तर्गतको एक घटकका मुख्य नेता नारायणकाजी श्रेष्ठजी पनि गोरखा २ बाट लड्ने बताइरहनुभएको छ, अहिले हामीले यो लिने र नलिने भनेर नभनौँ,’ पौडेल र खड्काको जवाफ उस्तै भएपछि कांग्रेस गोरखाका नेताहरु अन्तिम निर्णयको पर्खाइमा छन्।

स्थानीय तह र अघिल्लो २०७४ को चुनावी नतिजा अनुसार गोरखामा दुवै क्षेत्र माओवादी केन्द्रले पाउने देखिन्छ। कांग्रेसलाई प्रदेश सभामा मिलाउने तयारी छ। त्यही भएर श्रेष्ठ यसपटक गोरखाबाट चुनाव लड्ने निश्चित भएको नेताहरु दाबी गर्छन्। 

‘हुन त अध्यक्ष प्रचण्ड के चाहनुहुन्छ, यसै भन्न सकिँदैन,’ एक मओवादी नेताले भने, ‘तर वरिष्ठ उपाध्यक्षलाई त्यसै बस पक्कै भन्नु हुनेछैन होला।’

श्रेष्ठ यसबारे अध्यक्ष प्रचण्डको निर्णय कुरिरहेका छन्। स्रोत भन्छ, ‘प्रतिनिधि सभामा मेरो उपस्थितिबारे अध्यक्ष कमरेडले कुरा गर्नुहोला।’

तर, प्रतिनिधि सभामा जिताउने बचनसहित माओवादीसँग नजिक ल्याएका भट्टराईलाई उपेक्षा गर्ने अवस्थामा पनि प्रचण्ड छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .