NepalKhabar NepalKhabar

राजनीति


राजा वीरेन्द्रले फिर्ता गरेको त्यो ‘अर्थ’ विधेयक

राजा वीरेन्द्रले फिर्ता गरेको त्यो ‘अर्थ’ विधेयक

नेपालखबर
साउन ३० , काठमाडौँ

अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेजस्तै २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले संसदबाट पारित नागरिकता विधेयक फिर्ता गरिदिएका थिए। राष्ट्रपति भण्डारीले स्व. राजा वीरेन्द्रले चालेको कदमलाई समेत हेरेर नागरिकता सम्बन्धी विधेयक फिर्ता गरेकी हुन्।

राजा वीरेन्द्रले त्यसबेला संविधान अनुसार सर्वोच्च अदालतसमक्ष राय मागेका थिए। र, सर्वोच्चको रायअनुसार उनले विधेयक फिर्ता गरेका थिए। तर, अहिलेको संविधानले राष्ट्रपतिलाई सर्वोच्चको राय माग्न सक्ने स्पष्ट व्यवस्था नगरेका कारण राष्ट्रपतिले संविधानको धारा ११३ को (३) अनुसार विधेयक सोझै फिर्ता गरेकी हुन्।

संविधान अनुसार अर्थ विधेयकबाहेक अरु विधेयक मात्रै राष्ट्रप्रमुखले प्रमाणीकरण नगरी पुनर्विचारका लागि फिर्ता पठाउन मिल्छ। नागरिकता विधेयक राजा वीरेन्द्रबाट फिर्ता नहोस् भन्ने उद्देश्यले त्यसबेला तत्कालीन सभामुख तारानाथ रानाभाटले नागरिकता विधेयकलाई अर्थ विधेयकका रुपमा प्रमाणित गरेर राजासमक्ष पठाएका थिए।

प्रतिनिधिसभाको ०५७ साल जेठ २९ मा बसेको बैठकले नागरिकता विधेयक पारित गरेको थियो। तर, जेठ ३१ मा बसेको राष्ट्रिय सभाको बैठकले त्यो विधेयकलाई अस्वीकृत गरिदियो।

प्रतिनिधिसभामा उत्पति भएको अर्थ विधेयकलाई राष्ट्रिय सभाले अस्वीकृत गरे पनि सोझै प्रमाणीकरणका लागि राजा समक्ष पठाउन पाइन्थ्यो। यही प्रावधानलाई टेकेर प्रतिनिधिसभाले नयाँ जुक्ति निकाल्यो र यसलाई अर्थ विधेयकका रुपमा ०५७ साउन ११ मा पारित गर्यो। 

सभामुख रानाभाटले यो विधेयक ‘अर्थ विधेयक हो भनी प्रमाणित गर्दछु’ भनेर हस्ताक्षर गरे।

प्रतिनिधिसभामा ०५६ भदौ २४ गते नेपाल नागरिकता ऐन, २०२० लाई छैठौं संशोधन गर्न विधेयक दर्ता भएको थियो। प्रतिनिधिसभाले त्यसमाथि ६ महिना लामो छलफल गरेर ०५७ जेठ २९ मा पारित गरी राष्ट्रिय सभामा पठाएको थियो।

राष्ट्रिय सभाले त्यसलाई अस्वीकृत गरेपछि अर्थ विधेयकका रुपमा प्रतिनिधिसभाले ०५७ साउन ११ मा पारित गर्यो र अर्थ विधेयकका रुपमा ०५७ मंसिर १६ गते बल्ल राजा वीरेन्द्रकहाँ पठाइयो।

त्यसबेला राजा वीरेन्द्रले नागरिकता विधेयक फिर्ता गर्दा संसदको अधिकारमाथि दरबारले हस्तक्षेप गरेको आरोप समेत दलहरुले लगाएका थिए।

के थियो विवाद ?
त्यसबेला साबिकको नागरिकता ऐनमा रहेको बंशज र जन्मसिद्ध नागरिकताका सम्बन्धी सम्बन्धी प्रावधानलाई यथावत राखी विदेशी व्यक्तिले रीतपूर्वक प्राप्त गर्न सक्ने नेपालको अंगीकृत नागरिकताका सम्बन्धमा विधेयकले नयाँ व्यवस्था गर्न खोजेको थियो।

त्यसबेलाको नागरिकता विधेयकले अंगीकृत नागरिकताका सम्बन्धमा ‘नेपाली उत्पत्तिको व्यक्तिको हकमा दुई वर्ष, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी स्वास्नीमानिसको हकमा कम्तीमा पाँच वर्ष र सो बाहेकको अरुको हकमा कम्तीमा १५ वर्षको अवधिसम्म नेपालमा बसोबास गरेको शर्त पूरा भएपछि अंगीकृत नागरिकता प्राप्त हुन सक्ने’ प्रावधान विधेयकले कायम गराउन खोजेको थियो।

यसमा नागरिकताबारे हाम्रो अभ्यासका ऐतिहासिक पक्षमाथि पर्याप्त विवेचना हुन आवश्यक देखिन्छ भन्ने सन्देशसहित राजा वीरेन्द्रले विधेयक फिर्ता पठाएका थिए।

नेपाल अधिराज्यको संविधान २०४७ ले नागरिकता सम्बन्धमा पुरानै कानूनी प्रचलन र अभ्यासलाई अपनाएको थियो। यो संविधानले ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारवाही चलाएपछि’ नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको थियो।

०४७ सालको संविधान बनेपछि विभिन्न सरकारका पालामा नागरिकता सम्बन्धी समस्याबारे अध्ययन गर्न आयोग र समितिहरु बनेका थिए। तिनै समितिहरुले बुझाएको प्रतिवेदनका आधारमा तत्कालीन प्रतिनिधिसभामा ०५६ भदौ २४ गते नागरिकता विधेयक दर्ता भएको थियो। तर, राष्ट्र प्रमुख र संसदबीचको  विवादका कारण नागरिकतासम्बन्धी समस्याहरु त्यसबेला देखि नै थाती रहँदै आएका थिए।

यसैक्रममा २०७२ मा नयाँ संविधानअनुसार नागरिकता सम्बन्धी कानून सच्याउने प्रयास गर्दा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता पठाइदिएकी छिन्।

यसअघि केपी ओली सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले कार्यान्वयन गर्न दिएको थिएन।  

अध्यादेश फिर्ता गर्न मिल्दैन, विधेयक फिर्ता गर्न मिल्छ : राष्ट्रपति

         

साउन ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.