ad ad

राजनीति


गठबन्धनमा चाहेजति सिट नपाए पनि चित्त बुझाउनुपर्छ : धनराज

गठबन्धनमा चाहेजति सिट नपाए पनि चित्त बुझाउनुपर्छ : धनराज

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १६:३५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीले गरेको प्रतिवद्धताअनुसार अगाडि बढ्ने क्रममा सिट बाँडफाँटमा चाहेअनुसार नभए पनि चित्त बुझाउनुपर्ने बताएका छन्। 

निर्वाचन प्रयोजनका लागि दल दर्ताका क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले कांग्रेसले अधिकतम सिट चाहे पनि केही कम हुँदा चित्त बुझाउनुपर्ने बताएका हुन्। 

‘खोज्ने अधिकतम हो तर सबैलाई समेटेर जाने, नेतृत्व गर्ने पार्टीले सबैमा आफैँ मात्र लड्ने हो भने किन तालमेलको कुरो आउँथ्यो र?,’ उपसभापति गुरुङले प्रश्न गर्दै भने, ‘तालमेल गरेर जाने, सहअस्तित्व स्वीकार गर्ने, सहमति–सहकार्यका साथ अगाडि बढ्ने जुन प्रतिवद्धता जाहेर गरेका छौँ त्यो प्रतिवद्धता बमोजिम अगाडि बढ्नका लागि सबैलाई समेटेर जाँदा कमबेसीमा पनि चित्त बुझाउनु पर्छ।’   

उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट अन्य दलका नेताहरु चुनाव लड्दा भागबण्डामा कुनै असर नपर्ने पनि बताए।

‘भागबण्डामा खास असर पार्दैन। शेयरिङमा यसले कुनै असर पार्दैन। सहमति भएबमोजिम सिट बाँडफाँट हुन्छ,’ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमबारे सञ्चारकर्मीको जिज्ञासामा गुरुङले भने।  

उनले गठबन्धनमा अन्य दलका नेताहरु मिसिदा कांग्रेसलाई कुनै आपत्ति नभएको पनि जिकिर गरे।

‘५ दलमा अरु कोही टाँसिन्छन्, मिसिन्छन् भने हामीलाई आपत्ति हुँदैन,’ उपसभापति गुरुङले भने, ‘५ दलभित्र जुन सहमति हुन्छ त्यो सहमतिभित्रै रहेर उहाँहरु जुन–जुन पार्टीको चुनाव चिह्न लिएर लड्दै, हुनुहुन्छ त्यही–त्यही पार्टीको मौजुद नेतासँगै उहाँहरुको कुरा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .