ad ad

राजनीति


आदिवासी जनजातिको उत्थान नभइ मुलुक समृद्ध बन्दैन : प्रधानमन्त्री देउवा

आदिवासी जनजातिको उत्थान नभइ मुलुक समृद्ध बन्दैन : प्रधानमन्त्री देउवा

नेपालखबर
साउन २३, २०७९ सोमबार १७:५२, काठमाडौँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन्।

२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए। 

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए। 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातीहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए। 

उनले भने, ‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ। नेपालको संविधानले आदिवासी, जनजाति समूदायको विकास र समृद्धिको लागि छुट्टै आयोगको व्यवस्था गरेको छ। सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण कार्यहरु गर्दै आएको छ। आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरी आदिवासी, जनजातिहरूको पहिचान गर्ने, उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने काम मेरो नेतृत्व रहेको यस अघिको सरकारले नै गरेको स्मरण गराउन चाहन्छु।’ 

प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरूको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिहरूको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले कांग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दावी गरे।

उनले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजातिहरू अटाउन नसक्ने जिकिर समेत गरे। कांग्रेसले मात्रै उनीहरुको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ थियो।

महामन्त्री थापाले आफ्नो पार्टीले जनजातिहरूको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .