नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालीहरुले नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने गरेको गुनासो गरेका छन्।
'समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतवार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै दाहालले यस्तो भनेका हुन्।
उनले १० वर्षे जनयुद्धतिर लक्षित गर्दै अझै पनि त्यसलाई लिएर आफूहरुले गाली खाइरहनु परेको उल्लेख गरेका छन्।
'हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने छन्', उनले भने, 'हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ। यत्रो दुर्घटना र यत्रो हत्या हुँदा त जापानीको मनमा के होला? मनोभावना कस्तो होला? भनेर सोधेँ। तर जापानीहरुमा कुनै विद्वेष छैन। त्यो बेलाको परिस्थिति त्यस्तै थियो। अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो।'
उनले तर नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिसहरु रहेको भन्दै दुखेसो पोखे। उनको यो भनाइ आफूहरुले गरेको जनयुद्ध र त्यसपछि आफूहरुमाथि लगाइने लाञ्छना प्रति थियो।
'जापानीहरुले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसके', उनले भने, 'तर नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख पाइँदैन। हाम्रोमा यस्तो अवस्था छ।'
Shares
प्रतिक्रिया