ad ad

राजनीति


‘दोस्रो शीत युद्ध सुरु भइसक्यो, हामी शान्ति क्षेत्रतिर जाऊँ’

पछिल्लो विश्व राजनीतिको असरबारे राष्ट्रपतिको चासो
‘दोस्रो शीत युद्ध सुरु भइसक्यो, हामी शान्ति क्षेत्रतिर जाऊँ’

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०७९ आइतबार २०:१४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व परराष्ट्रमन्त्रीहरूसँग समसामयिक विश्व राजनीति र त्यसले नेपालमा पार्नसक्ने असरबारे छलफल गरेकी छिन्। 

शीतल निवासमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरू रमेश नाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, रामशरण महत, प्रदीप कुमार ज्ञवाली र प्रकाश शरण महत सहभागी थिए। 

रसिया-युक्रेन युद्धदेखि पछिल्लो समय विकसित ताइवान तनावलाई लिएर विश्व शक्तिहरु विभाजित भइरहँदा नेपालमा पनि त्यसको असर देखिएका बेला राष्ट्रपतिले यो छलफल गरेकी हुन्।

पूर्व परराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव ज्ञवालीका अनुसार बदलिँदो विश्व राजनीति तथा भूराजनीतिक चुनौतीले नेपालमा पार्नसक्ने असरबारे राष्ट्रपतिले चासो ब्यक्त गरेका थिइन्। 

‘अहिलेको पछिल्लो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपाललाई पार्ने प्रभाव र त्यसमा दलहरुले के सोचिरहेका छन् भन्ने राष्ट्रपतिको जिज्ञासा थियो, हामीले हाम्रा अनुभव र आफूलाई लागेका कुरा बतायौँ', ज्ञवालीले भेटबारे भने। 

छलफलमा सहभागी पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिले पछिल्लो विश्व राजनीतिक घटनाक्रमबारे चासो राखेको बताएका छन्। 

राष्ट्रपतिसँग आफूले पछिल्लो विश्व राजनीतिक परिस्थिति हेर्दा दोस्रो शीत युद्धको सुरुवात भइसकेको विश्लेषण सुनाएको बताएका छन्। 

'सबै कुरामा छलफल राम्रो भएको छ। उहाँ (राष्ट्रपति) ले चासो राखेका विषयमा हामीले आफ्नो धारणा राख्यौँ। मैले अहिलेको अवस्थामा दोस्रो शीत युद्ध जस्तो सुरु भएको कुरा राखेँ। नेपालमा त्यसको प्रभाव परेको पनि उल्लेख गरेँ', लोहनीले नेपालखबरसँग भने, 'ठूलो शक्ति चीनसँग नेपालको १४ सय किलोमिटर लामो सीमा छ। तर अहिले चीन र अमेरिकाबीच दुष्मनीपूर्ण व्यवहार भइरहेको छ, त्यसमा भारत पनि थपिएको छ। यसरी तीनै शक्तिको चासो नेपालमा बढेको छ।'

उनले नेपालले यस्तो चुनौतीपूर्ण बेलामा आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको सीमाभित्र रहेर तीनवटै शक्तिको विश्वास लिनुपर्नेमा नसकिरहेको बताएका थिए। शक्ति राष्ट्रहरु अमेरिका, चीन र भारतबीच नेपाल मामिलालाई लिएर भूराजनीतिक प्रतिस्पर्धा चलिरहेकालाई राष्ट्रपतिले विज्ञहरुसँग अर्थपूर्ण छलफल गरेकी हुन्।

'नेपाल राज्य र नेपालका नेताहरुले हाम्रा स्वार्थहरुप्रति पनि संवेदनशील हुँदै तीनवटै शक्तिको विश्वास जित्न सक्नुपर्छ', उनले राष्ट्रपतिसँगको भनाइबारे भने, 'तर त्यो चुनौती बीच विश्वास जित्ने काम अहिले भएको छैन। विश्वास गुमाउने कामहरु नै भइरहेका छन् भन्ने विश्लेषण मैले राष्ट्रपतिलाई राखेँ।'

लोहनीले अहिलेको संकटपूर्ण अवस्थाबाट पार पाउन राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउँदा सान्दर्भिक हुने सुझाव पनि राष्ट्रपतिलाई दिएका छन्। 

'यस चुनौतीबाट पार पाउन नेपालले राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्तावलाई पूर्वाग्रह नराखी अघि बढाउन विचार गर्नुपर्छ, यसबारे मित्र राष्ट्रहरूसँग छलफल गर्नुपर्छ', उनले राष्ट्रपतिलाई भने।

लोहनीका अनुसार त्यसक्रममा राष्ट्रपति भण्डारीले विश्वमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे सबैसँग जिज्ञासा राखेकी थिइन्। 'विश्वमा यस्तो भइरहेको छ, हाम्रो परराष्ट्र नीति सञ्चालन कस्तो छ? कसरी विश्लेषण गरिरहनु भएको छ?', भनेर उहाँ (राष्ट्रपति) ले सोध्नु भयो', लोहनीले थपे, 'हामी सबै उहाँका जिज्ञासाबारे आफ्नो धारणा दियौँ।' 

पूर्व परराष्ट्रमन्त्रीहरूले देखिएका भूराजनीतिक चुनौती सामना गर्न सन्तुलित र असंलग्न परराष्ट्र नीतिमा नेपालले जोड दिनुपर्ने धारणा राखेका थिए। 

परराष्ट्रनीतिको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय सहमति आवश्यक रहेको पूर्व परराष्ट्र मन्त्रीहरुको भनाइ थियो। 

संयुक्त रुपमा भेटेपछि राष्ट्रपति भण्डारीले पूर्वपरराष्ट्रमन्त्री पाण्डेसँग आधा घण्टा एक्लै भेटेकी थिइन्। 

करिब दुई घण्टा पूर्व परराष्ट्रमन्त्रीहरूसँग राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने असरबारे छलफल गरेको प्रेस विज्ञ टिका ढकालले बताए। 

‘राष्ट्रपतिले समय समयमा प्रबुद्ध व्यक्तित्वहरुसँग समसामयिक विषयमा परामर्श गर्ने गर्नुहुन्छ, आजको छलफल पनि त्यसकै निरन्तरता हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .