मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगमा दर्ता भएको छ।
माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा) का प्रतिनिधि आयोग पुगेर दल दर्ता गराएका हुन्।
मंगलबार (३१ साउन) मा दिउँसो आयोग कार्यालय कान्तिपथमा पुगेर माओवादीका कार्यालय सदस्य शिव खकुरेल र नेसपाका फणिन्द्र देवकोटाले दल दर्ताका लागि निवेदन दिएका हुन्।
माओवादी र नेसपाको केन्द्रीय समितिको निर्णय, दुवै पार्टीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईको हस्ताक्षर सहित आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन्।
उनीहरुको दल दर्ता भइसकेको छ।
‘प्रतिनिधि सभा चुनावको लागि ७१ नम्बरमा हाम्रो दल दर्ता भइसकेको छ,’ खकुरेलले नेपालखबरसँग भने, ‘प्रदेश सभामा पनि छुट्टा छुट्टै दल दर्ता भएको छ।’
जसमा प्रदेश १ मा ५९, मधेस प्रदेशमा ६२ नम्बरमा दर्ता भएको उनले जानकारी दिए। अन्य प्रदेशको दर्ता जारी छ।
‘गोलाकारभित्रको हँसिया हथौडा एकल चुनाव चिह्नमा लड्नेगरी उम्मेदवारी दिन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छौँ,’ खकुरेलले थपे, ‘बाबुराम भट्टराई अब एकल चिह्नमा लड्नुहुनेछ।’
दल दर्ता गर्न खकुरेल र देवकोटा कान्तिपथ पुगेकै बेला बाबुराम भट्टराईले प्रचण्डसँग भेट गरिरहेका छन्।
पेरिसडाँडामा भइरहेको भेटमा सिटसंख्याबारे छलफल भइरहेको उनले बताए।
Shares
प्रतिक्रिया