राजनीति


माओवादीले पदाधिकारी बनायो, कार्यविभाजन कहिले?

४३ जना स्थायी समिति सदस्यको नामै छैन
माओवादीले पदाधिकारी बनायो, कार्यविभाजन कहिले?

सागर न्यौपाने
भदौ ६, २०७९ सोमबार १२:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले महाधिवेशनको ८ महिनापछि चयन गरेका  पदाधिकारीको कार्यविभाजन गर्न अझै समय लाग्ने भएको छ।

मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलक्षित कार्यक्रमका लागि प्रदेशमा खटिनुपर्ने भएकोले अहिलेकै जिम्मेवारीलाई आधार बनाउने निर्णय भएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए। 

यही शनिबार (४ भदौ) मा बसेको स्थायी समिति बैठकले महसचिवमा देव गुरुङलाई चयन गरेको छ। त्यसैगरी पार्टीले उपमहासचिवमा ७ र ९ सचिवसहित २१ सदस्यीय पदाधिकारी बनाएको छ। 

‘प्रदेशहरुमा चुनावलक्षित कार्यक्रम सुरु भइसकेको छ, केही समय त्यता केन्द्रित हुनुपर्छ,’ महराले नेपालखबरसँग भने, ‘नेताहरुको कार्यविभाजन तोक्न केही समय लाग्न सक्छ।’

माओवादी सचिव दीनानाथ शर्माले पनि नेताहरुको कार्यविभाजन १८ भदौपछि मात्रै टुंगो लाग्ने बताएका छन्। 

‘प्रदेश र जिल्लाहरुमा चुनावलक्षित कार्यक्रम बनाउन ढिला भइसकेको छ। त्यसैले अहिले रहेकै जिम्मेवारीबाट काम गर्न सर्कुलर गरेको छ,’ शर्माले भने, ‘७ गतेदेखि निरन्तर प्रदेशका बैठक-भेला र कार्यक्रम छन्।’

स्थायी समितिबाट पारित कार्यक्रमअनुसार ७ गते मधेश प्रदेश, ९ गण्डकी प्रदेश, १० प्रदेश १, ११  लुम्बिनी प्रदेश, १२ बागमती प्रदेश, १३ उपत्यका विशेष प्रदेश, १५ सम्पर्क समन्वय, १६ कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावसम्बन्धी कार्यक्रम हुँदैछन्। 

अहिले केन्द्रीय समिति, प्रदेश पदाधिकारी, समन्वय समितिको जिम्मेवारी पाएका नेताहरुबाट चुनावको पहिलो चरणको कार्यक्रम सकाउने तयारी माओवादीले गरेको छ। 

चुनावका लागि उम्मेदवार छनोटका मापदण्ड पनि पछि मात्रै तय गरिने महराले बताएका छन्। 

पाँच दलीय गठबन्धनले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सिट बाँडफाँटका लागि बनाएको ११ सदस्यीय कार्यदलले अध्ययन र विश्लेषण गरिरहेको छ।

कार्यदलले ७ भदौसम्म प्रतिवेदन बुझाउने समयसीमा पाएको छ। यही कार्यदललाई पाँच दलको अवधारणापत्र लेखनको जिम्मेवारी पनि थपिएको छ। 

‘कार्यदलले सिट संख्याबारे सुझावसहितको प्रतिवेदन दिएपछि हाम्रो पार्टीबाट मापदण्डमा पर्ने नेताहरु उम्मेदवार बन्नुहुन्छ,’ महराले भने।

यसैगरी, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका र परशुराम रम्तेललसहित १७ जनालाई घोषणा–पत्र तयारी समितिमा राखिएको छ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणा–पत्र तयार गर्ने म्यान्डेट यो समितिले पाएको छ।

पाँच दलीय गठबन्धनमध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एउटै घोषणा पत्र बनाउने सम्भावना पनि छ।

अहिलेसम्म औपचारिक निर्णय भइनसके पनि नेताहरुबीच छलफल जारी छ। 

यी हुन् प्रदेशमा जिम्मा पाउने पदाधिकारी
अहिले माओवादीको प्रदेश १ इन्चार्ज रहेका राम कार्की 'पार्थ' सचिव चुनिएका छन्।

यसैगरी मधेश प्रदेश इन्चार्ज गणेश साह पनि उपमहासचिव बनेका छन्।

बागमती प्रदेश इन्चार्ज हितमान शाक्य छन् पनि सचिवमा चयन भएका छन्। 

हितराज पाण्डे गण्डकी इन्चार्ज छन्। उनलाई पनि पार्टीले सचिवको जिम्मेवारी दिएको छ।

‘पदाधिकारीमा आएका र स्थायी समितिमा अटाएका सबै नेताको जिम्मेवारी र कार्यक्षेत्र तय भइसकेको छ,’ प्रवक्ता महराले थपे, ‘ अब पहिलो चरणको कार्यक्रम सकिएपछि पदाधिकारी बैठक बसेर ठोस जिम्मेवारी विभाजन सक्छ।’

प्रवक्ता को?
२१ सदस्यीय पदाधिकारी चयन गरे पनि माओवादी केन्द्रको प्रवक्ता तोकिएको छैन। अहिलेलाई अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष महरा नै प्रवक्ताका रुपमा रहनेछन्। 

उनी एक वर्षअघि (९ भदौ) मा प्रवक्ता बनाइएका थिए। उनले प्रवक्ताको जिम्मेवारी अरु नेतालाई दिन चाहेको बताए।

‘जनयुद्धकालदेखि मै प्रवक्ता थिएँ, अहिले पनि प्रवक्ता छु, यो अर्को व्यवस्था नहुन्जेल हो। हुन त अध्यक्षले कसरी सोच्नु भएछ भन्ने हो, तर यसबारे ठोस निर्णय गर्न केही दिन लाग्छ,’ उनले भने।

टुंगिएन स्थायी समिति
माओवादीको शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ४३ जनाको नाम प्रस्ताव गरे।

त्यो प्रस्ताव सर्वसम्मत पारित पनि भयो। तर, ती सबै नेताको नाम अझै पनि सार्वजनिक भएको छैन।

महाधिवेशनको ८ महिनापछि पदाधिकारी चयन गरे पनि ४३ जना स्थायी समितिको नाममा अझै निर्णय हुन समय लाग्न सक्छ।

बाहिर सार्वजनिक भएका नाम पनि अनुमानका भरमा चर्चा नेताहरु स्वीकार गर्छन्।

प्रवक्ता महराका अनुसार स्थायी समिति सदस्यको नामावली रुजु गर्ने काम भइरहेको छ।

४३ सदस्यीय समिति रहने निर्णय भए पनि सबैको नाम निश्चित भइनसकेको उनले बताएका छन्। 

‘सबैको नाम रुजु गर्ने काम भइरहेको छ, कतिपयको पार्टीको नाम र नागरिकता नाम मिलाउनुपर्ने भयो त्यही भएर सार्वजनिक गरेका छैनौँ,’ उनले भने, ‘सबै मिलाएर २-४ दिनमा नाम प्रकाशित गछौँ।’

यस्तै पोलिटब्युरो र केन्द्रीय समितिको पनि अन्तिम सूची सार्वजनिक नगरिएको उनले दाबी गरे।

माओवादी केन्द्रको केन्द्रीय समिति ३ सय ७७ र पोलिटब्युरो १ सय २५ हुने छन्।

अध्यक्ष दाहालद्वारा बैठकमा पेश भएको १२५ पूर्ण र ७२ वैकल्पिकसहित १९७ जनाको पोलिटब्यूरो गठन भएको छ।

यसैगरी वैकल्पिक केन्द्रीय सदस्य ९६ जनाको हुने व्यवस्था छ। त्यसमा पनि केही सदस्यको नाम टुंगिन बाँकी छ।

उता पदाधिकारी समावेशी नभएको भन्दै माओवादीभित्रैका नेताहरुले असन्तुष्टि जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .