राजनीति


सागर बसन्ते किस्ने! यस्ता म्यादीको के काम?

सागर बसन्ते किस्ने! यस्ता म्यादीको के काम?

नेपालखबर
साउन २९, २०७९, आइतबार , काठमाडौँ

स्थानीय चुनावका बेला फुपूका छोरा (म्यादी प्रहरी) ले लगाउने पोशाक लगाएर कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय  नवराज रेग्मी भाइरल भए। उनलाई प्रहरीले पक्राउ पनि गर्यो।

म्यादी प्रहरीको पोशाकमा रेग्मीले टिकटक बनाएका थिए– ‘सागर, बसन्ते, किस्ने! सबहरू नडरा के केटा हो, तेरो दाइ मिदी (म्यादी) भइसकेको छ! मिदी...मिदी... मिदी...।’

आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयले ७ अर्ब ९० लाख ९० हजार १६० को बजेट माग गरेको खबर आउँदै गर्दा आइतबार ललितपुरमा आयोजित निर्वाचन आयोगका पदाधिकारीसँगको अन्तरक्रियामा पनि म्यादीका सम्बन्धमा चर्चा भयो।

एकजना पत्रकारले ‘सागर बसन्ते किस्ने’ को प्रशंग उक्काउँदै म्यादीले चुनावमा सुरक्षा दिन नसकेको गुनासो आयोगका पदाधिकारी समक्ष सुनाए।

सुरक्षामा प्रभावकारी भूमिका खेल्न नसकेको हुनाले म्यादी प्रहरी भर्ना गरेर खर्च बढाउने काम मात्र भइरहेको सहभागीले प्रश्न उठाएपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे मुख खोले। उनलेसरकारलाई लिखितरुपमा वैकल्पिक प्रस्ताव पठाइएको जानकारी दिए।

निर्वाचनको सुरक्षा रणनीतिबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामीले प्रष्ट के भनेका छौं भने सेवानिवृत्त सुरक्षाकर्मीलाई त्यहाँ (निर्वाचनमा) लगाऔं। उसलाई जुन पदबाट निवृत्त भएको छ, त्यही पद बराबरको तलब सुविधा दिऔं। ऊसँग हिजो जुन पोशाक थियो, त्यही लगाएर आइज भनौं र यो ड्रेसको खर्च पनि घटाऔं। नयाँ, कडा आइरन लगाएको, १५ दिन अगाडि सिलाएको लुगा लगाइराख्नु पर्दैन। यसो गर्यो भने खर्च पनि घट्छ, तालिमप्राप्त जनशक्ति पनि हुन्छ।’

त्यसैगरी राष्ट्रिय सेवा दलमा रहेकाहरुलाई पनि प्रयोग गर्न सकिने थपलियाले बताए। उनले भने, ‘त्यहाँ तालिमप्राप्त ३०–४० हजारको संख्यामा छन्। त्यो राष्ट्रिय सेवा दललाई पनि प्रयोग गरौं।’

यति गर्दा पनि पुगेन भने गत स्थानीय चुनावमा म्यादीका रुपमा खटाइएको जनशक्ति लाई पनि प्रयोग गर्न सकिने आयोगको प्रस्ताव रहेको थपलियाले सुनाए। यसो गर्दा तालिम र पोशाक पनि पुरानैले काम चल्ने र खर्च जोगिने उनको तर्क छ।

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्, ‘स्थानीय चुनावमा कति गतिलो काम गरेर भाइरल भए, त्यो त थाहा भएन, तर गतिला काम गरेकाहरु पनि पक्का भेटिन्छन्। तिनीहरु तालिमप्राप्त पनि छन्, हामीले ड्रेस पनि दिइसकेको छ। तिनीहरुलाई प्रयोग गरौं, यो सबभन्दा राम्रो उपाय हुन्छ भन्ने आयोगको सुझाव छ। हामीले लिखितरुपमा दिएका छौं, हाम्रो जोड त्यसैमा छ।’

याे पनि- 
उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा रहँदैन  : आयोग

साउन २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .