राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेससँग विभिन्न विषयमा विमतिका बावजुद गठबन्धन गर्नुपरेको बताएका छन्।
पार्टीको आन्तरिक कार्यक्रमका लागि गृहजिल्ला बागलुङ आएका अध्यक्ष केसीले केपी शर्मा ओलीको प्रतिगमनलाई परास्त गर्न कांग्रेससँग सहकार्य गर्नुपरेको प्रष्टीकरण दिए।
एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले गठबन्धनमा फरक मत राखेको केसीको भनाई थियो।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा केसीले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण प्रतिगमनकाे खतरा जारी रहेको भन्दै विमतिका बाबजुत कांग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए।
‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो।’
केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए।
उनले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर प्रतिगमन ल्याउन खोजेको जिकिर गरे। ओलीका कारण धर्मनिरपेक्षता र गणतन्त्र अहिले पनि खतरामा रहेको उनको भनाइ थियो।
‘२०७४ सालमा हामी वामपन्थी भनेरै लागेका थियौं, दुई तिहाई वामपन्थीको संसद पटकपटक हत्या गरियो,’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको विघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन।’
नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए। नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ।
‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिँदुरसँगै नागरिकता चाहिने?’ केसीले भने, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ।’
Shares
प्रतिक्रिया