ad ad

राजनीति


पत्रकारलाई आकस्मिक बोलाएर राजनीतिक प्रश्नबाटै भागिन् रामकुमारी झांक्री

पत्रकारलाई आकस्मिक बोलाएर राजनीतिक प्रश्नबाटै भागिन् रामकुमारी झांक्री

नेपालखबर
साउन २३, २०७९ सोमबार १४:१५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीले सोमबार बिहान पत्रकार सम्मेलन गरिन्। पछिल्ला केहीदिनदेखि पार्टी नेतृत्वको आलोचना गरेको भन्दै विवादको घेरामा परेकी झांक्रीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। 

निर्वाचनको सरगर्मी बढिरहँदा पार्टीभित्रबाटै आलोचना खेपेकी झांक्रीले केही नयाँ घोषणा गर्न लागेकी हुन कि? भन्ने धेरैले शंका गरेका थिए। तर, झांक्रीको पत्रकार सम्मेलनमा राजनीतिक प्रश्नोत्तर भएन्। 

उनले सामान्य भेटघाटमात्र राखेको भन्दै यसलाई पत्रकार सम्मेलनको रुपमा समेत नबुझ्न आग्रह गरिन्।

पार्टी विवाद बढ्दै जाँदा हिजो (आइतबार) दिउँसोमात्रै नेपालखबरसँगको कुराकानीमा झांक्रीले भनेकी थिइन्, ‘नेतृत्वको आलोचना नै हुँदैन भन्ने कुरा होइन।’ साथै, उनले रौतहटमा पार्टी अध्यक्ष माधवकुमार नेपालले शिलान्यास गरेको आयोजनाको बारेमा अन्ट सन्ट गरेर प्रचार गरेको बताएकी थिइन्।

तर, सोमबारको पत्रकार सम्मेलनमा झांक्रीले समसामयीक राजनीतिका विषयमा प्रवेश नै गरिनन्। केही संचारकर्मीले विषय खोतल्न खोज्दापनि उनले अहिले केही नबोल्ने बताइन्।

झण्डै १ घन्टासम्म पत्रकारसँग कुराकानी गरेकी झांक्रीले सहरी विकास मन्त्रालयमा रहेर काम गर्दाका अनुभव मात्र सेयरिङ गरिन्। ‘नेपाल पूर्वाधार पत्रकार समाज’ को आवश्यक्ता र सहरी पूर्वाधारको क्षेत्रमा नयाँ कामहरु भएपछि पनि फलोअप नभएको भन्दै पत्रकारहरुसँग साक्षात्कार गर्न बोलाएको उनले बताइन्। 

रौतहटमा माधव नेपालले गरेको शिलान्यास र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिबारे पनि पत्रकार सम्मेलनमा कुरा उप्कियो। ‘मन्त्रालयले गरेको दाबी हो, मैले त्यो मन्त्रालय छाडिसकेँ,’ उनले भनिन्, ‘तपाईंहरुले पनि कन्ट्रोभर्सी बाहिर नल्याइदिनुस, प्लिज।’

सो विषयमा कुनै प्रतिक्रिया नै नभएको झांक्रीले बताइन्। ‘एउटै ब्यक्तिमा पनि द्धन्द्ध समान तरिकाले चलिरहेको हुन्छ,’ उनले विवादबारे बोल्दिन भन्दाभन्दै बिचमा यस्तो बताइन्। 

उनले आफ्नो कामको जिम्मा लिने र अरुको कामको बारेमा केही जिम्मा लिननसक्ने बताइन्।

के हो पछिल्लो विवाद?
गत १६ साउनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर विभिन्न आयोजनाको शिलान्यास गरे। टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडक लगायत करिब ४२ करोडका आयोजना शिलान्यास गरेर उनी काठमाडौं फर्किए।

आफ्नै अध्यक्षले गरेको शिलान्यासबारे एक टेलिभिजन अन्तर्वार्ताका क्रममा झाँक्रीले आक्रोश पोखिन्। बिनाबजेट, बिनायोजनाका विकासको काम शिलान्यास गरेको भन्दै उनले अध्यक्ष नेपालको आलोचना गरिन्।

पार्टीकी सचिवसमेत रहेकी झाँक्रीले अध्यक्ष नेपालको आलोचना गरेपछि मेटमणि चौधरीले नेतृत्व गरिरहेको सहरी विकास मन्त्रालय समेत यो विषयमा जोडिएको छ। मन्त्री चौधरी आफैं पनि माधव नेपालसँगै रौतहट पुगेका थिए।

त्यही दलका नेता रहेका सहरी विकास मन्त्री चौधरीले मन्त्रालयका प्रवक्तामार्फत विज्ञप्ति नै निकालेर रामकुमारीको अभिव्यक्तिको खण्डन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .