राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अहिले संसदबाट जारी गर्न लागिएको नागरिकता विधेयक अनुसार नागरिकता बाँड्दै जाने हो भने नेपाल चाँडै फिजी हुने बताएकी छन्।
पाँच दलीय गठबन्धनकी सदस्य समेत रहेकी सांसद पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा भएको त्रुटीबारे सदनले छलफलमा ल्याओस् भनेर सुझावसहित फिर्ता पठाएकोमा स्वागत गरिन्।
राष्ट्रपतिले फिर्ता गरेपछि मंगलबार संसदमा पेश गरिएको यो विधेयक बिहीबारै पास गर्ने निर्णयमा सत्ता गठबन्धन पुगेका बेला उनले यस्तो बताएकी हुन्।
'राष्ट्रिय जनमोर्चाले संविधान घोषणा हुँदा पनि नागरिकता विधेयकबारे धारणा राखेर संशोधन हालेको थियो', उनले भनिन्, 'नागरिकता पाउने राजनीति, सामाजिक, भौगलिक आधार र सीमाहरुको अध्ययन गरेर दिने गरिन्छ। बिहे गर्दैमा नागरिकता पाउन योग्य भयो भन्ने सिद्धान्त विश्वमा कहीँ पनि छैन।'
उनले नागरिकता अखण्डता र राष्ट्रियतासँग जोडिएको बताइन्। 'नेपाली नागरिकले पाउनुपर्छ, कमजोरी छ भने सुधारौँ', उनले भनिन्, 'खुला सिमाना भएको देशमा बिहे गरेकै भरमा नागरिकता पाउने अधिकार दिएमा हामी फिजी हुन्छौँ, यसलाई रोकौँ।'
पौडेलले जन्मको आधारमा कुन विधि शास्त्र अनुसार नागरिकता वितरण गरिँदैछ भनेर प्रश्न गरिन्।
'नेपाली नागरिकलाई अन्याय भएको छ भने सुधार्न सकिन्छ। तर जन्मको र वैवाहिक आधारमा अहिलेको प्रावधान अनुसार नागरिकता नदिऊँ', उनले भनिन्, 'हामीसँग छिमेकीले र हाम्रा चेली बिहे गरेर लानेहरुले कस्तो व्यवहार गरेका छन् त्यही अनुसार गरौँ। नागरिकतामा वैवाहिक अंगिकृतलाई सात वर्ष तोकेर नै जानुपर्छ।'
गठबन्धनभन्दा ठूलो जनता हुन्, देश डुबाउने काम नगर : पदम गिरी
नेकपा एमालेका सांसद पदम गिरीले सत्ता गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरिरहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न बिहीबार संसद बैठकमा भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
'गठबन्धनभन्दा ठूलो देश हो, जनता हुन्। गठबन्धन दलले देश डुबाउने काम नगरुन्', उनले भने, 'राष्ट्रपतिले आठ बुँदामा छलफल गर्न पठाएको नागरिकता विधेयक फेरि जस्ताको तस्तै पठाउने तयारी भएको छ। यो एकदमै गलत हुँदैछ।'
सांसद गिरीले राष्ट्रपतिले फिर्ता पठाएको कुरा एकदमै ठीक रहेको बताएका छन्। उनले राष्ट्रपतिले छलफल गर्न आवश्यक भनेका ८ बुँदामा कुरै नगरी सत्ता गठबन्धनले जस्ताको तस्तै पास गर्न खोज्नु आपत्तिजनक रहेको पनि बताए।
Shares
प्रतिक्रिया